चितवन, २९ जेठ । चितवनको निर्वाचन क्षेत्र नं ४ मा आगामी असार ८ गते हुने संविधानसभा सदस्य उप–निर्वाचनमा विद्युतीय मतदानबारे जानकारी दिन निर्वाचन शिक्षा कार्यकर्ता सक्रिय भएका छन् ।
राजनीतिक दलहरुले विद्युतीय मतदानको विषयमा मतदाताहरु अनभिज्ञ रहेको भन्दै आयोगलाई पटकपटक गुनासो गरेपछि त्यसबारे जानकारी दिन आयोगका कर्मचारी सक्रिय रुपमा लागेका हुन् । बिहान र बेलुका उनीहरुले घरदैलोमै पुगेर मतदातालाई भोट हाल्ने तरिका, गणना, र नजिताका बारेमा जानकारी गराइरहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालका अनुसार क्षेत्र नं ४ अन्तर्गत पर्ने सात वटा गाउँ विकास समिति र भरतपुर नगरपालिकाका पाँच वटा वडामा समूह विभाजन गरी निर्वाचन शिक्षा कार्यकर्ता खटिएका छन् ।
निर्वाचन अधिकृत ढकालले क्षेत्र नं ४ मा पर्ने ३१ वटा मतदान केन्द्रमा ३१ जना मतदाता शिक्षा स्वयम्सेवक र १२ जना निर्वाचन शिक्षा कार्यकर्ता खटाइएको बताउनुभयो । त्यसको अनुगमनका लागि मतदाता शिक्षा अनुगमन अधिकृत रणबहादुर खत्री र जिल्ला निर्वाचन कार्यालयका सूर्यप्रसाद आचार्य सो क्षेत्रमा खटिनुभएको छ ।
त्यसैगरी जिल्ला निर्वाचन कार्यालयबाट पनि क्षेत्र नं ४ का विभिन्न क्षेत्रमा प्रत्येक दिन नमुना मतदान गराउने काम भइरहेको उहाँले बताउनुभयो ।
चितवन निर्वाचन क्षेत्र नं ४ मा ६५ हजार २९९ मतदाता रहेका छन् जसमध्ये आधाभन्दा बढी महिला रहेका छन् । रासस














प्रतिक्रिया