२९ आश्विन २०८३, बिहिबार

माधव नेपाल अध्यक्ष भए पार्टी असफल हुने ओलीको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-oli

काठमाडौँ, १५ असार । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले १५ वर्षसम्म नेतृत्वमा रहेका नेता पार्टीको अध्यक्ष भए पार्टी असफल हुने चेतावनी दिनुभएको छ ।

एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ६३ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनद्वारा आइतवार राजधानीमा आयोजित ‘जनताको बहुदलीय जनवाद र नेतृत्व हस्तान्तरण’ विषयक विचारगोष्ठीमा नेता ओलीले यस्तो चेतावनी दिनुभएको हो । पार्टी जीवनको लोकतान्त्रिकरणका लागि नेतृत्व हस्तान्तरण हुनुपर्ने उहाँको दाबी थियो ।

वरिष्ठ नेता माधवकुमार नेपालप्रति लक्षित गर्दै नेता ओलीले प्रश्न गर्नुभयो, ‘१५ वर्षसम्म नेतृत्व गरेर असफल भएर पार्टी धसाएर (पहिलो संविधानसभा निर्वाचनमा पराजय पछि) बीचमा राजीनामा दिएका नेताले नयाँ अभिभारा पूरा गर्न सक्दैनन् ।’

नेता ओलीले एमालेको आशन्न नवौं महाधिवेशन केवल कर्मकाण्डी मात्र नहुने र यसले मुलुकको आर्थिक–सामाजिक रूपान्तरण गर्ने अभिभारा पूरा गर्ने नीति र नेतृत्व चयन गर्न महाधिवेशन कोशेढुङ्गा सावित हुने दाबी गर्नुभयो ।

पार्टीका उपाध्यक्ष वामदेव गौतमले नेता ओलीलाई यसपटक अध्यक्ष बनाउनु न्यायोचित हुने भन्दै त्यसपछि नेतृत्व हस्तान्तरण हुने धारणा राख्नुभयो ।

महासचिव ईश्वर पोखरेलले नेता ओली सर्वसम्मत अध्यक्ष बन्नुपर्ने धारणा राख्नुभयो । उपाध्यक्ष विद्यादेवी भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिवहरू विष्णु पौडेल र शङ्कर पोखरेलले पनि नेतृत्व हस्तान्तरणको महत्वबारे वोल्नुभएको थियो । सो कार्यक्रममा पुराना बाम नेता मोहनचन्द्र अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रदिप ज्ञवाली र भेषराज अधिकारीद्वारा सम्पादित नेता ओलीका विचारहरूको सङ्ग्रह ‘जबज र पार्टी जीवनको लोकतान्त्रिकरण’, मुकुन्द न्यौपानेद्वारा लिखित ‘मदनसँगको सहयात्रा’, टीका भण्डारीद्वारा संयोजित गीति एल्बम ‘मदन’ कृतिको विमोचन गरिएको थियो ।