सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

म पुरानो घर फर्किन चाहन्छु

दैनिक नेपाल २०७१ असार ३ गते १६:५८

RK-Mainali-Radhakrishna

तपाई झापा आन्दोलनको अगुवा मध्येको एक व्यक्ति हुनुहुन्छ । २०४६ सालको आन्दोलनमा पनि तपाईको भूमिका महत्वपूर्ण रहेको थियो । तपाईसँगै आन्दोलमा सक्रिय रहेका र अहिले जीवित सवैजसो सहयात्रीे नेकपा एमालेको राजनीतिमा सक्रिय छन् । तपाई चाँही किन गुमनाम ?

झापा आन्दोलनको अगुवा मध्येको एक म पनि हो । २०४६ सालको जनआन्दोलनताका म वाममोर्चाको कार्यबाहक अध्यक्ष थिएँ । मसहित अध्यक्ष साहना प्रधान र नेपाली काङ्ग्रेसका तर्फबाट गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईलाई त्यति वेला तत्कालिन राजसँग वार्ता गर्ने वार्ताकारको जिम्मा दिइएको थियो । त्यसरी हेर्दा मेरो झापा आन्दोलन र २०४६ सालको आन्दोलनमा सक्रिय भुमिका थियो भन्न सकिन्छ । त्यसपछि पनि म राजनीतिमा सक्रिय पूर्वक रहेँ । त्यतिवेला मैले पार्टीले दिएका जिम्मेवारी इमान्दारपूर्वक पूरा गर्दै गएँ । बीचमा पार्टी फुट र विभाजनको शिकार हुँदै गयो । त्यतिवेला एमाले भित्र पनि केही उतारचढावहरू भए ।

जब म नेकपा एमालेको सातौँ महाधिवेशनमा सहभागी भएँ । त्यो बेला मैले अत्याधिक मत ल्याएर नेकपा एमालेको केन्द्रीय सदस्य निर्वाचित भएँ । हामी सातौँ महाधिवेशनबाट नयाँ ‘म्यान्डेट’ लिएर आएका थियौँ । सातौँ महाधिवशेनबाट हामी सबैले कमरेड माधवकुमार नेपाललाई नै महासचिव चुनेका थियौँ । तर, महाधिवेशन सकिएको डेढ महिना पनि वित्न नपाउँदै उहाँले मलाई ‘वाइपास’ गर्नुभयो । महाधिवेशन अघि हामी १४ जना स्थायी समितिमा थियौँ । ती मध्ये १३ जनालाई उहाँले सातौँ महाधिवेशनपछि पनि स्थायी समितिमा पार्नुभयो । तर, त्यसमा मलाई पूर्वाग्रह राखियो ।

तपाईलाई स्थायी समितिमा नपार्नुका केही कारण त थिए होलान नि ?

मलाई केही कारण समेत नखुलाई उहाँले स्थायी समितिमा पार्नु भएन् । मलाई त्यस्तो अपमान नै गर्नु थियो भने बरु उहाँहरूले महाधिवेशनमै हराएको भए हुन्थ्यो । त्यो पनि गर्नुभएन । त्यसो गरेको भए मलाई केन्द्रीय सदस्य बनाउँन प्रतिनिधिहरूले नै पत्याएनन् भनेर म चित्त वुझाउँन सक्थेँे । त्यो मौका पनि मैले पाइँन । मैले त्यति वेला मुलुकमा राजनीतिक स्थायीत्व र शान्तिका लागि एमालेले राजालाई निरङ्कुशताबाट तान्ने र माओवादीलाई उग्रवामपन्थबाट फर्काउने गरी पुलको काम गर्नुपर्छ भनेका थिए । यस विषयमा एमाले सरकारमा जानु हुँदैन भनेर केही लेख प्रकाशन गरेको थिएँ । त्यतिवेला पार्टीको नीति अझ स्पष्ट शब्दमा भन्ने हो भने माधवजीको भित्री इच्छा चाहिँ सरकारमा जाने थियो । मलाई त्यही लेखलाई आधार मानेर राजावादीको आरोप लगाइयो र त्यही बाहनामा साधारण सदस्य पनि नरहने गरी निलम्वन गरियो ।

