डोल्पा, ३ असार । यतिखेर डोल्पामा चलिरहेको यार्सा मौसमका लागि घर, गाउँ नै शून्य पारेर सबै मानिस यार्सा सङ्कलनका लागि हिमाली क्षेत्र पाटनतिर लागेका छन् ।
यो एक महिनाको यार्सा मौसममा कमार्ई गरेपछि वर्षभरि आरामले आधारभूत आवश्यकता परिपूर्ति गर्न सजिलो हुने भएकाले यसरी मानिसहरु पाटनतिर लाग्ने गरेका हुन् । यस अवधिमा पाटनमा अत्यधिक चिसो हुने भएकाले चिसो छल्न नसक्ने पाको उमेरका बूढाबूढीहरुमात्र घरु कुरुवाका रुपमा बस्ने गर्दछन् । यस अवधिमा गाउँघरमा युवा कोही पनि नभएकाले चोरीका घटना भने बढ्दै गएका छन् ।
आर्थिक अवस्था कमजोर भएकाले उच्च जोखिम मोल्दै पाटनतिर जानु यिनीहरुको रहर नभई बाध्यता हो । उनीहरुको आम्दानीको मुख्य स्रोत नै यार्सागुम्बा सङ्कलन भएकाले मृत्युलाई मुठ्ठीमा राखेर दूधेबालक, महिला, बिरामी नभनी उनीहरु पाटनको यात्रा तय गर्ने गर्दछन् ।
यसरी मानिसहरु पाटनतिर लागेपछि पछिल्लो समयमा गाउँघरमा कुनै मानिसको मृत्यु हुँदा मलामीसमेत नपाइने गरेको स्थानीयवासी बताउँछन् ।
















प्रतिक्रिया