काठमाडौँ, १९ जेठ । काठमाडौंमा सडकको डोरी क्रस गरेको विषयलाई लिएर सामाजिक सञ्जालहरुमा व्यापक विरोध भएपछि गृहमन्त्री वामदेव गौतमले पहिलोपटक मुख खोलेका छन् ।
उपप्रधान एवम् गृहमन्त्री गौतमले सोमबार विज्ञप्ति जारी गरी जेठ ११ गते काठमाडौँको रत्नपार्कमा बाटो काट्ने नियमित स्थानबाट बाहेक अन्यत्रबाट बाटो काटेको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरूमा आफनो ध्यानाकर्षण भएको बताएका हुन् ।
गृहमन्त्रीले स्पष्टीकरण दिँदै भनेका छन्, ‘उक्त दिन काठमाडौँ क्षेत्र नं. २ को उपनिर्वाचनको उम्मेदवारी दर्ता गर्न जाने क्रममा नेकपा (एमाले) का नेता तथा कार्यकर्तासहितको जुलुस रत्नपार्क पुगेको थियो । जुलुसका कारण यातायात अवरुद्ध भएको थियो । म पनि उम्मेदवारी दर्ता गर्ने समयमा उपस्थित हुने उद्देश्यले सोही बाटो जाँदै थिएँ । शान्ति बाटिका, गणेशमान सिंह सालिकबाट बाटो अवरुद्ध गर्दै उम्मेदवारी दर्ता गर्न जुलुस अगाडि जान लागेको थियो । उक्त जुलुस नेकपा (एमाले)का नेता तथा कार्यकर्ताको भएको हुँदा सुरक्षाकर्मीबाट बाटो खुलाउनु भन्दा आफैँले पहल गर्दा सहज हुने देखि सो ठाउँमा छिटो पुग्न बाटो काटेको हुँ, कुनै पनि रुपमा सवारीसम्बन्धी नियम उल्लङ्घन गर्ने उद्देश्य राखेको होइन’
“मेरो सो कामबाट सवारी आवागमनमा कुनै किसिमको असुविधा पुगेको छैन, तथापि मेरो उक्त कार्य तत्कालीन सन्दर्भलाई अलग गरेर हेर्ने हो भने सोभनीय भएन की भन्ने कुरा मैले पनि महसुस गरेको छु ।’, गृहमन्त्रीले कमजोरी समेत स्वीकार्दै चेतावनी दिएका छन् – ‘तर यस्तो सामान्य कुरालाई अतिरञ्जित गर्ने र सामाजिक सञ्जालहरूमा मलाई अपमानित गर्ने वा गाली गलौज गर्ने जुन प्रवृत्ति देखिएको छ, यो कदापि स्वीकार्य छैन ।’
आफनो क्रियाकलापको बारेमा कुनै चर्चा गर्दा व्यक्तिगत स्वतन्त्रताको पनि सम्मान हुनुपर्ने गृहमन्त्रीको विज्ञप्तिमा उल्लेख छ । साथै, एउटा सामान्य कुरालाई अनावश्यकरुपमा अतिरञ्जित नगर्न देश विदेशमा रहेका नेपाली र पत्रकार वर्गलाई गृहमन्त्री गौतमले अनुरोध गरेका छन् ।
गृहमन्त्री गौतमले डोरी नाघेर बाटो काटेको तस्वीर नयाँ पत्रिका दैनिकमा छापिएपछि सामाजिक सञ्जालमा उनको चर्को विरोध भएको थियो । यही तस्वीरका विषयमा गृहमन्त्रीलाई गालीगलौज गर्दै फेसबुकमा कमेन्ट गर्ने सिरहाका सरकारी कर्मचारी राजु साह अहिले प्रहरीको हिरासतमा छन् । उनीमाथि विद्युतीय कारोबार ऐनमा प्रहरीले मुद्दा चलाएको छ ।
















प्रतिक्रिया