इटहरी, २३ जेठ । नेकपा एमालेको नवौ महाधिवेशन नजिकिएसँगै समूहगत भेला चलिरहेका बेला कुनै पक्षमा नलाग्ने घोषणा गरेका पार्टी अध्यक्ष झलनाथ खनाल माधव नेपाल समूहले शुक्रबार आयोजना गरेको भेलामा सहभागी भएनन् ।
खेलकुद महासंघको नाममा नेपाल समूहले महाधिवेशनलाई लक्षित गरी शुक्रवार सुनसरीको इटहरीमा बोलाएको भेला खनालले बहिष्कार गरेका हुन् ।
भेलामा पार्टी अध्यक्ष खनाललाई प्रमुख अतिथिको रुपमा व्यापक प्रचार गरिएको थियो । खनाललाई प्रमुख अतिथि बनाएर गुटको भेला गरेको थाहा पाएपछि खनालले आफू नआउने जानकारी गराएका हुन् । माधव नेपाल समूहले अध्यक्ष खनाल आफ्नो पक्षमा लागेको व्यापक प्रचार गरेको थाहा पाएपछि उनी नेपालसँग आक्रोशित बनेका छन् ।
सोही निर्वाचन क्षेत्रवाट संविधानसभामा निर्वाचित भएका आफू आफ्ना भान्जा, पर्यटनमन्त्री भीम आचार्यलाई पनि सहभागी हुन रोक लगाएका छन् । इटहरीमा गुटको भेलामा मन्त्री आचार्य सहभागी हुने भन्ने ब्यापक प्रचार गरिएको थियो । तर, खनालका अत्यन्तै निकट मानिएका मन्त्री आचार्य पनि भेलामा गएनन् ।
आफू कुनै पनि पक्षमा नलाग्ने घोषणा गर्दै आएका खनालले समूहगत भेला रोक्नु पर्ने बताउँदै आएका छन् । त्यसका वाबजुद पनि नेपाल समूहले खनाललाई आफ्नो पक्षमा रहेको प्रचार गर्दै आएको छ । खनालले नवौं महाधिवेशनमा नीतिमा सर्वसम्मति भएकाले नेतृत्व पनि सर्वसम्मत बनाउनु पर्ने वताउँदै आएका छन् ।
एमाले महाधिवेशन नजिकिँदै गर्दा अध्यक्षका आकांक्षी वरिष्ठ नेता नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले गुटगत भेला गरेपनि खनाल कुनैपनि गुटको भेलामा सहभागी छैनन् ।
















प्रतिक्रिया