काठमाडौ, ३ असार । नवौं महाधिवेशन नजिकिँदै जाँदा एमाले तीव्र धुव्रीकरण देखिन थालेको छ ।
राजधानीमा मंगलबार गरिएको कार्यक्रममा एमाले नेताहरु यसरी नै विभाजित भए । केहीले अध्यक्ष खनाललाई नै सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने नत्र माधव नेपालको नाम लिए भने केहीले केपी ओली नै अध्यक्ष हुनुपर्ने दाबी गरे ।
नेकपा एमालेका नेता रघुजी पन्तले केपी ओलीको अस्वस्थताले उहाँलाई अध्यक्ष बन्न नदिने भन्दै पूर्ण स्वस्थ भएपछि प्रधानमन्त्री वा राष्ट्रपति बनाउनु पर्ने प्रस्ताव अघि सार्नुभएको छ ।
नेकपा एमालेको आसन्न नवौ महाधिवेशनलाई लक्षित गर्दै रिपोर्टर्स क्लब नेपालले एमालेका तीनै जना शिर्ष नेता समर्थित नेताहरुलाई एकै ठाँउमा राखेर मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले केपी ओलीले अहिलेसम्म स्वास्थ्यकै कारण संसदीय दलको बैठकको अध्यक्षता समेत गर्न नसकेको उल्लेख गर्दै उहाँले पार्टीको नेतृत्व गर्न नसक्ने भएकोले माधवकुमार नेपाल सर्वसम्मत रुपमा अध्यक्ष बन्ने दावी गर्नुभयो ।
साक्षात्कारमा पन्तले भन्नुभयो–केपी ओलीले संसदीय दलको अध्यक्षता गर्न सक्नु भएको छैन । केन्द्रीय समितिको बैठकमा उस्थित हुन सक्नु हुन्छ । कुनै कार्यक्रममा लानु परे पनि पुरै स्टेजभरी औषधी छरेर मात्र लानु पर्छ । मुलुक जटिल अवस्थामा रहेको यो बेलामा उहाँले कसरी पार्टीको नेतृत्व गर्न सक्नु हुन्छ रु
पार्टीको छैठौ महाधिवेशनदेखिनै नेपालले पार्टीको विचारलाई समृद्ध बनाउने कामको नेतृत्व गर्दै आएको र उहाँकै पालामा जनताको बहुदलीय जनवाद मुल सिद्धान्तको रुपमा कार्यान्वयनमा भएको दावी समेत उहाँले गर्नुभयो ।
यसअघि साक्षात्कारमा केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको उल्लेख गर्दै उहाँले अहिले पनि स्वस्थ भए सुशिल कोइराला पछि प्रधानमन्त्री नभए रामबरण यादव पछिको राष्ट्रपति बनाउन सकिने बताउनुभयो ।
नेता पशुपति चौलागाईले पार्टीभित्र विचारमा एक मत भएको तर नेतृत्वमा मात्र विवाद बाँकी रहेको भन्दै जनताको बहुदलीय जनवादको कार्यदिशा र पुर्नपुष्टि गर्ने काम माधवकुमार नेपालले गरेकोले उहाँकै नेतृत्वमा अझै शसक्त बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले सर्वसम्मत भए अध्यक्षमा झलनाथ खनाल आफैले पुन नेतृत्व गर्ने भन्दै सहमति हुन नसके माधवकुमार नेपाललाई समर्थन गर्ने स्पष्ट पार्नुभयो । उहाँले कम्यूनिष्टहरुलाई नेतृत्व गर्न सक्ने, उग्रवामपन्थ, दक्षिणपन्थसँग लड्न सक्ने विचार बोकेको र शान्तिको लागि त्याग गरेको नेता नेपाल भएकोले पार्टीलाई अझै उच्च बनाउन नेपालको नेतृत्व आवश्यक रहेको तर्क गर्नुभयो ।
नेता अरुण नेपालले जसले उम्मेदवारी घोषणा गरे पनि अन्तमा झलनाथ खनाल नै सर्वसम्मत अध्यक्ष बन्ने दावी गर्दै भन्नुभयो–ओली र नेपालमा सहमति भएन भने खनाल फेरि अध्यक्ष बन्नु हुन्छ ।
खनाल नभए नयाँ विचारसहित पार्टीलाई सन्तुलित रुपमा हाक्न सक्ने नेता माधवकुमार नेपाल भएको भन्दै उहाँले अप्ठ्यारो परिस्थितिसँग ओलीले भन्दा नेपाल नै जुध्न सक्ने ठोकुवा गर्नुभयो ।
उद्योगमन्त्री एवं एमाले केन्द्रीय सदस्य कर्णबहादुर थापाले नेपालमा बामपन्थी आन्दोलनलाई नजिकबाट नियालेको, जवज प्रणालीको विकासमा भूमिका खेलेको नेता भएकोले ओलीको नेतृत्वको विकल्प नभएको भन्दै ओली जीवित आन्दोनकारी, विचारमा अविचलित, अडान भएको नेता भएको बताउनुभयो ।
उहाँले आठौ महाधिवेशनपछि पनि आन्तरिक पार्टी परिचालन ओलीले नै गरिरहेको दावी गर्दै भन्नुभयो –’सबै रोगी हुन्छन । विपक्षीहरु विरामी परिघटनालाई उचालेर मान्छेलाई भ्रममा पार्दैछन । ओली अहिले पनि हामि भन्दा बढी सक्रिय हुनु हुन्छ । दृष्टि खराव भएकाहरुले ओलीलाई विरामी देख्दैछन ।’
थापाले जिल्ला देखि केन्द्रीय समितिसम्म ओलीको पक्षमा ८० प्रतिसत रहेको स्थायी समितिमा पनि बहुमत रहेकोले आगामि महाधिवेशनमा ओलीले अध्यक्ष जित्ने दावी गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य रघुवीर महासेठले केपी ओली विचारमा स्वस्थ भएका विचारका नेता भएको भन्दै माधवकुमार नेपाल कहिल्यै पनि विचारक नभई विचारकका सहयोगीमात्र भएकोले पार्टीको नेतृत्व गर्न नसक्ने दावी गर्नुभयो ।
उहाँले झापा आन्दोलनदेखिनै ओलीको विचारमा अहिलेसम्म पार्टी चलेको उल्लेख गर्दै जवज निर्माणमै मदन भण्डारीलाई सहयोग गर्ने नेता भएकोले पार्टीको नेतृत्व गर्न उहाँनै सक्षम रहेको तर्क गर्नुभयो ।
माधवकुमार नेपाल संकुचित, रुढीवादी स्वभावको भएको पार्टीलाई एकताबद्ध भएर लैजान पनि ओलीले नेतृत्व गर्नुपर्ने तर्क गर्दै मुलुक अर्ध सामन्ती अवस्थामा रहेको, क्रान्ति पुरा नभएकोले उग्रबामपन्थ र दक्षिणपन्थीसँग लडन पनि अडान भएको ओलीको नेतृत्व आवश्यक रहेको उहाँको दावी थियो
















प्रतिक्रिया