काठमाडौं, १८ जेठ । यसबर्षको गणेश उज्जन स्मृति पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकारहरु सम्मानित हुने भएका छन् ।
वरिष्ठ पत्रकार एवं साँघु साप्ताहिका सम्पादक गोपाल बुढाथोकी, अन्नपूर्ण पोष्ट दैनिकका यम विरही र रेडियो कान्तिपुरकी कमला पन्थीलाई यो पुरस्कार दिन लागिएको हो । पुरस्कारको राशि जनही ११ हजार १ सय ११ छ ।
गणेश–उज्जन स्मृति प्रतिष्ठानले अधिकारकर्मी एवं अधिवक्ता गोबिन्द बन्दी, कानुन पत्रकार मञ्चका अध्यक्ष डिल्ली आचार्य र प्रतिष्ठानका सदस्य अन्जनकुमार श्रेष्ठ रहेको छनौट समिति गठन गरेको थियो । समितिको आइतबार बसेको बैठकले दन्डहीनता र विधिका शासनका विषयमा निरन्तर कलम चलाउने तीन जना पत्रकारहरुलाई छनौट गरेको समितिका सदस्य डिल्ली आचार्यले बताउनुभयो ।
पुरस्कार आगामी असार १० गते काठमाडौंमा विशेष कार्यक्रम गरी वितरण गरिनेछ ।
ओखलढुंगाको पोकली गाविसका उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते व्यक्तिगत रिसइबीका आधारमा हत्या गरिएको थियो । हत्यारालाई कारबाही गराउन प्रहरीमा उजुरी दिएका उज्जनका दाजु गणेशकुमार श्रेष्ठलाई पनि छोरीकै अगाडि गोली ठोकी हत्या गरिएको थियो । आफ्नै आँखा अगाडि बाबुको हत्या सहन नसकी छोरी रचना श्रेष्ठले पछि आत्महत्या गरेकी थिइन् ।
पीडित परिवारका तर्फबाट उज्जनकी दिदी सावित्री श्रेष्ठले अहिले न्यायको लडाईंमा छिन् । हत्यामा संलग्न रहेका अभियोगमा सर्वस्वसहित जन्मकैद सुनाइएका पुष्कर गौतमलाई प्रहरीले केही साता अघि काठमाडौंबाट पक्राउ गरेको छ । तर, सोही मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद सुनाइएका एमाओवादी नेता बालकृष्ण ढुंगेललाई अहिले पनि राज्यले पक्राउ गरेको छैन ।














प्रतिक्रिया