त्यतिबेला मलाई राजवादीको आरोप लगाएर कारवाही गर्ने पार्टी केही समय बित्न नपाउँदै प्रतिगमन आधा सच्चियो भनेर सरकारमा गयो । त्यो पनि माधव नेपालकै जोडबलमा । अहिले धेरै एमाले कार्यकर्तालाई राधाकृष्ण मैनाली राजवादी भएकाले पार्टीले कारवाही गर्‍यो भन्ने भ्रम छ । मलाई पार्टीले कारवाही गर्ने र म राजवादी हुने भन्ने कुराको कुनै पनि साइनो छैन ।

तर, झापा आन्दोलन र ०४६ सालको जनआन्दोलको अगुवा व्यक्ति त्यस्तो इतिहासलाई नै लत्याएर तपाई राजावादी भएको त सत्य हो नि ?

हेर्नुहोस, मलाई पार्टीले साच्चै भन्ने हो भने त्यो समयमा बाच्नै नसक्ने गरी गोली हान्यो, फाँसी दियो अर्थात पार्टीले मलाई यस्तो डरलागदो कारवाही गर्‍यो कि मैले आत्माआलोचना गर्नेसम्मको मौका पाँइन । म आन्दोलनको पृष्ठभूमिबाट आएको व्यक्ति भएकाले कुनै पनि नेताको घरमा त्यतिवेला मेरो सदस्यता बचाई पाउँ भन्दै गईन । मैले पार्टीमा गरेको योगदानलाई सम्झेर त्यतिवेला मेरो मन रुवाउँनु बाहेक अरु मसँग विकल्प नै रहेन ।

ए भनेपछि एमालेले कारवाही गरेपछि रोएको मन बुझाउन तपाई राजवादी बन्नु भयो होइन त ?

राजनीतिमा वदलाको भाव हुँदैन । मैले माथि पनि उल्लेख गरेँ । त्यतिवेला म पार्टीबाट कारवाही भोगेपछि राजनीतिमा निष्कृय थिएँ । मेरो इमान्दार आत्माले राष्ट्रको समस्या समाधान गर्न राजाको मन्त्रिमण्डलमा जाँदा हुन्छ भन्यो । तर, पछि मेरो इमान्दार आत्मामा चोट लगाएर फर्किनु पर्ने बाध्यता भयो । म त्यति वेला राजालाई अझ निरङ्कुश बनाउँन त्यहाँ गएको थिइन । म कम्युनिष्ट आन्दोलनलाई कुल्चिन पनि त्यहाँ गएको थिइन । त्यो वेला माओवादीले जनयुद्धको नाममा निरीह जनता मारेको मारेकै थियो । उनीहरूले सेना र पुलिससँग मात्र युद्ध लडेका थिएन । उनीहरूले हतियार नवोकेका निर्दोष नेपालीको पनि अपहरण गर्ने र मार्ने काम गरेका थिए । उनीहरूको त्यस्तो ज्यादतीले मुलुक अस्तव्यस्त बनेको थियो ।

