२९ आश्विन २०८३, बिहिबार

इलाममा विद्यार्थी नभएका नौ विद्यालय गाभिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ilam Districtइलाम, ४ असार । प्राथमिक तहमा विद्यार्थी नै नभएकाले नौवटा विद्यालयलाई जिल्ला शिक्षा कार्यालय इलामले नजिकैको विद्यालयमा गाभिने (मर्ज गर्ने) प्रक्रिया अघि बढाएको छ ।

युवा प्रावि साङरुम्वा, जितोदय प्रावि गजुरमुखी, चिवे प्रावि माईमझुवा, सिंहदेवी प्रावि फुएँतप्पा, भवानी प्रावि पञ्चकन्या, कृष्ण प्रावि फिक्कल, बिक्री प्रावि सुम्वेक, कृष्णज्योति प्रावि बाँझो र महेन्द्ररत्न प्रावि पशुपतिनगरलाई नजिकका विद्यालयमा एकैपटक गाभिने जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले बताए ।

जिल्ला शिक्षा कार्यालयले ती विद्यालयलाई स्पष्टीकरण सोधेको छ । विद्यालयको जवाफ र स्रोतव्यक्तिहरूको प्रतिवेदनको आधारमा शिक्षा समितिबाट निर्णय गरेर ती विद्यालयलाई गाभिन्छ, जिशिअ पुरीले बताए ।

बिक्री प्रावि र कृष्णज्योति प्राविमा यस शैक्षिकसत्रमा एकजना पनि भर्ना हुन आएनन् । ‘अन्य विद्यालयमा तीन÷चारजनाभन्दा बढी विद्यार्थी भर्ना नहुँदा गाभिुपरेको हो’, जिशिअ पुरी भने । ती विद्यालयमा २२ जना शिक्षक कार्यरत छन् ।

विद्यार्थीहरूलाई नजिकको विद्यालयमा पठनपाठनको व्यवस्था जिशिकाले मिलाउने भएको छ । कार्यरत शिक्षकलाई आवश्यकताअनुसार नजिकका विभिन्न विद्यालयमा खटाइने भएको छ । विद्यार्थी नभई बन्द हुने स्थितिमा पुगेका १० प्राथमिक विद्यालयलाई दुई वर्षअघि नै जिशिकाले गाभिसकेको छ ।

भानुभक्त प्रावि गजुरमुखी, सरस्वती निवास प्रावि गोर्खे, विद्याज्योति प्रावि श्रीअन्तु, करफोक प्रावि पञ्चकन्या, सरस्वती प्रावि सुलुबुङ, दुर्गा प्रावि साङरुम्वा, विजुवा प्रावि साङरुम्वा, नेत्रज्योति प्रावि मङ्गलबारे, सिहंदेवी प्रावि गोर्खे, जनता प्रावि मावु र चन्द्रोदय प्रावि सोयाङ यसअघि नै गाभिसकेका छन् ।

गाभिएका विद्यालयका प्रयोगविहीन भौतिक पूर्वाधार, फर्निचरजस्ता चल सम्पत्ति सामुदायिक अध्ययन केन्द्र, बाल विकास केन्द्र, पुस्तकालयलाई दिइने जिल्ला शिक्षा अधिकारी पुरीले बताए । यस्ता संस्था नभएका गाविसमा भने विद्यालयको सम्पत्ति सोही गाविस कार्यालयलाई हस्तान्तरण गरिने छ ।

विद्यालयको अचल सम्पत्ति गाभिएका विद्यालयलाई नै हस्तान्तरण गरिनेसमेत उनले बताए ।