लहान, २७ जेठ । सगरमाथा अञ्चलकै मुख्य बजारका रुपमा रहेको सिरहाको लहान नगरपालिकामा छिमेकी पाँच गाविस गाभिने भएका छन् ।
लहान नगरपालिकाको आयोजनामा सोमबार यहाँ भएको सर्वपक्षीय भेलामा लहानसँग जोडिएका ब्राह्मण गोर्छाडी, सिसवनी, भवानीपुर कालाबञ्जर, पडरिया र सोनमती मझौरा गाविस सहमतिको आधारमा लहानमा गाभिने निर्णय गरिएका छन् ।
गाविस तहमा सर्वपक्षीय भेलामार्फत निर्णय गर्न नसकेर छुटेका छिमेकी गाविस भदैया, बस्तीपुर र गोविन्दपुरलाई मंगलबार बिहान १० बजेसम्मको समय दिइएको लहान नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङ्ले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकामसमेत रहेको सिरहा नगरपालिकामा छिमेकी माडर, सुखचैना, खिरौना, मल्हनिया गम्हरिया, हनुमाननगर प्र.म. र सारश्वरसहित छ गाविसले गाभिने निर्णय गरेको जिल्ला विकास समिति सिरहाका स्थानीय विकास अधिकारी विजयराज सुवेदीले जानकारी दिनुभयो ।
सरकारले गाविसको आन्तरिक आम्दानी, जनसङ्ख्या, सार्वजनिक जग्गा, भौतिक पूर्वाधारको विकासलगायतको सूचकका आधारमा छिमेकी नगरपालिकामा गाभिन चाहने गाविसहरुबाट आह्वान गरेको थियो । आजसम्म निर्णय गरेर आवेदन गर्न सरकारले सूचना जारी गरेपछि सिरहामा नगरपालिकामा गाभिन चाहने गाविसहरुले निर्णय गरेर आवेदन गरेको जिविसका योजना अधिकृत इन्द्रदेव यादवले बताउनुभयो ।
एक सय छ गाविस र दुई नगरपालिका रहेको सिरहामा पछिल्लोपल्ट सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले छिमेकी सात गाविसलाई समेटेर रामनगर मिर्चैया नगरपालिका घोषणा गरेपछि सिरहामा नगरपालिकाको सङ्ख्या तीन पुगेको छ भने गाविसको सङ्ख्या घटेर ९९ वटा भएको छ ।














प्रतिक्रिया