२९ आश्विन २०८३, बिहिबार

नवजात शिशु मृत्युदर उच्च

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Babyनेपालगन्ज, २ असार । नेपालमा प्रतिहजार नवजात शिशुमा ३३ जनाको मृत्यु हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

नवजात शिशुको मृत्युदरलाई नेपाल सरकारले सन् २०१५ सम्म प्रतिहजार १६ मा झार्ने लक्ष्यअनुरुप नवजात शिशु स्याहार तथा सुरक्षित मातृत्व स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन विकट ग्रामीण बस्तीमा ‘बर्थ सेन्टर’ स्थापना कार्य सुरु गरिसकेको छ ।

सुत्केरी हुने वातावरण अत्यन्त दूषित हुँदा ४२ प्रतिशत सङ्क्रमणबाट र जन्मँदा कम तौलका कारण २९ प्रतिशत नवजात शिशुको मृत्यु हुने गरेको छ ।

त्यसैगरी कमजोर स्वास्थ्य अवस्था भएका आमाको गर्भमा भएका शिशुको निसास्सिएरसमेत मृत्यु हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

बाँके जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यस जिल्लामा गत एक वर्षको अवधिमा २८ दिन उमेरभित्रका २२७ नवजात शिशुको मृत्युले पनि नवजात शिशु स्याहार र सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यक देखिएको छ ।

जिल्लामा प्रत्येक एक लाख गर्भवती महिलामध्ये २३ जनाको मृत्यु हुने गरेको छ भने नेपालमा यो सङ्ख्या २०० को हाराहारीमा रहेको कार्यालयले जनाएको छ ।

सरकारले सञ्चालनमा ल्याएको नवजात शिशु स्याहार तथा सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाको विकट राप्तीपारि बघौडा क्षेत्रको नौ गाविसमा १३ शिशु बर्थ सेन्टर (जन्म केन्द्र) स्थापना गरेको छ ।

केन्द्रमा अत्यावश्यक उपकरणसहित जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मी पनि पठाइसकेको छ भने गाविस र स्थानीय समुदायको सहयोगमा थप सेवा, सुविधा थप गर्ने प्रयास भइरहेको जनाएको छ ।

नेपालमा नवजात शिशुको कहालिलाग्दो मृत्युदरलाई लक्ष्यअनुरुप घटाउन सरकारले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेन र अन्य गैरसरकारी संस्थासँगको सहकार्यमा नवजात शिशु स्याहार र सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत ‘एभ्रिवन’ अभियान पनि देशभरि सञ्चालनमा ल्याएको छ ।