काठमाडौं, २ असार । सरकारले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको अध्यक्षतामा ‘बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण र मेलमिलाप आयोग’ गठनका लागि सिफारिश समिति गठन गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले सिफारिश समितिको सदस्यहरुमा सपना मल्ल प्रधान, प्रा.डा. घनश्याम लालदास र प्रदीप पोखरेललाई नियुक्त गरेकोे सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले जानकारी दिए ।
प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि आज संयुक्त राज्य अमेरिका जाने भएकाले सरकारको कामकारबाहीमा कुनै अवरोध आउन नदिनका लागि उपप्रधानमन्त्री वामदेव गौतमलाई कार्यबाहक दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
सरकारले शान्ति तथा पुनर्निर्माण मन्त्रालय स्थापनापछि भएका सहमति र सम्झौता कार्यान्वयनका लागि सिफारिश गर्न पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश केशव मैनालीको अध्यक्षतामा डा.राजकुमार राई, रीता मैनाली र दीपेन्द्र झा सदस्य रहेको आयोग गठन गर्ने निर्णय गरेको छ ।
सरकारले प्रधानमन्त्रीको विकास तथा सामाजिक सल्लाहकारमा अवैतनिक रुपमा काम गर्ने गरी डा. विजन पन्तलाई नियुक्त गरेको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको गठन आदेश स्वीकृत गरी त्यसको अध्यक्षमा पूर्वसचिव रामेश्वर खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा जीतबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सुकुम्बासी समस्या समाधान आयोगको गठन आदेश स्वीकृत गरी यसको अध्यक्षमा शारदाप्रसाद सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको रिजालले बताए ।
सरकारले विश्वविद्यालय अनुदान आयोगमा प्रा.डा. परासर कोइराला र राष्ट्रिय दलित आयोगमा मानबहादुर नेपालीलाई नियुक्त गरेको छ ।
सरकारले सहसचिवहरु शङ्कर कोइरालालाई मध्यमाञ्चल, अर्जुन कार्कीलाई पश्चिमाञ्चल र महाश्रम शर्मालाई पूर्वाञ्चल विकास क्षेत्रमा कायममुकायम क्षेत्रीय प्रशासकको जिम्मेवारी तोकिदिएको छ ।
त्यसैगरी, सरकारले तनहुँ जलविद्युत् आयोजनाका लागि युरोपियन इन्भेस्टमेन्ट बैंकबाट १५ मिलियन डलर थप ऋण लिन स्वीकृत दिने निर्णयसमेत गरेको मन्त्री रिजालले जानकारी दिए ।















प्रतिक्रिया