२९ आश्विन २०८३, बिहिबार

इलामका चौध विद्यालयको एसएलसी नतिजा शून्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Slc-Panika

इलाम, १ असार । यो वर्षको प्रवेशिका परीक्षामा इलामका १४ वटा सामुदायिक विद्यालयको नतिजा शून्य भएको छ ।

जिल्ला शिक्षा कार्यालयका अनुसार जनता उच्चमावि चिसापानी, सिंहदेवी उच्चमावि आमचोक, विष्णु उच्चमावि फुएतप्पा, राष्ट्रप्रेमी उच्चमावि साकफारा, सिंहदेवी मावि गोर्खे, फलाँटे मावि चमैता र भगवती मावि गोतामेटार महमाईको नतिजा शून्य भएको हो ।

यस्तै, विद्यासृजनात्मक मावि बाँझो, कृष्ण मावि लक्ष्मीपुर, मेची मावि श्रीअन्तु, बाँझो गाउँ उच्चमावि शिखरकटेरी चुलाचुली, जीवनज्योति मावि इभाङ, जानकी मावि एकतप्पा र शारदा मावि वेतेनी पुवामझुवाको नतिजा पनि शून्य आएको छ ।
सिंहदेवी मावि, विष्णु उमावि, विद्या सृजनात्मक मावि, कृष्ण मावि र जीवनज्योति माविले गत वर्ष पनि शून्य नतिजा ल्याएका थिए । राष्ट्रप्रेमी मावि साकफारा भने तीन वर्षदेखि निरन्तर शून्य नतिजा ल्याउने विद्यालयमा परेको छ ।

लगातार नतिजा शून्य भएपछि त्यस्ता विद्यालयलाई चेतावनीपत्र पठाउने जिशिकाले जनाएको छ । विद्यालयको नतिजा शून्य आउनुमा के के कारण रहेको भन्ने बारेमा प्रश्नावलीसहितको पत्र पठाउने जिशिका स्रोतले जनाएको छ ।

धेरै विद्यालयको नतिजा शून्य आए पनि परीक्षा प्रणालीमा धेरै सुधार आएको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरी दाबी गर्नुहुन्छ । होमसेन्टर नदिएको र परीक्षा कडा भएकाले कम नतिजा आएको हुनसक्ने पुरीको भनाइ छ । धेरै विद्यालयको नतिजा शून्य आएपछि यसपटकदेखि उच्चमावि सञ्चालनमा समेत कठिनाइ उत्पन्न हुने शिक्षकहरू बताउँछन् ।

यस वर्षको एसएलसी परीक्षामा जिल्लाका ८६ सामुदायिक, २९ संस्थागत र एक खुल्ला गरी ११६ विद्यालयका नियमित र एक्जाम्टेड गरी सात हजार ५८ जना परीक्षार्थीले परीक्षा दिएका थिए । यीमध्ये नियमिततर्फ ९४४ र एक्जाम्टेडतर्फ ८९ जना उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक निर्मल ढुङ्गेलले जानकारी दिनुभयो ।

इलामबाट २९ जना विशिष्ट श्रेणीमा, ३६८ जना प्रथम श्रेणीमा, ५०५ जना द्वितीय श्रेणीमा र ४३ जना तृतीय श्रेणीमा उत्तीर्ण भएको जिशिकाले जनाएको छ ।

यस्तै एक्जाम्टेडतर्फ एक प्रथम श्रेणी, ६५ द्वितीय श्रेणी र २३ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । रासस