सुन्दरीजल, ३१ जेठ । मुख्य सचिव लीलामणि पौडेलले वाग्मती सफाइका लागि सबैले ‘म’ बाटै अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ ।
वाग्मती सरोकार संयुक्त समितिको आज जोरपाटीस्थित वाग्मती नदी किनारमा आयोजित घोषणापत्र सभालाई सम्बोधन गर्दै मुख्य सचिव पौडेलले भन्नुभयो, “हामीलाई प्रचार र प्रशंसा चाहिँदैन वाग्मती सफाइ भए पुग्छ ।”
वाग्मती नदी र काठमाडौँ उपत्यकालाई दिगो रुपमा सफा राख्नका लागि निजी साझेदारी कार्यक्रमअन्तर्गत उपत्यकामा ५०० वटा आधुनिक ट्वाइलेट निर्माण कार्यलाई अगाडि बढाइएको जानकारी उहाँले गराउनुभयो ।
सभासद् रामेश्वर फुँयालले काठमाडौँ उपत्यका र वाग्मती नदी सफा राख्नका लागि जो जहाँ छ त्यहीँबाट सफाइ अभियान चलाइनुपर्ने धारणा राख्नुभयो ।
समितिका अध्यक्ष गोविन्द ढुङ्गेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका लालबहादुर लामा, नेकपा (एमाले)का गोकुल बराल, एनेकपा (माओवादी)का टिआर नेपाललगायतका वक्ताले वाग्मती सफाइ अभियानमा पूर्णरुपमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
वाग्मती नदी किनारका आसपासका कामनपा वडा नं ६ जोरपाटी, गोकर्णेश्वर, मूलपानी र गोठाटार गाविसमा क्रियाशील ५० वटाभन्दा बढी सङ्घसंस्थालाई सङ्गठित गरेर प्राचीन धरोहरका रुपमा रहेको वाग्मतीलाई स्वच्छ र कञ्चन बनाउने उद्देश्यले वाग्मती सरोकार संयुक्त समितिको घोषणा गरिएको महासचिव गिरीराज ओझाले जानकारी दिनुभयो ।
समितिले घर टोलबाट निस्कने फोहरमैलालाई वाग्मती नदीसम्म जान नदिई घर टोलमै व्यवस्थित गर्नका लागि जनचेतनामुलक अभियान चलाउने महासचिव ओझाले बताउनुभयो ।















प्रतिक्रिया