इटहरी, २८ जेठ । पूर्वाञ्चल विश्वविद्यालयको एक्काइसौँ सञ्चालक परिषद् बैठक विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बुधबार पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ मेडिकल एन्ड एलाइट साइन्सेज गोठगाउँ मोरङमा बस्यो ।
बैठकमा पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति एवम् शिक्षामन्त्री चित्रलेखा यादव, सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चरमन्त्री डा मीनेन्द्र रिजाल तथा अन्य सञ्चालक परिषद् सदस्यको सहभागिता रह्यो ।
प्रधानमन्त्री कोइराला बैठकका लागि गोठगाउँस्थित कलेजको भवनमा पुग्नु हुँदा उहाँलाई विश्वविद्यालय सञ्चालक परिषद्का सदस्य तथा विद्यार्थीले भव्य स्वागत गरेका थिए ।
बैठकमा उपकुलपति श्रीश रिजालले बजेट प्रस्तुत गर्दै अघिल्लो आर्थिक वर्षमा ३५ करोड ३५ लाख ३५ हजारको बजेट तथा कार्यक्रम पारित भई सो आर्थिक वर्षमा ५ दशमलव ७१ प्रतिशतमात्र खर्च भएकाले चालु आर्थिक वर्षका लागि पाँच करोड ३९ लाख ३९ हजारमात्र प्रस्ताव गर्नुभयो । उक्त प्रस्तावित बजेट रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ८४ दशमलव ७४ प्रतिशत कम हो ।
यसैगरी गत आर्थिक वर्षमा कुल २४ करोड ५४ लाख ५४ हजारको बजेट तथा कार्यक्रम पारित भई ६२ दशमलव ६९ प्रतिशतमात्र खर्च भएकाले चालु आर्थिक वर्षका लागि २१ करोड ८८ लाख ७५ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको छ ।
त्यस्तै आम्दानीतर्फ गत आर्थिक वर्षमा ३० करोड १२ लाख २२ हजार लक्ष्य राखेकोमा २८ करोड २६ लाख ७६ हजार ८५३ प्राप्त भएकाले चालु आर्थिक वर्षका लागि २७ करोड २० लाख १५ हजार ९०४ प्राप्त गर्ने लक्ष्य प्रस्तुत गरिएको छ । जुन अघिल्लो आर्थिक वर्षको आम्दानीको तुलनामा ९ दशमलव ६२ प्रतिशतले कमी हो ।
सो अवसरमा सञ्चालक परिषद्सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले मुलुकलाई सङ्घीयतामा लैजाने कुरालाई कसरी धान्न सकिन्छ भन्ने विश्लेषण गरेरमात्र सङ्घीय स्वरुप निर्धारण गरिने बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले आगामी माघ महिनामा आम सहमतिको संविधान जारी गर्नका लागि सरकारका तर्फबाट खेल्नुपर्ने भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न सरकार गम्भीरतपूर्वक लागि रहेको स्पष्ट पार्नुभयो ।
उहाँले पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो उद्देश्य पूरा गर्न र आम नेपाली जनताका छोराछोरीलाई सहज रुपमा शिक्षा पाउनुपर्ने मौलिक हक प्रदान गर्न सफल र जिम्मेवार भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
सबै राजनीतिक दलहरु मिलेर देशलाई विकासको बाटोमा लाने हो भने अबको १० वर्षमा नेपाललाई सुन्दर बनाउन सकिने बताउँदै उहाँले पर्यटन र जलस्रोतको विकाससँगै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रधानमन्त्री कोइरालाले सहमति र सहकार्यबाट नै देशको समग्र विकास सम्भव भएकाले अहिले संविधानसभामा उत्पन्न समस्याको पनि आपसी सहमति र सहकार्यबाट नै समाधान निकालिने विश्वास दिलाउनुभयो । देश बनाउने जिम्मेवारी सरकारको मात्र नभएर सम्पूर्ण राजनीतिक दलहरुको पनि भएकाले संसद्मा अवरोध नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।
विश्वविद्यालयका सहकुलपति एवम् शिक्षामन्त्री यादवले पूर्वाञ्चल विश्वविद्यालयभित्र देखिँदै आएको अनियमिततालगायतका विषयमा सम्बन्धित निकायले विशेष चासोका साथ हेरिरहेको बताउनुभयो ।
बैठकमा सभासद् रहनुभएका लोकप्रसाद सङ्ग्रौलाले नेपाली काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पूर्वाञ्चल विश्वविद्यालयको सुन्दर भविष्यका लागि चासोका साथ काम गर्नु भएकाले उहाँको सम्मान स्वरुप विश्वविद्यालयको प्रवेशद्वारमा सालिक राख्न माग गर्नुभयो ।
बैठकमा अन्य सभासदहरु तथा नेताहरुले पनि पूर्वाञ्चल विश्वविद्यालय सञ्चालनका लागि देखा पर्दै आएका सानातिना समस्याको समाधान निकाल्दै वर्तमान उपकुलपतिले गर्नुभएको कामको प्रशंसा गर्नुभएको थियो ।














प्रतिक्रिया