३० आश्विन २०८३, शुक्रबार

सात वर्षदेखि अस्पतालको शैयामा अलपत्र, न ठेगाना छ, न परिवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bharatpur-hospital

चितवन, २७ जेठ । चितवनको भरतपुर अस्पतालमा एक बालक सात वर्षदेखि एउटै शैयामा बस्न बाध्य भएका छन् ।

परिवारले अस्पताल ल्याएर छाडेपछि बेवारिसे भएका विशाल अधिकारी सात वर्षदेखि एउटै शैयामा बस्न बाध्य भएका हुन् ।

ठेगानासमेत नखुलेका विशालको सात वर्षदेखि कोही आफन्त नआएको अस्पतालका बालरोग विभाग प्रमुख डा आमोदबहादुर थापाले बताउनुभयो । पुनः स्थापना केन्द्रमा लैजान सके उनको अवस्था सुधार हुने भन्दै डा थापाले उसलाई सहयोग गर्न अनुरोधसमेत गर्नुभएको छ ।

सात वर्षअघि २०६४ साल साउन ३० मा परिवारबाट भरतपुर अस्पतालमा ल्याएर छाडिएका थिए विशाललाई । विशाल अस्पताल बाल वाडको १३ नम्बर शैयामा सात वर्षदेखि छन् । भर्ना गरिएका बेला आठ वर्षका विशाल अहिले १५ वर्षका भए ।

“चौध वर्षपछि बच्चा राखिँदैनथ्यो, बेवारिसे भएपछि राख्नैपर्ने रहेछ”–बाल वार्डकी इन्चार्ज एवम् नर्सिङ निरीक्षक शोभा महत्तोले भन्नुभयो–“कुनै राम्रो संस्थाले लैजान्छ कि भनेर प्रक्रिया सुरु गरे पनि सफल भएको छैन ।”

“भात खान्छु, बिस्कुट खान्छु भन्छ अरू केही भन्न सक्दैन”–उहाँले भन्नुभयो । अस्पतालका बालरोग विशेषज्ञ तथा बालरोग विभाग इन्चार्ज डा आमोदबहादुर थापा सुरुदेखि नै उनको उपचारमा सक्रिय हुनुहुन्छ ।

विशाल मानसिक र शारीरिक अपाङ्ग छन् । सुस्तःमनस्थितिका रहेकाले भरतपुर अस्पतालमा यसको खास उपचार नभएको डा थापाले बताउनुभयो । विशाललाई सुस्तःमनस्थिति अस्पताल या यस्तै विशेष प्रकारको व्यवस्था भएको ठाउँमा लैजान सके सुधार हुने थापा बताउनुहुन्छ ।

सुरुमा भर्ना गर्दा उनका बुबा होमनाथ अधिकारी उल्लेख गरिएको छ तर उनको ठेगाना फेला पार्न सकिएको छैन । गाउँ खोज्न प्रहरीसमेत लगाए पनि फेला पार्न नसकिएको थापाले बताउनुभयो । पर्सा ठोरीमा रहेको असहाय कल्याण समाजका अध्यक्ष आशबहादुर गुरुङले बच्चा लैजाने भनेर अस्पतालमा निवेदन दिए ।

बुटवलको एक संस्थाले समेत लैजाने प्रयास गरेको भए पनि प्रक्रिया सफल हुन नसकेको अस्पतालले जनाएको छ । कानुनी प्रक्रिया नमिलेकाले पठाउन नसकिएको अस्पतालले जनाएको छ ।