सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

नेपाली राष्ट्रिय खेलाडीको ठोकुवाः फाइनलमा स्पेन र ब्राजिल भिड्छन्

दैनिक नेपाल २०७१ जेठ २९ गते ११:५८

लक्ष्मी काफ्ले

world-cup-footbal

झापा, २९ जेठ । २०औं फिफा विश्वकप आज रातिबाट ब्राजिलमा सुरु हुँदैछ । ३२ वटा राष्ट्र सहभागी रहेको यसपटकको फुटबलको महाकुम्भ हेर्न संसारभरका मानिसको ध्यान ब्राजिलतर्फ नै छ ।

विश्वकपमा ३२ वटा राष्ट्र सहभागी भएता पनि नेपालमा भने केही सीमित टोलीका मात्र समर्थक छन् । अघिल्लो पटक दक्षिण अफ्रिकामा भएको विश्कपमा स्पेनले बाजी मारेसँगै नेपालमा स्पेनका समर्थक बढेका छन् ।

यद्यपि प्रायः नेपाली फुटबल प्रेमीहरुले ब्राजिल, अर्जेन्टिना, पोर्चुगल, जर्मनीलगायतका टोलीलाई समर्थन गर्ने गरेको पाइएको छ । प्रदर्शनका आधारमा टोलीको समर्थन गर्ने दर्शक भने कमै छन् ।

झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङ भने सबै टोलीको प्रदर्शन हेरेर मात्र कुनै एक टोलीको समर्थन गर्ने तयारीमा छन् । संघका उपाध्यक्ष एवम् वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले मामा भने कुनै समय अर्जेन्टिनाका कट्टर समर्थक थिए । त्यतिबेला अर्जेन्टिनाका म्याराडोनालाई मन पराउने मामा यतिबेला भने ब्राजिललाई मन पराउँछन् ।

झापा जिल्ला रेफ्री संघका अध्यक्षसमेत रहेका रेफ्री प्रदीप बस्नेत पनि मेस्सी र अर्जेन्टिनाकै समर्थक हुन् । नेपालका प्राय युवाहरुले तीन पटकसम्म फिफा वर्ष खेलाडी बन्न सफल मेस्सीलाई मन पराउने गरेको पाइन्छ । मेस्सीको खेल शैली मन पराउने युवाहरु विदेशमा पनि उत्तिकै छन् । फुटबलप्रेमीले मेस्सीलाई यतिबेला फुटबलका बादशाहसमेत भन्ने गरेका छन् ।

prabesh_katuwal

प्रवेश कटुवाल भन्छन्- फाइनलमा स्पेन र ब्राजिल भिड्छन्

नेपाली राष्ट्रिय फुटबलमा प्रवेश कटुवाल पुरानो एवम् परिचित नाम हो । नेपालका पूर्व राष्ट्रिय खेलाडी कटुवालले विसं २०५७ सालबाट एनआरटी, ग्यालेक्सियन, थ्रीस्टार, मनाङ, आरसिटी हुँदै हाल उनी मच्छिन्द्र क्लवबाट खेल्दैछन् ।

सन् २००४ बाट २००६ सम्म नेपाली राष्ट्रिय टोलीबाट फुटबल खेलेका प्रवेशले हाल प्रशिक्षकको ‘सी लाईसेन्स’ पाइसकेका छन् ।

प्रवेशले पहिलो पटक सन् १९९४ को विश्वकप फुटबल हेरेका थिए । झापा गरामनी ९ सैनिकबजार घर भएका उनले त्यो विश्वकप उनका छिमेकी पीसी मुखियाकोमा हेरेका थिए । त्यसबेला फुटबलतिर थोरै चासो राख्ने गरेका उनलाई फुटबलको खासै ज्ञान थिएन ।

‘त्यतिबेला त खासै ज्ञान थिएन फुटबलको’, प्रवेश भन्छन् – ‘१९९४ को विश्वकप पछि चाहिँ नछुटाई विश्वकप हेर्न थालियो ।’ प्रवेशलाई १९९४ को विश्वकपमा ब्राजिलका रोमारियो असाध्यै मन पर्यो । उनले पहिलो पटक हेरेको त्यो विश्वकपको उपाधि पनि ब्राजिलले नै जित्यो । त्यसपछि खुलेर ब्राजिलको समर्थक बनेका उनी ब्राजिललाई नै समर्थन गर्छन् ।

‘म अहिले पनि ब्राजिलको कट्टर फ्यान हुँ’, प्रवेशले भने – ‘इन्टरनेशनल क्लव फुटबलमा पनि ब्राजिलका खेलाडी बढी भएको टिम नै मन पर्छ ।’ ब्राजिल मन पर्नुको कारण सोध्नै नपाई प्रवेशले भने – ‘ब्राजिलसँग दर्शकलाई मनोरञ्जन दिलाउने क्षमता छ । जुन क्षमता अरु कुनै पनि देशका टोलीसँग छैन ।’

ब्राजिल र त्यहाँका खेलाडीको कुरा गर्न थालेपछि नथाक्ने प्रवेशलाई ब्राजिलको फुटबलको प्रायः सबै थाहा छ । ब्राजिलका खेलाडीसँग भएको क्षमता अर्जेन्टिनाका स्ट्राइकर मेस्सीसँग पनि छैन ।’ प्रवेशले भने– फुटबलको स्किल ब्राजिलका खेलाडीमा मात्र छ ।’

प्रवेशलाई अहिले ब्राजिलका खेलाडी नेमार मन पर्छ । फाइनलमा स्पेन र ब्राजिल भिड्ने अनि ब्राजिलले स्पेनलाई सहजै मात खुवाउने प्रवेशको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित