काठमाडौं, ३ असार । एसएसपी रमेश खरेल काठमाडौं परिसरबाट हटेपछि राजधानीमा डनहरूको चहलपहल बढेको छ । दरबारमार्ग र ठमेल क्षेत्रमा रातभीर रेष्टुरेन्ट खुलेर गुण्डागर्दीका नाइकेहरू बिश्वकप फुटबलमा रमाइरहेका छन् ।
खरेलले राजधानीमा नाम चलेका डनदेखि टोले गुण्डासम्मलाई खोरमा हालेका थिए । यद्यपि उनले सर्वाधिक खोजी गरेका दुई डनलाई भने पक्राउ गर्न सकेनन् । उजुरी नपरे पनि गणेश लामादेखि दीपक मनाङेसम्मलाई उनले २४ दिन थुनेर सार्वजनिक मुद्दा चलाएका थिए । तर, ज्यान मुद्दामा फरार रहेका रमेश बाहुन भनिने सुजन पौडेल र चरी भनिने दिनेश अधिकारीले खरेललाई सजिलै झुक्याउन सफल भएका छन् ।
उनीहरूलाई पक्राउ गर्न खरेलले निकै दु:ख भने गरेका रहेछन् । स्रोतका अनुसार बाहुन भारतको लखनउमा रहेको सूचना पाएपछि उनले वैशाखको पहिलो साता आफ्नो एक टोलीलाई त्यहाँ पठाएका थिए । भारतीय प्रहरीसँगको समन्वयमा बाहुन बसेको घर समेत पत्ता लागेको थियो । जब त्यो घरको बारेमा भारतीय प्रहरीले सुने उनीहरू हच्किए । किनकि लखनउका एक बिधायकको घरमा बाहुन लुकेर बसेका थिए । त्यसपछि खरेलको टोली रित्तो हात फर्किएको थियो । ललितपुरका कांग्रेसी कार्यकर्ता मिनकृष्ण महर्जनलाई गोली हानेको घटनामा बाहुन फरार छन् । त्यस्तै विभिन्न व्यापारीहरूलाई धम्काएर असुली गरेको दर्जनौ उजुरी उनीविरुद्ध छन् । नेपाली सेनाका भगौडा उनी करिब पाँच वर्षअघि जेलबाट छुटेलगत्तै असुलीधन्दामा लागेका थिए । विगत तीन वर्षदेखि प्रहरी उनको पछाडी लागेपनि पक्राउ गर्न सकेको छैन । भूमिगत बसेरै उनले असुली धन्दा चलाउदै आएका छन् ।
त्यस्तै धादिङका राधे भण्डारीलाई खुकुरी हानेपछि भारत भागेका चरी पनि खरेल काठमाडौं आएपछि उतै लुकेका छन् । खरेल बिदामा बसेपछि उनीहरूको खोजीनीति प्रहरीले गरेका छैनन् ।
















प्रतिक्रिया