काठमाडौं, १६ जेठ । निर्वाचन आयोगले काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलको सरुवा रोकिदिएको छ ।
निर्वाचन आयोगमा शुक्रबार प्रमुख निर्वाचन आयुक्तसहित पाँचै पदाधिकारीको बैठकले तीन घन्टासम्म छलफल गरी एक मतले सरकारलाई रमेश खरेलको सरुवा सहमति नदिने निर्णय गरेका हुन्। प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती तथा आयुक्तहरु अयोधीप्रसाद यादव र इला शर्मा सुरु देखि नै खरेलको सरुवाका लागि अनुमति दिन नहुने पक्षमा थिए । असार ८ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भएकाले खरेलको सरुवा रोकिएको निर्वाचन आयोगले जनाएको छ ।
खरेलको सरुवालाई अनुमति दिने या नदिने भन्ने विषयमा छलफल गर्न आयोगले पूर्ण बैठक बोलाएको थियो । यसअघि बुधबार बोलाइएको आचारसंहिता समितिको बैठक समेत निष्कर्षविहीन बनेको थियो । आचारसंहिता अनुगमन समितिका सदस्यहरु सरुवाका विषयमा विभाजित भएपछि गृहमन्त्रालयले पठाएको पत्र निर्वाचन आयोगको पूर्ण बैठकमा पेश भएको हो ।
गृहसचिव सूर्य सिलवालले सरुवाका लागि अनुमति माग गरेर मंगलबार आयोगमा पठाएको पत्रमा खरेललाई सरुवा नगरिए काठमाडौं २ को उपनिर्वाचन प्रभावित हुने जिकिर गरिएको थियो । तर, गृहको दाबीमा पर्याप्त आधार नभएको आयोगको निष्कर्ष छ ।
अगामी असार ८ गते हुने संविधानसभा उपनिर्वाचनको आचारसंहिता लागू भइसकेका कारण गृह मन्त्रालयले सरुवाका लागि निर्वाचन आयोगको पनि सहमति लिनुपर्छ । अत्यावश्यक अवस्थामा सरुवा गर्न सकिने भएपनि गृहले कमजोर कारण देखाएर सरुवा गर्न खोजेको निर्वाचन आयोगले जनाएको छ ।
https://www.youtube.com/watch?v=C1hl8LxXe_I
प्रहरीका डीआइजीहरु एआइजीमा बढुवा हुन पैसाको ब्रिफकेस बोकेर नेताको घरदैलोमा जाने गरेको बताएपछि खरेल विवादको शिखरमा छन् । सोहीकारण देखाउँदै प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उनलाई काठमाडौं प्रहरी प्रमुखबाट हटाउन खोजेको हो ।
खरेलको सरुवा रोकिएपछि गृहमन्त्री बामदेव गौतमलाई ठूलो धक्का लागेको छ ।यसअघि सँधै खरेलको बचाउ गर्दै आएका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल पनि पछिल्लोपटक खरेललाई कारबाही गनुपर्ने पक्षमा उभिएका थिए ।
के बोलेका थिए खरेलले ? हेर्नुस यो भिडियो:














प्रतिक्रिया