१ कार्तिक २०८३, आइतबार

यस्तो रह्यो उपनिर्वाचन, मतपरिणाम छिट्टै आउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Election_Commission

काठमाडौँ, ८ असार । संविधानसभासभा सदस्य उपनिर्वाचनका लागि आइतबार भएको मतदानमा ६६ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान निर्वाचन आयोगले गरेको छ ।

काठमाडौं क्षेत्र नं २ मा ६०, चितवन क्षेत्र नं ४ मा ७३, बर्दिया क्षेत्र नं १ मा ७४ र कैलाली क्षेत्र नं ६ मा ६० प्रतिशत मतदान भएको प्रारम्भिक आँकडा आएकोे जानकारी आयोगका आयुक्त इला शर्माले दिनुभयो ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चार वटै निर्वाचन क्षेत्रका ३२४ वटै मतदान केन्द्रमा विद्युतीय मतदान यन्त्रको प्रयोग गरी शान्तिपूर्ण र मतदाताको उत्साहपूर्वक सहभागितामा मतदान सम्पन्न भएको आयोगले जनाएको छ ।

सबै मतदान केन्द्रमा मतपेटिका सम्बन्धित निर्वाचन क्षेत्रको तोकिएको मतगणनास्थलमा प्राप्त भएपछि राजनीतिक दलसँगको सर्वदलीय बैठक गरी मतगणनासुरु हुने आयुक्त शर्माले जानकारी दिनुभयो ।

काठमाडौँ–२ का सबै विद्युतीय मतदान यन्त्र मतगणनास्थल राष्ट्रिय सभागृह ल्याइपु¥याइएको छ । काठमाडौँ मुख्य निर्वाचन अधिकृत अच्युत विष्टले अहिले सर्वदलीय बैठक बसिरहेको र केही समयपछि बेलुका मतदान सुरु भई परिणाम आउने जानकारी दिनुभयो ।

छ जना तेस्रोलिङ्गी मतदाता

उपनिर्वाचनमा कुल मतदाता दुुई लाख ५१ हजार ३०४ थिए जसमा महिला एक लाख २८ हजार ८८७, पुरुष एक लाख २२ हजार ४११ र तेस्रो लिङ्गी छ जना थिए । चार निर्वाचन क्षेत्रमा १३७ मतदानस्थल र ३२४ मतदान केन्द्र थिए । काठमाडौं–२ मा ३९ मतदानस्थल र ९० मतदान केन्द्र, चितवन–४ मा ३१ मतदानस्थल र ८१ मतदान केन्द्र, बर्दिया–१ मा ३७ मतदानस्थल र ७८ मतदान केन्द्र तथा कैलाली–६ मा ३० मतदानस्थल र ७५ मतदान केन्द्र थिए ।

कैलाली–६ को जनजागृति प्रावि कुर्मा गाविसको मतदान केन्द्र र धनगढी नगरपालिका वडा नं ५ को पञ्चोदय उमावि केन्द्र, काठमाडौँ – २ को जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र र चितवन – ४ को राष्ट्रिय मावि गौरीगन्ज केन्द्रमा महिला कर्मचारीले मात्रै मतदान केन्द्र सञ्चालन गरेकोे आयोगले जनाएको छ ।

एक सय एक वर्षीयको मतदान

चितवन– ४ को भरतपुर ७ ख मतदान केन्द्रमा कृष्णपुर बस्ने ९२ वर्षीय जगतलाल महर्जन, गीतानगर २ की ९२ वर्षीया चिन्जुमाया गुरुङ र हिमालय उच्च मावि चम्पानगर मतदान केन्द्रमा गीतानगर २ निवासी १०१ वर्षीय जीवनाथ दवाडीले मतदान गर्नुभएको थियो ।

मतदान सफल बनाउन सहयोग गर्ने सरकार, सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारकर्मी, निर्वाचनमा खटिएका राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मी तथा निर्वाचनसँग सरोकार राख्ने सबैलाई आयोगले धन्यवाद दिएको छ ।