२९ आश्विन २०८३, बिहिबार

कञ्चनपुरमा मतदाता रिझाउने दलहरूलाई भ्याइनभ्याइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchanpur_district_mapधनगढी, ४ असार । संविधानसभाको उपनिर्वाचन हुन चार दिन बाँकी रहँदा कैलाली निर्वाचन क्षेत्र नं ६ मा विभिन्न राजनीतिक दलका प्रत्यासीले विकासलाई प्रमुख मुद्दा बनाएर मतदातालाई आ–आफ्नो पक्षमा रिझाउने कसरत तीव्र बनाएका छन् ।

क्षेत्र नं ६ मा पर्ने धनगढी नगरलाई नमुनाको सहर बनाउने, नगर क्षेत्रको पश्चिमी र दक्षिणतर्फ हुँदै बग्ने मोहना नदी कटान नियन्त्रण गर्ने, उर्मा गाविस र फूलबारी गाविसलाई प्रमुख पर्यटकीय क्षेत्र बनाउनेलगायतका अश्वासन दिँदै उम्मेदवारहरु मतदातालाई रिझाउने प्रयासमा लागेको मतदाताले बताएका छन् ।

दिनहुँ टोलटोलमा हुने चुनावी भेला र सभामा विभिन्न राजनीतिक दलका नेता र उम्मेदवारले राना थारु, डगौरा चौधरी, मुक्त कमैया र सुकुम्वासीको हक अधिकार सुनिश्चित गर्न विशेष पहल गरिने अश्वासनसमेत बाँड्ने गरेको मतदाता बताउँछन् । खासगरी ठूला दल नेपाली कांगे्रस, नेकपा (एमाले) र एमाओवादीका प्रत्यासीले यी मुद्दा प्रमुखरुपमा उठाउने गरेको स्थानीय मतदाता मुरली भट्टले बताए ।

यता राप्रपा नेपालका प्रत्यासी भने विकासको मुद्दाका साथै हिन्दू राज्य स्थापना गर्ने र रोजगारी उपलब्ध गराउने भन्दै चुनावी प्रचारमा व्यस्त रहेका छन् । थारुहट तराई पार्टी र फोरम लोकतान्त्रिकले थारुहरुको हकहितका साथै पहिचानसहितको राज्यको निर्माण गर्नेलगायतका विषयलाई प्रमुख मुद्दा बनाएका छन् ।

ठूलाठूला अश्वासन बाँड्दै चुनावका प्रत्यासीले मत माग्ने कसरत तीव्र बनाउन थालेपछि कतिपय मतदाताले महत्वाकांक्षी र खोक्रा अश्वासन बाँड्ने गरिएको भन्दै टिप्पणीसमेत गर्न थालेका छन् । ‘चुनाव जित्नकै लागि पूरा गर्न नसकिने खालका आश्वासनसमेत बाँड्ने काम भइरहेको छ’, स्थानीय मतदाता जागुराम चौधरीले भने, ‘आश्वासन बाँड्ने तर जनताका काम कहिल्यै नगर्ने उम्मेदवारबाट अब मतदाता सचेत हुनुपर्छ ।’

चुनावका प्रत्यासीले संविधान निर्माण, अभाव, महँगी, बेरोजगारीजस्ता समस्यालाई भने त्यति नउठाउने गरेको यी मतदाताको भनाइ छ ।

उपनिर्वाचनको मिति नजिकिएसँगै विभिन्न दलका केन्द्रीय नेताहरू आफ्नो उम्मेदवारको पक्षमा माहोल बनाउन कैलाली क्षेत्र नं ६ मा केन्द्रित हुन थालेका छन् । एक दलले चुनावी भेला र घरदैलो कार्यक्रम सकेलगत्तै अर्को दलको चुनावी सभा र घरदैलो गर्ने प्रतिस्पर्धा पनि बढेको छ ।

क्षेत्र नं ६ मा हुने उपनिर्वाचनमा १५ जना प्रत्यासीबीच प्रतिस्पर्धा हुने भए पनि कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने विश्लेषण मतदाताले गर्ने गरेको देखिन्छ ।

धनगढी नगरपालिका, उर्मा र फूलबारी गाविस रहेको यो क्षेत्रमा ६१ हजार ८ सय १७ मतदाता रहेका छन् । मङ्सिरमा भएको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा यो क्षेत्रबाट १६ हजार चार सय ८९ मत ल्याई विजयी भएका थिए । देउवाका निकटतम प्रतिद्वन्द्वीको रुपमा एमालेका महेश्वर पाठकले आठ हजार ५ सय ६३ मत प्राप्त गरेका थिए ।

तेस्रो स्थानमा एमाओवादीकी लीला भण्डारीले चार हजार सात सय ६४ मत, चौथो स्थानमा फोरम लोकतान्त्रिकका लक्ष्मण थारुले चार हजार चार सय ७३ मत र पाँचौँ स्थानमा राप्रपा नेपालका पुष्करदत्त भट्टले दुई हजार चार सय मत ल्याएका थिए ।

एमालेका पाठक र फोरम लोकतान्त्रिकका थारु उपनिर्वाचनमा समेत उम्मेदवार रहेका छन् भने एमाओवादीले सुन्दरराज रेग्मी र राप्रपा नेपालले राजेश भण्डारीलाई प्रत्यासी बनाएको छ ।

मङ्सिरको निर्वाचनमा डडेलधुरा र कैलाली क्षेत्र नं ६ बाट विजयी वरिष्ठ नेता देउवाले क्षेत्र नं ६ छोड्नु भएपछि यो क्षेत्रमा काँग्रेसले युवा नेता पुष्करनाथ ओझालाई उम्मेदवार बनाएको छ ।

यसैगरी राप्रपाले गङ्गाराम राना, नेकपाले हरिमोहन चौधरी, नेपाल परिवार दलले रामप्रसाद चौधरी, राष्ट्रिय जनमोर्चाले सूर्यप्रसाद साउद, नेमकिपाले रमेशकुमार रावल, सद्भाना पार्टीले मुनिन्द्र सिंह, सङ्घीय सद्भावनाले अर्जुनप्रसाद चौधरी, थारुहट तराई पार्टीले भानुराम चौधरी र नेकपा संयुक्तले डम्मरादेवी धानुकलाई प्रत्यासी बनाएको छ ।