काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले शनिबार राजधानीमा गरेको उम्मेदवारी घोषणा सभामा केही नेताहरु सेलिब्रेटी झैं देखिए ।
कार्यक्रमको अध्यक्षता गर्ने क्रममा सुरुवाती भाषण गर्न पुगेका युवा नेता योगेश भट्टराईलाई कार्यकर्ताले तालीले भव्य स्वागत गरे । भट्टराईको बोलीमा हल पूरै तालीमय भएको थियो ।
त्यसपछि आएका युवा नेता राजेन्द्र राईले पनि कार्यकर्ताको ताली पाए । उनले सैद्धान्तिक कुरा भन्दा पनि आफ्नो मन्तव्य माधव नेपालको प्रसंसामा खर्चिए । माधव नेपालले नै पार्टी बचाएको भन्दै राईले भावकुताको आधारमा नेतृत्व चयन गर्न नहुने बताए ।
माधव नेपालकै पालामा २०५१ सालमा एमाले ठूलो पार्टी बनेको, २०५४ सालमा पनि स्थानीय निकायमा माधव नेपालले नै पार्टीको नेतृत्व गरेको, गणतान्त्रिक आन्दोलनको नेतृत्व माधव नेपालले नै गरेको राइको कथन थियो । नेपालले राजीनामा दिएर नैतिकता देखाएको उदाहरण प्रस्तुत गर्दै राईले मदन भण्डारीको नेतृत्वमा लड्दा एमालेले २०४८ मा हार खाएको र २०६४ मा गिरिजाप्रसादको नेतृत्वमा लड्दा काँग्रेसले समेत हार व्यहारेको स्मरण गर्न आग्रह गरे ।
कार्यक्रमको संचालन गरिरहेका युवा नेता ठाकुर गैरेले युवा नेता गोकर्ण विष्टको नाम लिनासाथ हलमा तालीको गडगडाहट सुरु भयो । निकै शालिन रुपमा प्रस्तुत भएका विष्टले प्रतिस्पर्धा गर्दा एउटै पार्टीभित्रै छौं भन्ने मर्यादा भुल्न नहुने बताए ।
अर्का नेता सिद्धिलाल सिंह पनि सेलिब्रेटी सावित भए । नेता सिंहले नेता केपी ओलीलाई कडा कटाक्ष गरेका थिए । सिंहले ओलीलाई लक्षित गर्दै भने, ‘सिसाको दराजमा मान्छे राखेर पार्टी चल्दैन ।’
युवा नेता जगन्नाथ खतिवडाले त झन् माधव नेपाललाई ब्रान्डेड मालको संज्ञा दिए । ‘टेस्टेड र ब्रान्डेड माल भएकाले माधव नेपाल नै अध्यक्ष उपयुक्त छन् । सदाचारी, नैतिकवान र युवालाई भ्रष्टीकरणमा नधेल्ने युवाको नाम माधव नेपाल हो ।’– खतिवडाले भने ।
केन्द्रीय सदस्य परशुराम मेघी गुरुङले पनि नेता अोलीलाई कटाक्ष गरे । ‘दक्षिणतिर लभ परेको, उत्तरतिर समस्या रहेको नेता होइन, नेपाली जनतासँग लभ परेको नेता चाहिएको छ । सबैजाति भाषा, सबै बामपन्थी, सबैले स्वीकार्ने नेता माधव नेपाल हो ।’ उनले भने ।
नेता राजेन्द्र पाण्डेले त झन माधव नेपाललाई परिपक्व पाइलटको संज्ञा दिए । ‘बिचारमा स्पष्ट, समन्वयकारी, संयोजनकारी, शारिरीक रुपमा स्वस्थ, योग्य पाइलट माधव नेपाल हुन् ।’ उनले भने ।
सचिव युवराज ज्ञवालीले माधव नेपालको रहर पूरा गर्न नभइ पार्टी र मुलुकको आवश्यकताले उनलाई अगाडि सारिएको बताए । पार्टीका अहिलेको पहिलो पुस्ताका नेतामा नेपाल सबैभन्दा योग्य भएको उनको कथन थियो । ‘जीवनभरि गुटबन्दी गर्ने नेता पार्टीको नेता हुन सक्दैन, देशको नेता त परै जाओस ।,’ नेता ज्ञवालीले भने, ‘अहिले पार्टीको नेता मात्रै होइन, देशको नेता आवश्यक छ ।’
अहिले प्रत्येक व्यक्तिको मुल्यांकन गर्ने र सम्पत्ति छानबिन गर्ने बेला ज्ञवालीले बताए ।
नेता भीम रावलले स्वाधीन, सम्पन्न मुलुकको प्रतिनिधित्व माधव नेपालले मात्र गर्न सक्ने बताए ।
यसैगरी, महासचिवका आकांक्षी एमाले पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डेले ‘आलोपालो गरेर एडभान्स बुकिङ गरेर प्रालि जसरी’ पार्टी चल्न नसक्ने बताए ।
ओली पक्षधर नेताहरु वैचारिक रुपमा अल्पमतमा परेको भन्दै उनले भने, ‘उनीहरु वैचारिक रुपमा अल्पमतमा परेका छन् । तिनलाई पनि समेटेर जाने खुबी माधव नेपालसँगमात्र छ ।’
नेतृ अष्टलक्ष्मी शाक्यले गणतान्त्रिक आन्दोलनको नेतृत्व गरेकाले समृद्धिको नेतृत्व पनि माधव नेपालले गर्नुपर्ने बताइन् ।
नेता रघुजी पन्तले नेपालको स्वाभिमानलाई उच्च बनाउन माधव नेपालकै आवश्यकता रहेको बताए ।
सबैको कुरा सुनिसकेपछि अध्यक्षमा उम्मेदवारी घोषणा भइसकेपछि नेता नेपालले गुटको नभइ आफू पार्टीको नेता बन्न चाहेको बताए । विधानले पदाधिकारीको स्पष्ट किटान गरि नसकेकालले प्यानल घोषणा गर्ने परिपक्व स्थिति नआएको उनको भनाइ थियो । नयाँ व्यवस्था के हुन्छ भन्ने स्पष्ट भइसकेपछि टिम घोषणा हुने नेपालको भनाइ थियो ।
नेता नेपालले नेतृत्व हस्तान्तरणका लागि आफू तयार रहेका बताए ।
‘म सहमतिका लागि तयार छु, पार्टीमा दोस्रो पुस्ताबाट नेतृत्वका लागि भरपर्दा नेता तयार भइसकेका छन्, यो पंक्ति सैद्धान्तिक, राजनीतिक, सांगठानिक, वैदेशिक तथा कुटनीतिक क्षेत्रमा सुझबुझ र दक्षताको क्षेत्रमा हामी पहिलो पुस्ता भन्दा कुनै हिसाबले कमजोर छैन ।’, नेता नेपालले भने, ‘त्यसैले हामी पहिलो पुस्ताका नेता सक्रिय छँदै पार्टीको नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गरौं भन्ने मेरो पहिलो प्रस्ताव हो ।’
काठमाडौंको प्रज्ञा भवनमा भएको कार्यक्रममा कार्यकर्ताको खचाखच थियो । हलभित्र बस्ने ठाउँ नहुँदा कतिपय कार्यकर्ता बाहिरै परे । नयाँ नेतृत्वको दौडमा रहेको माधव नेपालले समूहले शनिबारको कार्यक्रमलाई शक्ति प्रदर्शनका रुपमा समेत लिएको छ ।














प्रतिक्रिया