राजविराज, २७ जेठ । जिल्ला अदालतले सप्तरीको बसबिट्टी गाविसबाट कौडा खेलिरहेका नेपाली जनता दलका नेतासहित सातजना जुवाडेलाई साधारण तारेखमा रिहा गरेको छ ।
जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको आदेशले नेपाली जनता दलका जिल्ला अध्यक्ष राजविराज–५ का गुलाब यादवसहित सातजना रिहा भएका हुन् ।
प्रहरीले यादवसहित बसबिट्टी–७ का विद्यानन्द ठाकुर, श्याम दास, महदेवा–७ का भागवत अधिकारी, पातो–४ का डोमी मुखिया, मलेठ–६ का राकेश दास र विजयकुमार दासलाई जेठ १६ गते नियन्त्रणमा लिई हिरासतमा राखेको थियो ।
जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले बसबिट्टी गाविस–७ स्थित बाँसघारीबाट छापा मारी जुवाडेसहित जुवाको खालबाट १६ थान कौडा, नगद रु एक लाख तीन हजार , ६ थान मोबाइल, दुईवटा मोटरसाइकल र दुईवटा साइकल बरामद गरेको थियो । उनीहरूलाई जुवा ऐन, २०२० अन्तर्गत मुद्दा चलाइएको छ ।














प्रतिक्रिया