कैलाली, ५ असार । यही असार ८ गते हुने संविधानसभाको उपनिर्वाचनको प्रचारका लागि प्रमुख तीन दलका शीर्ष नेता एक–पछि गर्दै कैलाली आइपुगेका छन् ।
कैलाली क्षेत्र नं ६ मा असार ८ मा हुने उपनिर्वाचनको प्रचारका लागि नेपाली कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरू विभिन्न चुनावी सभालाई सम्बोधन गर्न आएका हुन् । कांग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, पूर्व केन्द्रीय सदस्य सुनिलकुमार भण्डारी, महिला सङ्घकी केन्द्रीय अध्यक्ष डिला सङ्ग्रौला, सभासद् आरजु देउवालगायतले बुधबार कैलालीको उर्मा गाविसको चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो भने बिहीवार उहाँहरु चुनावी प्रचारका लागि फूलबारी पुग्नुभएको छ ।
वरिष्ठ नेता देउवालगायतका केन्द्रीय नेताहरूको टोली फूलबारीलगायत धनगढीमा विभिन्न चुनावी सभामा बिहीवार दिनभरी व्यस्त रहने कांग्रेसका नगर सभापति नृपबहादुर ओडले बताउनुभयो ।
बुधबार नै चुनावी प्रचारका लागि एमाओवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी, महासचिव कृष्णबहादुर महरा, पोलिटब्युरो सदस्य लेखराज भट्टलगायतका नेताहरूले फूलबारी र जुगेडामा चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।
अध्यक्ष दाहाल नेतृत्वको केन्द्रीय टोली आफ्ना उम्मेदवारलाई विजयी गराउन विभिन्न चुनावी सभामा व्यस्त रही आज डडेल्धुरातर्फ प्रस्थान गरेको एमाओवादीका नगर संयोजक रमेश धामीले बताउनुभयो ।
उपनिर्वाचनमा आफ्ना उम्मेदवारको प्रचारका लागि बुधवार नै आइपुग्नुभएका एमालेका महासचिव ईश्वर पोखरेल, केन्द्रीय सदस्य एवम् उद्योग मन्त्री कर्णबहादुर थापा, केन्द्रीय सदस्य एवम् सभासद् गरिमा शाह, पूर्व राज्यमन्त्री मोहनसिंह राठौर, अञ्चल संयोजक भानुभक्त जोशीलगायत व्यस्त रहनुभएको छ ।
महासचिव ईश्वर पोखरेललगायतका नेताहरु आज पनि विभिन्न चुनावी सभामा व्यस्त रहने एमालेका जिल्ला सचिव रणबहादुर चन्दले जानकारी दिनुभयो ।
उपनिर्वाचनमा कांग्रेसका पुष्करनाथ ओझा, एमालेका महेश्वर पाठक र एमाओवादीका सुन्दरराज रेग्मीबीच प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा ठूला तीन दलसहित १५ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।
असार ८ गते हुने उपनिर्वाचको तालिकाअनुसार आज चुनावी प्रचारको अन्तिम दिन भएकाले यहाँ केन्द्रीय नेताहरु आ–आफ्ना उम्मेदवारलाई विजयी गराउन प्रचारप्रसारमा लागिपरेका हुन् । रासस
















प्रतिक्रिया