
भक्तपुर, ५ असार । महानगरीय प्रहरी वृत्त जगातीले आज सिन्धुपाल्चोकको सुकुटेबाट कर छली गरेर ल्याइएकोे १७ ट्रक गिट्टी, ग्राइबेल र फर्निचर नियन्त्रणमा लिएको छ ।
कर छलेर अवैध रुपमा ल्याइएको धनेश्वर रोडा उद्योग, गङ्गा इन्द्रावती क्रसर उद्योग, श्रीकृष्ण फर्निचर उद्योग, कादम्बनी चिम्नी इँटा उद्योग, गौरी शङ्कर रोडा ढुङ्गा उद्योग, दाप्चा निर्माण सेवाका मालसहितका ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
कर छली गरेर ट्रक आइरहेको सुराकी पाएपछि जगाती नाकामा जाँचका क्रममा ती सामान र गाडी समातिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक किरण राणाले जानकारी दिनुभयो ।
प्रहरीले नियन्त्रणमा लिएका १७ वटा ट्रक र सामान आन्तरिक राजस्व कार्यालय भक्तपुरलाई बुझाएको छ ।
यसबारे जानकारी दिँदै आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख उत्तम वाग्लेले नियन्त्रणमा लिइएका १७ वटै ट्रकको कागजको अध्ययनबाट कर छली गरेको प्रमाणित भए नियमानुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।
त्यसैगरी, भक्तपुरका विभिन्न इँटा उद्योगले समेत कर छली गरेर बिक्रीका लागि लैजाँदै गरेका पाँचवटा इँटासहितको ट्रकसमेत नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको उहाँले बताउनुभयो । रासस















प्रतिक्रिया