२८ आश्विन २०८३, बुधबार

एथलेटिक्समा यामसाजन र दिलमायाद्वारा राष्ट्रिय कीर्तिमान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

8 (1)काठमाडौं, २४ जेठ । नेपाली सेनाका यामसाजन सुनार र सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी दिलमाया कार्कीले १७ औं एसियाली खेलकुदका लागि सञ्चालित एथलेटिक्स खेलाडी छनोट प्रतियोगितामा शुक्रबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । यामले पुरुषको १ सय मिटर तथा दिलमायाले महिलाको ४ सय मिटर दौडमा कीर्तिमान रचेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निर्धारित दूरी तय गर्न यामसाजनले १०.३ सेकेन्ड समय खर्चे । यसअघि प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय एथलेटिक्समा उनले १०.४ सेकेन्डको कीर्तिमान बनाएका थिए ।

दिलमायाले निर्धारित दूरी पूरा गर्न ५८.५ सेकेन्ड समय लगाइन् । गत असोजमा भएको नेसनल ओपन एथलेटिक्स मिटमा दिलमायाले ५८.८ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । दिलमाया १ सय मिटर दौडमा पनि पहिलो भइन् । दिलमायाले १२.८ सेकेन्ड समय खर्चिन् ।

पाँच हजार मिटर दौडको पुरुषमा एपीएफका गोपीचन्द्र पार्की (१५ मिनेट ०८.८ सेकेन्ड) र महिलामा एपीएफकै कान्छीमाया कोजु (१८ मिनेट ४२.३ सेकेन्ड), १ हजार ५ सय मिटर दौडको पुरुषमा नेपाली सेनाका हरिकुमार रिमाल (३ मिनेट ५८.८ सेकेन्ड) र महिलामा विजेश्वरीकी संगीता खड्का (५ मिनेट ०७.३ सेकेन्ड) तथा ४ सय मिटर दौडको पुरुषमा प्रहरीका तिलकराम थारु (४८.८ सेकेन्ड) पहिलो भए ।

महिला लङजम्पमा प्रहरीकी केशरी चौधरी पहिलो भइन् । केशरीले ५.०८ मिटर उचाई नाघिन् । छनोट स्पर्धा शनिबार समाप्त हुनेछ ।