३० आश्विन २०८३, शुक्रबार

एमाले बैठकमा नेपाल र ओलीबीच जुहारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-KP oli

प्रकाश सिलवाल

काठमाडौँ, २७ जेठ । नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनका लागि अलगअलग समूहका अध्यक्षका दुई प्रत्याशी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीबीच मंगलबार केन्द्रीय कमिटीको बैठकमै सवाल जवाफ भएको छ ।

दुवै समूहबीच विभिन्न भेलाहरूमा उम्मेदवारीको औचित्य प्रस्तुति र आरोप प्रत्यारोपको क्रम चलिरहेका बेला औपचारिक बैठकमै कुरा राख्नुलाई केन्द्रीय सदस्यहरूले सकारात्मक मानेका छन् ।

महाधिवेशनमा नेतृत्व चयनमा सहमतिका लागि सहजता निर्माण गर्न दुवै नेताले आफू पछि हट्ने संकेत भने गरेनन् । लामो समयको स्वास्थ्य उपचारबाट फर्केर मंगलबार पहिलोपटक बैठकमा सहभागी नेता ओेलीले बैठकमा करिब एक घण्टा कुरा राखेपछि नेता नेपालले जवाफी शैलीमा मन्तव्य दिनुभएको थियो ।

नेता ओलीले नवौं महाधिवेशनलाई केवल कर्मकाण्डी मात्र नभई ऐतिहासिक र एकताबद्ध बनाउन जोड दिनुभयो तर नेता नेपालले सहमति गर्ने नाममा लोकतान्त्रिक विधिअनुसार प्रतिस्पर्धाको मैदानमा उत्रन पनि तयार रहेको जनाउ दिनुभयो ।

एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख प्रदीप ज्ञवालीले दिनुभएको जानकारीअनुसार बैठकमा नेता ओलीले भन्नुभयो, ‘यो हाम्रै पार्टीको महाधिवेशन हो, कुनै युद्ध होइन, कित्ताकाट गर्ने कुरा पनि होइन, कित्ता मिलाउने कुरा गरौं ।’

ओलीले लोकतान्त्रिक संविधान निर्माण गर्ने र देशको नेतृत्व सम्हाल्न सक्ने पार्टी नेतृत्व चयनमा जोड दिनुभयो ।

नेता ओलीले नेपाली काँग्रेससँगको सत्ता साझेदारीमा देखिएको कमजोरीबारे पनि प्रकाश पार्दै सो दलले एमालेलाई ‘झुम्रको पुतली’ ठान्न नहुने धारणा राख्नुभएको थियो । त्यस्तै ओलीले संघीयतामा जाँदा जनताको समृद्धिलाई ध्यान दिन पनि आग्रह गर्नुभएको थियो ।

पार्टीका पोलिटब्युरो सदस्य अष्टलक्ष्मी शाक्यका अनुसार नेता नेपालले आफू लामो राजनीतिक पृष्ठभूमि र योगदान गर्दै यहाँसम्म आएको बताउँदै त्यसको मूल्याङ्कन हुनुपर्नेमा जोड दिनुभएको थियो । नेपालको भनाइ थियो – ‘नेतृत्वका नाममा बदख्वाईँ नगराँैै, कसैलाई निधेष गर्ने कुरा पनि हुँदैन, सकेसम्म मिलेर जाउँ नत्र लोकतान्त्रिक विधिबाट जान सक्नुपर्छ ।’

नेत्री शाक्यले महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारहरुले यसरी बैठकमा खुलस्त कुरा राख्दा दुवै पक्षलाई बुझ्न र मिलाउन सहज हुने बताउनुभयो ।

पार्टीमा सबै खालका क्षमता र योगदान भएका नेता भएकाले ती सबैको मूल्याङ्कन आम कार्यकर्ताले गर्ने उहाँले बताउनुभयो । एमालेको नवौं महाधिवेशन आगामी असार १९ देखि २५ गतेदेखि हुँदैछ ।

यसैबीच मंगलबारको बैठकले पार्टीको विधान संशोधन प्रस्तावलाई अन्तिमरुप दिन अध्यक्ष अलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीमा महासचिव ईश्वर पोखरेल, सचिवहरू युवराज ज्ञवाली, विष्णु पौडेल, शङ्कर पोखरेल, नेताहरू सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, प्रकाश ज्वाला, भीम रावल, वेदूराम भूषाल, अष्टलक्ष्मी शाक्यलगायत हुनुहुन्छ ।

प्रस्तावित विधानमा पदाधिकारीको सङ्ख्या बढाउने, नेतृत्वमा जाने व्यक्तिको उमेर हद तोक्नेलगायतका विषय समेटिएका छन् । एमालेको केन्द्रीय कमिटीको अर्काे बैठक आगामी असार २ गते बस्नेछ । रासस