२९ आश्विन २०८३, बिहिबार

चरा ठोक्किएपछि छ दिनमै थन्कियो नयाँ विमान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NA_20140630114756

काठमाडौँ, १६ असार । नेपाल वायु सेवा निगमको एमए ६० जहाज सोमबार बिहान विराटनगर विमानस्थलमा चरासँग ठोक्किएपछि ‘ग्राउन्डेड’ गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको जहाज सोमबार विहान ८ः२० मा अवतरणका क्रममा चरासँग ठोक्किएर दाँया पङ्खा (प्रोपेलर)मा क्षति पुगेको निगमका प्रवक्ता सरोज कसजुले जानकारी दिनुभयो ।

कसजुले भन्नुभयो– “अवतरणका क्रममा पङ्खामा चरा ठोक्किँदा जहाज ग्राउन्डेड भएको छ, हामीले जहाज निर्माता कम्पनी एभिक एभिएसनलाई जानकारी गराएका छौं । पङ्खा फेर्न कम्तीमा एक साता लाग्ने छ ।”

विराटनगर विमानस्थल वरपर फोहरका कारण चराको सङ्ख्यामा वृद्धि भएको उहाँको भनाइ छ । पङ्खा फेर्न चिनियाँ प्राविधिक र सामान समेत मगाउनु पर्ने भएकाले एक साताको समय लाग्ने बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन बमोजिम निगमले सो जहाजबाट यही असार ११ गतेदेखि व्यावसायिक उडान भर्न सुरु गरेको थियो । पहिलो चरणमा सातामा १५ उडान गर्ने प्रतिवद्धता जनाएको निगमको सो जहाज ग्राउन्डेड भएपछि निगमको नयाँ जहाज चढ्ने प्रतीक्षामा रहेका यात्रु भने निराश भएको निगमको भनाइ छ ।