२८ आश्विन २०८३, बुधबार

क्रिकेटमा अन्यौल भएपछि पुबुदु दासानायके घर फर्कदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pubudu-dasanaike

काठमाडौं, २१ जेठ। राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके आफ्नो पदावधि थपिने वा नथपिने भन्ने अन्योलबीच बुधबार क्यानडा जाने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले पनि उनका लागि एकतर्फी टिकटको मात्र व्यवस्था गरेको छ। अब उनी नेपाल नर्फकने सम्भावना बढेको छ।

क्यानको आन्तरिक विवादका कारण उनको कार्यकाल थपिने वा नथपिने भन्ने अन्योल छ। यसअघि थपिएको कार्यकाल यही जुन अन्त्यमा सकिँदैछ। कार्यकाल थप्न आर्थिक विषयमा कुरा नमिलेको बताउँदै आएको क्यानले उनलाई फिर्ता नबोलाउने मनसाय बनाएको बुझिएको छ।

क्यानका महासचिव अशोकनाथ प्याकुरेलले पनि प्रशिक्षक दासानायकेले मागेको (१२ हजार अमेरिकी डलर बराबर) सुविधा क्यानले दिन नसक्ने तर्क गरेका छन्। ‘दासानायकेसँग नयाँ सम्झौता गर्न मोटो रकमको व्यवस्था गर्नुपर्ने हुन्छ, त्यसका लागि हामीले स्रोत पनि खोज्नुपर्छ, क्यानको बोर्ड बैठकले जे निर्णय गर्छ त्यही हुन्छ’, प्याकुरेलले भने।

यसअघि क्यानले तीन महिना कार्यकाल थप्दा उनलाई मासिक आठ हजार अमेरिकी डलर प्रदान गर्ने गरेको थियो। महासचिव प्याकुरेलले दासानायकेलाई हटाउने क्यानको योजना नरहेको दाबी पनि गरेका छन्। ‘उहाँ छुट्टी मनाउन जान लाग्नुभएको हो। फर्कने दिनको टुंगो नलागेकाले टिकट नकाटिएको हो’, उनले भने।

क्यानले दासानायकेलाई थप एक वर्ष राख्ने मौखिक सहमति गरे पनि लिखित निर्णय गरेको छैन। नेपाललाई पहिलोपटक टीट्वेन्टी विश्वकप खेलाएका दासानायकेले भने आफू नेपाल फर्कने वा नफर्कने विषय क्यानको निर्णयमा भर पर्ने बताए। ‘म विश्रामका लागि क्यानडा फर्कन लागेको हुँ। क्यानले सम्झौताका लागि बोलाउँछ भने आउँछु, नभए मेरो काम छैन’, उनले भने, ‘एसीसी प्रिमियर लिगबाट फर्किएपछि हामी फुर्सदमा थियौं। क्रिकेट विकासको योजना बनाउने र त्यसलाई लागू गर्ने, यो उपयुक्त अवसर थियो, तर त्यसका लागि उपयुक्त वातावरण भएन।’

सन् २०११ मा दासानायके प्रशिक्षकमा नियुक्त भएपछि नेपाली क्रिकेटले उल्लेख्य फड्को मारेको छ। यसबीचमा नेपालले टीट्वेन्टी विश्वकपसँगै पहिलोपटक एकदिवसीय विश्वकपको छनोट चरण पनि खेल्यो। तर पछिल्ला दिनमा क्यानभित्रको आन्तरिक विवाद, राष्ट्रिय खेलाडीको असन्तुष्टिजस्ता विषयका कारण दासानायके पनि विवादमा मुछिए।

खासगरी राष्ट्रिय खेलाडी क्यानविरुद्ध आन्दोलनमा उत्रिएका बेला दासानायकेले खेलाडीको समर्थन गरेको आरोप उनीमाथि लगाइएको थियो। सोही कारणले पनि क्यान उनीप्रति खासै सकारात्मक देखिँदैन। क्यानले दासानायकेमाथि खेलाडीको समर्थन गरेको आरोप लगाउँदै आए पनि खेलाडीले भने राम्रो नतिजा दिइरहेका कारण प्रशिक्षकलाई नेपाल छोड्न बाध्य बनाउन नहुने बताउँदै आएका छन्।

क्यानमा देखिएको अध्यक्ष टंक आङ्बुहाङ र महासचिव प्याकुरेल समूहबीचको विवादका कारण पनि दासानायकेको पदावधि थप गर्ने विषय ओझेलमा परेको हो। महासचिव प्याकुरेलले भने क्यान पदाधिकारीको आपसी विवादका कारण प्रशिक्षकको विषयलाई कुनै असर नपर्ने दाबी गरेका छन्।

नेपालले यस वर्ष पनि एकदिवसीय विश्वकप छनोट चरणमा पुग्नका लागि खेलिने आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन तीन खेल्दैछ। यसैगरी नेपालले एसीसी च्याम्पियनसिप र टीट्वेन्टी विश्वकप छनोट चरणका लागि पनि तयारी गर्नुपर्ने अन्नपूर्ण पोष्टमा खबर छ ।