इलाम, १९ जेठ । जिल्ला शिक्षा कार्यालय इलामको एक टोलीले पाठ्यपुस्तकको उपलब्धताका सम्बन्धमा जिल्लाका पुस्तक पसलको अनुगमन गरेको छ ।
जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीसहितको टोलीले आइतबार इलाम नगरपालिकाभित्रका एकदर्जन पुस्तक पसलको अनुगमन गरेको हो । विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन् वा छैनन्, पाठ्यपुस्तकको पर्याप्तता÷अपर्याप्तता सम्बन्धमा अनुगमन गरिएको जिशिअ पुरीले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा विद्यालयस्तरका पाठ्यपुस्तकमा मूल्य नखुलाइएको, गुणस्तरहीन कागजको प्रयोग, पाठ अदलबदलजस्ता गम्भीर त्रुटि भेटिएको छ । अधिकांश पुस्तक व्यवसायीले पुस्तकलगायत अन्य स्टेसनरीको समेत मूल्यसूची नटाँसी बिक्री वितरण गरिरहेको पाइएको छ ।
जिल्ला शिक्षा अधिकारी पुरीले भन्नुभयो “अनुगमनका क्रममा त्रुटि फेला पारेका छौँ । पाठ्यपुस्तक वितरण व्यवस्थापन जिल्ला अनुगमन समितिको बैठकमा राखेर कारबाहीका लागि सिफारिस गर्दछौँ ।”
अनुगमन टोलीले सरस्वती पुस्तक पसल, इलाम, भाञ्जा बुक्स एन्ड स्टेसनरी, तेह्रथुम पुस्तक पसल, मेची, आठराई, केएमसी, साझा प्रकाशन इलाममा अनुगमन गरेको हो । माध्यमिक तहको कक्षा ९ को नेपाली, अङ्ग्रेजी र जनसङ्ख्या तथा वातावरण शिक्षा पुस्तक जिल्लामा अपुग पाइएको जिशिअ पुरीले बताउनुभयो ।













प्रतिक्रिया