मुलुक त्यस्तो अस्तव्यस्त बनेको बेला तल्कालीन राजा ज्ञानेन्द्रले मसँग माओवादीको त्यस्तो ज्यादती रोक्न राजनीतिक समाधान चाहिन्छ । यसलाई राजनीतिक रुपले नै समाधान गर्नुपर्छ । यसका लागि राजनीतिक मानिस नै चाहिन्छ भने । मैले उनका कुरा पत्याएँ । त्यो वेला म कुनै पार्टीको कार्यकर्ता थिइँन । त्यसकारण मैले पार्टीमा छलफल गर्ने र सहमति खोज्ने कुरा पनि भएन । यदी पार्टीमा थिएँ भने त्यो विषयमा छलफल हुने थियो र मलाई जान अनुमति दिने वा नजान सल्लाह दिने काम हुन्थ्यो । त्यो अवसर पनि मैले त्यतिवेला पाइँन । मैले सोँचे । अहिले देश हिंसाले जर्जर भएको छ । मेरो सहयोगमा हिंसा अन्त्य हुन्छ भने राम्रो कुरा हो, भन्ने लाग्यो । म त्यहाँ राजालाई सक्रिय बनाउँने हिसावले पनि गएको थिइँन । तर, राजाले त्यसो गर्न खोजेका होइन रहेछन् । त्यो कुरा मैले त्यहाँ गएपछि मात्र थाहा पाएँ । हामी राजतन्त्रलाई सामन्तवादको प्रतिकका रुपमा बुझ्दै हिँडेका मानिस । त्यति मात्र होइन राजतन्त्र निरङ्कुश हुन्छ भन्ने बुझेका मानिस । राजाले त्यतिवेला म द्वन्द्व समाधान गर्छु भन्दा मैले राजालाई अराजनीतिक रुपमा बुझेँछु जस्तो लाग्यो र मैले पछि आँफैले आत्माआलोचन गरेँ । अहिले पनि म आम राजनीतिक कार्यकर्तासँग क्षमा माग्न चाहन्छु । म गलत मनसाय लिएर राजाको मन्त्रिमण्डलमा गएको थिइँन । म राम्रो मनसाय लिएर गएँको थिएँ त्यो पुरा भएन । राजाले राजाको चरित्र देखाए । त्यहाँ मैले मेरो चरित्र देखाउँन नसकेकाले म गलत भएँ । त्यसैले मैले वारम्वार भन्दै पनि आएको छु । मैले राजाको तत्कालिन कदमलाई समर्थन गरेर गल्ती गरेँ ।

अहिले फेरि एमालेमा फर्किन पाए हुन्थ्यो, काम गर्न पाए हुन्थ्यो जस्तो लाग्दैन ?

अहिले पनि म कसैलाई मेरो रोजगारी नै सकियो म एमालेमा काम गर्न चाहन्छु भनेर कुनै पनि नेताको घरमा चाकडी गर्न जाने पक्षमा छैन । तर अहिले म राजनीतिमा सक्रिय छैन । कुनै संगठनमा पनि छैन । त्यो बुझेर आग्रह गरेका अवस्थामा म पुरानो घर फर्किन चाहन्छु ।

तपाई बीचमा एमाओवादीमा पनि प्रवेश गर्नुभयो । त्यसले अझ तपाई विचलनबादी जस्तो देखिनु भयो भन्ने आरोप छ नि ?

म २०६७ सालमा एमाओवादीमा प्रवेश गरेको हो । म एमाओवादीमा प्रवेश गर्दा पनि एमालेले कारवाही गरेको वदला लिन गएको थिइन । म एमाओवादीमा पनि सकारात्मक सोँचका साथ नै प्रवेश गरेको थिएँ । म एमाओवादीमा वामपन्थी आन्दोलनमा सक्रिय हुनकै लागि गएको थिएँ । मलाई अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराई र मोहन वैद्य किरण तीनै जना नेताले ठूलो आश्वासन दिनुभयो । मेरो राजनीतिक पृष्ठभूमी, मेरो राजनीतिक, आर्थिक, सामाजिक सोँच सबैलाई एमाओवादीका नेताहरूले बुझेर नै एमाओवादीमा प्रवेश गराउँन चाहेका थिए भन्ने मैले पनि ठाँने । म कम्युनिष्ट चेत भएको मानिस । केही नराम्रा पक्षहरू एमाओवादीमा भएँ पनि उक्त दल कम्युनिष्ट थियो । फेरि शान्ति प्रक्रियामा आएपछि उ सच्चिएको पनि थियो । म आफैँले निर्माण गरेको पार्टीमा अपहेलित भएको बेला उहाँहरूले राम्रो भावनाले स्वागत गर्नुहुन्छ भने जाउँ न त जस्तो लाग्यो र म एमाओवादीमा गएँ ।

