काठमाडौँ, २३ जेठ । नेपाल प्रहरीकी तारादेवी पुन र नेपाली सेनाका कमलबहादुर अधिकारीले १७ औं एसियाली खेलकुदका लागि भइरहेको भारोत्तोलन खेलाडी छनोट प्रतियोगितामा आज नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
नेपाल भारोत्तोलन सङ्घद्वारा आयोजित सो प्रतियोगितामा महिलाको ७५ केजी तौल समूहमाथि पुन र पुरुषको ६९ केजी तौल समूहमा अधिकारीले समान तीन तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।
पुनले स्न्याचमा ७० केजी र क्लिन एन्ड जर्कमा ९३ केजी गरी कूल १६३ केजी भार उचल्दै तीनैमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरिन् । उनकै नाममा स्न्याचमा ६७, क्लिन एन्ड जर्कमा ९२ र कुलमा १५९ को कीर्तिमान रहेको थियो ।
दक्षिण एसियाली खेलकुदको भारोत्तोलनमा स्वर्ण जित्ने एक मात्र खेलाडी अधिकारीले आफ्नै कीर्तिमान सुधार गर्ने क्रममा स्न्याचमा ११७ र क्लिन एन्ड जर्कमा १५७ गरी कुल २७४ केजी भार उचाले । उनको नाममा स्न्याचमा ११६, क्लिन एन्ड जर्कमा १५६ र कुलमा २७२ को कीर्तिमान थियो ।
यसैगरी, नेपाली सेनाकै दिनेश श्रेष्ठले पनि पुरुषको ९४ केजीतौल समूहतर्फ स्न्याचमा कीर्तिमान बनाएका छन् । उनले स्न्याचमा ११२ केजी तौल उचाल्दै आफ्नै नाममा रहेको १११ केजीको कीर्तिमानमा सुधार गरे । उनले क्लिन एन्ड जर्कमा १३५ सहित कुल २४७ केजी भार उचाले ।
तीनै खेलाडीले अघिल्लो कीर्तिमान प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत भएको राष्ट्रिय भारोत्तोलनमा बनाएका थिए । त्यस्तै ५८ केजीतौलसमूहमा नेपाल प्रहरीका उत्तम खत्री प्रथम भए । उनले स्न्याचमा ६३ र क्लिन एन्ड जर्कमा ७५ गरी जम्मा १३८ केजी भार उचाले ।
पुरुष ५६ केजीको स्न्याचमा बाँकेका प्रकाश केसीले स्न्याचमा ८५ र क्लिन एन्ड जर्कमा १०७ गरी कूल १९२ केजी वजन उचाल्दै पहिलो भए । ६२ केजीमा प्रहरीका विकास थापाले स्न्याचमा १०८ र क्लिन जर्कमा १२४ गरी जम्मा २३२ केजी उचाल्दै शीर्ष स्थानमा रहे
त्यस्तै ८५ केजीमा नेपाली सेनाका भैरवसिंह थापा पहिलो भए । उनले स्न्याचमा ९५ र क्लिन एन्ड जर्कमा १२५ सहित कुल २२० केजी भार बहन गरे ।
पुरुषको १०५ केजीमा सेनाका गगनसिंह ओलीले स्न्याचमा एक सय र क्लिन एन्ड जर्कमा १३२ गरी कुल २३२ केजी भार उचाल्दै पहिलो भए ।












प्रतिक्रिया