सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

झापाली फुटबल प्रेमीको रोजाइ – ब्राजिल, अर्जेन्टिना र स्पेन

दैनिक नेपाल २०७१ जेठ २७ गते १०:११

World-Cup-2014

लक्ष्मी काफ्ले

बिर्तामोड । प्रायःको बोलीमा ब्राजिल, अर्जेन्टिना, स्पेनजस्ता देशका नाम मात्र छन् । हातमा झण्डा मात्र होईन, कपडा (जर्सी) पनि विदेशकै । झापा जिल्ला भित्रकै दृष्य हो यो । अहिले यस्ता दृष्य झापामा मात्र होइन पूरै विश्वमा देख्न सकिन्छ ।

मात्र दुई दिनपछि विश्वकप फुटबल सुरु हुँदैछ । विश्वकप नजिकिरहँदा प्रतियोगितामा भाग लिने सबै टोलीहरु कडा तयारीमा जुटेका छन् । विश्वकपको तयारीका क्रममा प्रायः टोलीले मैत्रीपूर्ण खेल पनि खेलीसकेका छन् ।

आफ्नो देशमा मैत्रीपूर्ण खेल खेलेर विश्वकपमा सहभागी हुने राष्ट्रहरु धमाधम ब्राजिल जाने क्रम जारी छ । अर्जेन्टिनाले आफ्नो मैत्रीपूर्ण खेलमा स्लोभेनियालाई २–० ले हरायो । सो क्रममा अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेस्सीलेसमेत गोल गरे । जीतपछि अर्जेन्टिना पूर्ण तयारीका साथ ब्राजिल जाँदैछ ।

अघिल्लो श्विकपको विजेता स्पेन पछि उपाधि रक्षा गर्ने लक्ष्यका साथ ब्राजिल जाँदैछ । स्पेनले विश्वकपमा आफ्नो पहिलो खेलमै शुक्रबार अघिल्लो विश्वकपको फाईनल प्रतिद्वन्द्वी नेदरल्याण्ड्सको सामना गर्नेछ । उता मैत्रीपूर्ण खेलमा होन्डुरससँग गोलरहित बराबरी खेल्दै आइतबार नै इङ्ग्लायडको टोली विश्वकप खेल्न ब्राजिल पुगेको छ । त्यसअघि बुधबार भएको मैत्रिपूर्ण खेलमा पनि इक्वेडरले इङ्ग्ल्याण्डलाई २–२ को बराबरीमा रोकेको थियो ।

tv-for-worldcup

फुटबलको राजधानीका रुपमा चिनिने ब्रजिलमा यस पटकको विश्वकप हुँदैछ । ब्राजिल त्यो राष्ट्र हो जसले लामो समयसम्म फुटबलमा एकछत्र राज गर्यो । नेपालमा पनि ब्राजिलका समर्थक धेरै छन् । अन्य देशमा फुटबल विश्वकप आयोजना हुनु र ब्राजिलमा आयोजना हुनुमा आकाश–जमिनको फरक रहेको ब्राजिल समर्थक दर्शक बताउँछन् ।

प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकपले यतिबेला आयोजक राष्ट्र ब्राजिल, विश्वकपमा सहभागि हुने राष्ट्रहरुलाई मात्र नभई पूरै संसारलाई नै फुटबलमय बनाइदिएको छ । नेपालमा पनि आफूले समर्थन गरेको राष्ट्रको जर्सी र झण्डा किन्ने क्रम जारी छ । नेपाली समय अनुसार राति खेल हुने हुँदा फुटबल प्रेमीहरु यतिबेला कहाँ र कसरी खेल हेर्ने भनी साथीभाइसँग सल्लाह गर्नमै ब्यस्त देखिन्छन् ।

खासगरी विश्वकप नजिकिरहँदा नेपालमा मात्र होइन विश्वभरनै व्यापार बढेको छ । विश्वकप नजिकिएका बेला जर्सी, अन्य लत्ताकपडा, झण्डा लगायतका सामाग्रीको व्यापार ह्वात्तै बढेको हो । नेपालमा पनि अन्य उमेर समुहका मानिसभन्दा युवा पुस्ताले फुटबल बढी रुचाएको पाइन्छ । फुटबल विश्वकप हेर्न अरु कुनै पनि कामले नछेक्ने उनीहरु बताउँछन् ।

Bhagirath-ale-mama‘ब्राजिलले जित्ने सम्भावना छ’

नेपालको राष्ट्रिय फुटबलमा भगिरथ आले मामा पुरानो नाम हो । विगत २६ वर्षदेखि प्रशिक्षकको जिम्मेवारी सम्हालेका वरिष्ठ फुटबल प्रशिक्षक मामाले सन् १९९२ बाट फुटबल विश्वपक हेर्न थालेका थिए ।

मामा त्यतिबेला म्याराडोनाबाट प्रभावित भए । ‘पहिले–पहिले पत्रपत्रिकाबाट मात्र थाहा हुन्थ्यो,’ मामा भन्छन्– ‘गाउँमा टिभी भित्रिएदेखि नै टिभीमा विश्वकप हेर्न थालियो ।’ त्यतिबेला अर्जेन्टिना र म्याराडोना भनेपछि मरिहत्ते गर्ने मामा पछि–पछि भने ब्राजिलको समर्थक बने ।

ब्राजिलका खेलाडीको कला, कौशलले गर्दा आफू ब्राजिलप्रति आकर्षित भएको उनी बताउँछन् । भन्छन, ‘रोनाल्डो, रोनाल्डिनोजस्ता खेलाडीको टेक्निकले गर्दा मैले ब्राजिललाई समर्थन गरें ।’

नेपाली राष्ट्रिय टोलीबाट ५ वर्ष खेलिसकेका वरिष्ठ फुटबल प्रशिक्षक मामाको बुझाईमा युरोपियन राष्ट्रहरु नै विश्वकप उपाधिका दावेदार हुन् । ‘युरोपियन कन्ट्रीहरुको बेश नै फटबल हो,’ भन्छन्– ‘युरोपियन लिगका कारण पनि युरोपियन राष्ट्रहरु विश्वकपका दावेदार हुन् ।’

यद्यपि ब्राजिल, अर्जेन्टीना स्पेन, जर्मनी, इटालीजस्ता टोलीहरुमा पनि फुटबलका हस्तीहरु रहेकाले विश्वकप निकै रोमाञ्चक हुने मामाको बुझाई छ । ५ वटा राष्ट्रिय खेल खेलेका मामा यसपालीको विश्वकपमा पनि ब्राजिलकै समर्थन गर्दैछन् । उनलाई ब्राजिलको टोलीको सबै कुरा मन पर्छ । मामा ब्रजिलसँग वर्षौदेखि परिचित छन् । त्यसैले उनी ब्राजिललाई मन पराउँछन् ।

‘ब्राजिलका फुटबल हस्तीहरु अन्य देशकाभन्दा कम छैनन् ।’ ब्राजिलको समर्थन गर्दै मामा भन्छन्– ‘ब्राजिलको आफ्नै छवी छ फुटबलमा । आफ्नै भूमिमा खेल्न पाएको छ ब्राजिलले । त्यसकारण पनि ब्राजिलले विश्वकप जित्ने सम्भावना छ ।’

 

प्रतिक्रिया
सम्बन्धित