म हिंसा मच्याउँदै हिडेको माओवादी होइन, शान्ति प्रक्रियामा आएको माओवादी भएकाले एमाओवादीमा गएको थिएँ । तर, म त्यहाँ जाँदा मनमा जे आशंका लिएर गएको थिएँ, त्यो आशंका पुष्टि भयो । मलाई जुन जिम्मेवारी दिने समहमति सहित त्यहाँ लगिएको थियो । त्यो पुरा नगर्ने मात्र होइन, त्यहाँभित्रको गुट–फुट र विभाजनले तीव्र रुप लियो । त्यहाँ तीन नेताको विवादले म झन निराश भएँ । मैले एमाओवादीमा प्रवेश गरेपछि मात्र थाहा पाएँ एमाओवादी अध्यक्ष प्रचण्ड अस्थिर चरित्रका व्यक्ति हुनुहँुदोरहेछ । प्रचण्डले करिब एक वर्षपछि मलाई सल्लाहकारमा राखे । मैले त्यो अस्वीकार गरेँ । त्यसपछि म झन निराश भएँ । नेपालको कम्युनिष्ट आन्दोलनमा सल्लाहकार बनाउँने कुरा मानिसलाई बेवकुफ बनाउने कुरा हो भनेर मैले प्रचण्डलाई भने । त्यसपछि मलाई माओवादीबाट बोलाउँने काम पनि भएन म पनि कहिल्यै गइन पनि । म त्यहाँ रहेका बेला पनि कुनै जिम्मेवारीमा वस्ने र एमाओवादीको नीति, विचारमा विरोध वा समर्थन गरिन । त्यसैले मैले एमाओवादीमा गएकोमा आत्माआलोचना गर्नुपर्छ भन्ने नै ठानिन् ।

अहिले बीचमा चाँही तपाईलाई एमालेमा आउँनु पर्छ भनेर कुनै नेताले भनेका छैनन् ?

अध्यक्ष झलनाथ खनालकै निवासमा पार्टीका शीर्ष नेताहरू अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रभावशाली नेता केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, महासचिव इश्वर पोख्रेल, सचिव विष्णु पौडेल, युवराज ज्ञवाली, नेता अमृत वोहोरालगायतले दुई–तीन दिनसम्म छलफल गरेर मलाई एमालेमा आउन आग्रह गर्नुभयो । एक हिसावले भन्ने हो भने उहाँहरूले मलाई घर फर्किन आग्रह गर्नुभयो । मैले त्यो कुरा स्वीकार गरेँ । मैले त्यो वेलामा पनि मलाई कारवाही गरेर निकालेको हो । त्यसैले मलाई कारवाही फिर्ता गर्नुहोस म फर्किन्छु भनेको थिएँ । तर, अहिलेसम्म पनि उहाँहरूले मलाई एमालेमा लैजाने कुराको निर्णय गर्नु भएको छैन । मलाई एमालेमा फर्काएर जिम्मेवारी दिने काम पनि भएको छैन । त्यसैले म आफैँ आएँ है, मेरो एमाले विना प्राण नै जाने भयो भन्दै जाने कुरा पनि भएन् । भेट हुँदा सबै नेताहरूले हुन्छ पनि भन्न छाड्नु भएको छैन । मलाई एमालेमा लग्नु पनि भएको छैन ।

