काठमाडौँ, २१ जेठ । चीनको युनान प्रान्तको कुन्मिङमा यही जेठ २३ देखि २७ गतेसम्म हुने दोस्रो चीन–दक्षिण एसिया व्यापार मेलाको उद्घाटन समारोहमा सहभागी हुन बिहीबार प्रधानमन्त्री सुशील कोइराला त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
दक्षिण एसिया र दक्षिया पूर्व एसियाका नेताहरू सहभागी हुने उक्त उद्घाटन समारोहमा प्रधानमन्त्री कोइरालाले ‘सम्मानको अतिथि’का रुपमा सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसपछि प्रधानमन्त्री कोइरालाले मेलामा बनाइएको नेपाली कक्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कुल ८० वटा स्टल रहने उक्त कक्षमा निर्यात हुने नेपाली उत्पादनहरू राखिनुका साथै नेपाली वस्तु, संस्कृति र पर्यटनबारे सूचना प्रवाह गर्ने व्यवस्था गरिएको छ । नेपाली सांस्कृतिक टोलीले मेलामा एक सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्नेछ ।
त्यहाँ रहँदा प्रधानमन्त्री कोइरालाले चीनका उपप्रधानमन्त्री वाङ याङलगायत विभिन्न देशबाट आएका आफ्ना समकक्षीहरूसँग भेटघाट गर्नुहुनेछ ।
नेपालले नवौँ चीन–दक्षिण एसिया व्यापारिक मञ्चको अध्यक्षता ग्रहण गरेकाले नेपाल उद्योग वाणिज्य महासङ्घले प्रतिष्ठित नेपाली उद्यमीहरू सम्मिलित एक बेग्लै प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछ ।
युनानको प्रान्तीय सरकार र चीनको वाणिज्य मन्त्रालयद्वारा संयुक्तरुपमा आयोजना गरिने यो व्यापारिक मेलामा दक्षिण एसिया र दक्षिणपूर्व एसियाका ४६ राष्ट्रहरूको सहभागिता रहने थाहाभएको छ ।
प्रधानमन्त्री कोइराला जेठ २३ गते काठमाडौँ फर्कनुहुनेछ ।
नेपाली प्रतिनिधिमण्डलमा वाणिज्य तथा आपूर्तिमन्त्री, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, प्रधानमन्त्रीका सल्लाहकारहरू, उच्चपदस्थ सरकारी अधिकारीहरू र चीनका लागि नेपाली राजदूत सम्मिलित छन् ।
















प्रतिक्रिया