३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री कोइराला भेटवार्तामा व्यस्त, आजै स्वदेश फर्कंदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala

काठमाडौँ, २३ जेठ । दोस्रो चीन–दक्षिण एसिया प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुन बिहीबार चीनको युनान प्रान्तको कुन्मिङ पुग्नुभएका प्रधानमन्त्री सुशील कोइराला र मित्रराष्ट्र चीनका उपप्रधानमन्त्री वाङ याङबीच आज बिहान भेटवार्ता भएको छ ।

कुन्मिनको हैगन गार्डेन होटलमा उपप्रधानमन्त्री याङसँगको भेटमा दुवै नेताबीच दुई देशको हितका बारेमा वार्तालाप हुनुका साथै नेपाललाई आर्थिक सहयोग र लगानीका निम्ति प्रधानमन्त्री कोइरालाले आग्रह गर्नुभएको उहाँको निजी सचिवालयले बताएको छ ।

आज बिहान प्रधानमन्त्री कोइरालाले ह्वानेङ लाङ्कन नदी किनारमा निर्मित जलविद्युत् आयोजनाको अवलोकन भ्रमणसमेत गर्नुभएको थियो ।

प्रधानमन्त्री कोइरालाले आज स्थानीय समयअनुसार अपराह्न २ः२० बजे दोस्रो चीन–दक्षिण एसिया प्रदर्र्शनीको नेपाल थिम प्याभिलियनको उद्घाटन गर्नुहुनेछ । उक्त उद्घाटन कार्यक्रममा वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापाले मन्तव्य दिने कार्यक्रम रहेको छ ।

त्यसपछि प्रधानमन्त्री कोइरालाले प्रदर्शनीस्थलको चौथो, पाँचाँै र छैटौँ प्याभिलियनको अवलोकन गर्नुहुनेछ ।

अपराह्न ३ बजे प्रधानमन्त्री कोइरालाले दोस्रो चीन–दक्षिण एसिया प्रदर्शनीको समुद्घाटन समारोहमा सरिक हुनुुहुने र समुद्घाटनपछि प्रमुख वक्ताका रूपमा समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि प्रधानमन्त्री कोइरालासँग बिहीबार युनान प्रान्तका गभर्नर ली जिहाङ र युनान प्रान्तका चिनियाँ कम्युनिस्ट पार्टीका सचिव किन गुनेरोङले भेट गर्नुभएको थियो ।

प्रधानमन्त्री कोइरालाको सम्मानमा गभर्नर जिहाङले बिहीबार साँझ आयोजना गर्नुभएको रात्रिभोजमा पनि उहाँ सरिक हुनुभएको थियो ।

दुई दिवसीय भ्रमण पूरा गरी प्रधानमन्त्री कोइराला आजै निर्धारित कार्यक्रमअनुसार अपराह्न १८ः२० बजे स्वदेश फर्कंदै हुनुहुन्छ ।

उहाँ कुन्मिङमा आयोजित दोस्रो चीन–दक्षिण एसिया प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुन बिहीबार विशेष विमानबाट कुन्मिङ प्रस्थान गर्नुभएको थियो ।