अहिले एमालेको नवौँ महाधिवशेन पनि आउँन लागेको छ । यो अवस्थामा उहाँहरूले निर्णय गरेर मलाई एमालेमा आउँ भन्नुहुन्छ भने मैले आउँदिन भनेको छैन । म भन्दा गम्भीर आवाज उठाउँनेहरू पनि अहिले एमाले मै रहेका छन् । उहाँहरू गुटका बलवान भएकाले त्यहाँ रहनु भयो । म रहन सकिन । मैले गुटले बामपन्थी आन्दोलन अघि बढ्दैन भन्ने मान्यता राखेकै कारण पार्टीबाट यस्तो पीडा खेप्नु पर्‍यो । म अहिले पनि भन्छु गुटले पार्टीलाई जहिल्यै कमजोर बनाउँछ । यदि एमालेमा गुटको अन्त्य हुने हो भने एमाले वामपन्थी आन्दोलनको अगुवा पार्टी मात्रै होइन, दक्षिण एसियाकै उदाहरणीय बन्नेमा कुनै दुइमत छैन । अहिले एमाले नवौँ महाधिवेशनको संघारमा आएको छ । यो महाधिवेशनमा एमालेको सहमतिका साथ नेतृत्व छनोट गर्न सक्यो भने आगामी २० वर्षसम्मको राजनीतिमा लीड गर्नेमा कुनै दुइमत छैन । जे गरे पनि मैले घोडा चड्न पाउँनु पर्छ भन्ने हो भने यसले पार्टीको हित गर्दैन । त्यो माथिका नेताले पनि बुझ्न जरुरी छ । एक नेताले अर्को नेतलाई मर्माहत हुने गरी घोचपेच गरेर हिँड्ने हो भने पार्टीको हित हुँदैन ।

अहिले वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीलाई गुण–दोषका आधारमा तपाईले समग्रमा कसरी लिनु भएको छ ?

केपी शर्मा ओलीको राम्रो पक्ष भनेको मन परेपनि नपरेपनि राजनीतिक विश्लेषणमा उहाँ प्रष्ट हुनुहुन्छ । उहासँग राजनीतिलाई सटिकरुपमा विश्लेषण गर्ने क्षमता छ । समय, काल र परिस्थितिको राम्ररी विश्लेषण गर्न सक्ने क्षमता पनि उहाँसँग छ । उहाँ प्रष्ट राजनीतिक सोँच भएको व्यक्ति हो । अर्को कुरा उहाँसँग रोगलाई जित्न सक्ने अचम्मको क्षमता छ । हामीसँग जेलमा रहेका बेला उहाँ टीबी र अल्सरले पीडित हुनुहुन्थ्यो । तर, कहिल्यै पनि उहाँले मृत्युसँग सम्झौता गर्नुभएन । मृत्युलाई जितेर आउनु भएको व्यक्ति पनि हो उहाँ । उहाँको कमजोर पक्ष भनेको शुरुदेखि नै साङ्गठनिक रुपमा अल्छी मानिस हो । राजनीतिक भाषामा भन्ने हो भने उहाँ संगठन निर्माणमा निक्रिय व्यक्ति हो । कार्यकर्ताको संरक्षण गर्ने कुरामा भने ओली निक्कै अगाडि हुनुहुन्छ ।

माधवकुमार नेपाल साङ्गठनिक रुपमा सक्रिय व्यक्ति हो । उहाँको सङ्गठन निर्माणमा विशेष खालको क्षमता छ । तर, उहाँसँग राजनीतिक चेतनाको भने कमी छ । पहिला हामी राजनीतिमा सक्रिय रहेका बेला उहाँ कर्मचारी हुनुहुन्थ्यो । ०४३ पछि मात्र मैले उहाँलाई बुझ्ने मौका पाएँ । त्यति वेला उहाँ सङ्गठनमा विभिन्न नामले सक्रिय हुनुहुन्थ्यो । त्यति वेला पनि उहाँ एकै दिनमा १५ देखि २० ओटासम्म ‘मिटिङ’ भ्याउनु हुन्थ्यो । लामा–लामा दर्शनशास्त्रका कुरा भन्दा पनि प्राविधिक रुपमा काम अघि बढाउँने क्षमता उहाँसँग छ । उहाँको काम गर्ने क्षमता विजुलीवेग जस्तो छ । २०४७ सालको संविधान निर्माणमा पनि उहाँको भुमिका विशेष खालको थियो ।

प्रतिक्रिया
सम्बन्धित