सुन्दरीजल, १९ जेठ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सुन्दरीजलको ट्रिटमेन्ट प्लान्ट जीर्ण भएर काम नगर्ने अवस्थामा पुगेको छ ।
विसं २०२३ मा निर्माण भएको यो ट्रिटमेन्ट प्लान्टमा ४८ वर्षे अवधिमा सानातिना मर्मत मात्र गरेर जे छ त्यहीअनुसार चलाउँदै आएकाले जीर्ण भएर काम नगर्ने अवस्थामा पुगेको लिमिटेडका सुन्दरीजल प्रमुख वसन्त पालले बताउनुभयो ।
दैनिक २१ मिलियन लिटर पानी सुन्दरीजलमै प्रशोधन गरेर वितरण गरिन्छ भने २६.५ मिलियन लिटर पानी पाइपबाट महाँकालचौर शाखा लगेर प्रशोधन गरिन्छ ।
प्रशोधित पानी वर्षायाममा निरन्तर पठाइने र सुक्खायाममा दैनिक चार–पाँच घण्टा र अझ पानीको सतह घटेका बेलामा दैनिक दुई–तीन घण्टा पानी निर्यात गरिने गरेको पनि लिमिटेड सुन्दरीजल प्रमुख पालले जानकारी दिनुभयो ।
सुन्दरीजलबाट पानी लगिएका फलामका २० इन्चका दुई वटा पाइप पनि जीर्ण भएर ठाउँठाउँमा पानी चुहिने समस्यासमेत रहेको छ । “सुन्दरीजलका पानी खोल्ने र बन्द गर्ने ठूलाठूला भल्भहरू नै जीर्ण भएका छन्”– लिमिटेडका प्रवक्ता मिलनकुमार शाक्यले भन्नुभयो ।
खानेपानीका संरचनालाई रासायनिक पदार्थले खाएर जीर्ण बनाउने र पाइपमा खिया लाग्ने समस्या रहेको पनि प्रवक्ता शाक्यको भनाइ छ । विसं “२०३३ देखि सानातिना मर्मत गर्दै काम चलाउँदै आएका थियौँ, अब त ठूलै मर्मत गर्नुपर्ने भइसकेको छ”– उहाँले भन्नुभयो ।
मुख्य पानीको स्रोत रहेको सुन्दरीजलका संरचना जीर्ण हुँदा पानी प्रशोधन र वितरणमा असर पुगेको शाक्यले स्वीकार गर्नुभयो । जीर्ण भएका २० इन्चका दुई वटा पाइप भने मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयलाई फेर्ने जिम्मेवारी दिइएको पनि उहाँले बताउनुभयो ।
यो जीर्णतालाई छिट्टै पुनर्निर्माण गर्न सकिएमा सुन्दरीजलबाट निर्यात हुने पानी दैनिक हजारौँ लिटर बढ्ने उहाँले भन्नुभयो ।













प्रतिक्रिया