२९ आश्विन २०८३, बिहिबार

‘उमाविहरु’ अनिश्चितकालीन बन्द, नयाँ विद्यार्थी प्रभावित हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Histansकाठमाडौं, २९ जेठ । सरकारले आफ्ना माग अविलम्ब कार्यन्वयन नगरे उच्च माध्यमिक शिक्षक एशोसिएशन नेपाल (हिस्टान्) ले देशभरका उमावि अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएको छ ।

उच्च माध्यमिक शिक्षक एशोसिएशन नेपाल (हिस्टान) ले काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर विगतमा सरकारसँग प्रस्तुत गरेका माग अविलम्ब कार्यन्वयन गर्नुपर्ने माग गरेको हो । माग पुरा नभए आगामी असार १ गतेदेखि देशव्यापी रुपमा उच्च माविहरु अनिश्चितकालीन बन्द गरिने विज्ञप्तिमा उल्लेख छ ।

हिस्टानले प्रत्येक सामुदायिक उमाविमा विषयगत रुपमा कम्तिमा पाँच वटा दरबन्दी उपलब्ध गराउनुपर्ने, उच्च माविमा कार्यरत शिक्षकलाई विश्वविधालय सरहको सेवा सुविधा दिनुपर्ने, उमाविहरुलाई प्रक्रिया पुरा गराई स्थायी सम्बन्धन दिनुपर्ने, आचारसंहिता पूर्ण रुपमा कार्यन्वयन गर्नुपर्ने, उच्च माध्यमिक शिक्षा परिषदको असक्षम नेतृत्व अविलम्ब बर्खास्त गर्नुपर्नै लगायतका १२ बुँदे माग अघि सारेको छ ।

हिस्टानका अध्यक्ष दीपकराज सुवेदीले आफूहरुको माग सम्वोधनका लागि सरकारसँग पटक–पटक गरेका सम्झौता कार्यन्वयन नभएकाले आन्दोलन गर्नुपरेको बताए ।

एसएलसीको नतिजा सार्वजनिक हुन एक दुई दिन मात्रै बाँकी रहेका बेला उच्च माविमा कार्यरत शिक्षकहरुले नयाँ भर्नालाई असर गर्ने गरी आन्दोलन गर्न थालेका हुन् । उनीहरुको आन्दोलनले सरकारी उच्च माविहरुमा नयाँ भर्ना हुन चाहने विद्यार्थीलाई असर पर्ने अभिभावकहरुको भनाइ छ ।