यमबहादुर बम
धनगढी, १८ जेठ । कपडाभित्रको अंग पनि देखिने (म्याजिक चस्मा) किनाइ दिने भन्दै ठगी गर्दै आएको एक गिरोह प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
ठगी गिरोहमा एक जना प्रहरी हवल्दारको समेत संलग्नता रहेको जनाइएको छ । सो गिरोहले म्याजिक चस्मा किन्न भनेर बोलाएका धर्मेन्द्रकुमार पाण्डेलाई होटलमा बन्धक बनाई यातना दिंदै गर्दा प्रहरीले पक्राउ गरेको छ ।
गिरोहका चार जनालाई जेठ १२ गते पक्राउ गरेको प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ । गिरोहको मुख्य योजनाकार एक युवतीसहित तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक रमेश पण्डितले पाण्डेयलाई कुटपिट गरी उनीसँग भएको रकम र एटिएम कार्ड लुटपाट गरी एटिएमको पिन नम्बर मागिरहेको अवस्थामा पक्राउ गरिएको बताए ।
घटनामा संलग्न कञ्चनपुरको बेलौरी गाविस–४ का विक्रम चन्द, पीडितलाई धम्क्याउने र इलाका प्रहरी कार्यालय मसुरियामा दरबन्दी भई इलाका प्रहरी कार्यालय लम्कीमा कार्यरत प्रहरी हवल्दार दिपकबहादुर सिंह, कञ्चनपुरको त्रिभुवनबस्ती गाविस–२ का रामप्रसाद उपाध्याय र धनगढी नगरपालिका–३ विशालनगरका व्यापारी राजन भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।
कञ्चनपुरको लक्ष्मीपुर गाविस–४ मा घर भएका प्रहरी हवल्दार सिंह विदा नलिई ड्युटीबाटै भागेका र म्याजिक चश्माको हल्ला फैलाउने भूमिका निर्वाह गरेको प्रहरीले लगाएको छ ।
हवल्दार सिंहले ठग्ने योजना बनाएको, पीडितलाई फोन गरेर बोलाएको र आफूसँग म्याजिक चश्मा रहेको भन्दै तर्साउने गरेको बताइएको छ । उपाध्यायले पाण्डेलाई कुटपिट गरेको, भट्टले होटलमा कोठा खोज्ने र म्याजिक चश्मा भनि मानिसलाई झुक्याउन कालो टेपले बेरेर बनाएको नक्कली चश्मा राखेको अभियोग प्रहरीले लगाएको छ । प्रहरीले हलबल्दारलाई निलम्बन गरी अपहरण तथा शरीर बन्धक मुद्दा अगाडि बढाएको छ । फरार अभियुक्तहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
महोत्तरी जिल्लाको महोत्तरी गाविस ३ का पाण्डेलाई हवल्दार सिंह सहितको टोलीले १० लाखमा म्याजिक चश्मा उपलब्ध गराई दिने भन्दै धनगढीमा रहेको नेपाल टपटाईगर गेष्टहाउस को १०८ नम्बर कोठामा बोलाएर मोलमोलाई गरेका थिए ।
त्यसबारे अग्रिम प्रहरीलाई जानकारी गराएर गएको सोमबार (जेठ १२ गते) टपटाईगर गेष्टहाउसमा गएका पाण्डेलाई फोल्ड गरी बाहिरबाट टेपले बेरेको चश्मा देखाएर यही हो म्याजिक चस्मा यही भनेको र त्यस लगत्तै सिंह सहितको टोलीले पाण्डेसँग भएका बैंकका चारवटा एटिएम कार्ड नियन्त्रणमा लिई कुटपिट गरी पिन नम्बर माग्दैगरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पण्डितले पत्रकारलाई बताए ।
उनीहरूको खोजबिन भइरहेको छ प्रहरी नायव नायव उपरीक्षक पाण्डेले भने, फरार तीनै जनाबारे सबै कुरा थाहा भइसकेकोले दुई÷तीन दिनमै प्रहरी नियन्त्रणमा आउनेछन् ।
पक्राउ परेकाहरूको साथबाट एक हजार आठ सय २० भारतीय रुपैयाँ, सात हजार दुई सय २० नेपाली रुपैयाँ, विभिन्न बैंकका चार एटिएम कार्ड र कपडाले छोपिएको अदृष्य बस्तु पनि देखाउने भनि झुक्याउन प्रयोग गरिएको नक्कली चश्मा प्रहरीले बरामद गरेको छ ।
हवल्दार सिंहसहितको यो गिरोहले विभिन्न ब्यक्तिलाई आठदेखि १० लाख रुपैयाँसम्ममा म्याजिक चश्मा उपलब्ध गराई दिने भन्दै पैसा असुल्दै आएको प्रारम्भीक अनुसन्धानमा खुल्नआएको प्रहरीको भनाई छ । उनीहरूले खासगरि भारतीय नागरिकलाई ठग्ने गरेको र त्यसमा ब्यापारी घरानाका रहेको अनुसन्धानमा संलग्न प्रहरी नायव उपरीक्षक पण्डितले बताए ।
पक्राउ परेका चारैजनालाई कैलाली जिल्ला अदालतमा गत शुक्रबारै अपहरण तथा शरिर बन्धक बनाएको आरोपमा मुद्दा दायर गरिएको छ, भने थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए ।














प्रतिक्रिया