२९ आश्विन २०८३, बिहिबार

नारी सर्जक बढेकोमा प्रधानमन्त्री खुशी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

susilकाठमाडौँ, १६ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले शैक्षिक र चेतनाको स्तरमा आएको गुणात्मक परिवर्तनसँगै नेपाली भाषा साहित्यको साधना गर्ने नारी सर्जकहरुको संख्यामा पनि वृद्धि भएको बताउनुभएको छ ।

त्रिमूर्ति निकेतनद्वारा राजधानीमा आयोजित विश्व नारी नेपाली साहित्य सम्मेलनको शुक्रवार  उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले नारी स्रष्टा र साहित्य सर्जकहरुको सम्मानका लागि सरकार क्रियाशील रहेको  बताउनुभयो ।

उहाँले झन्डै दुई शताब्दी अघिदेखि आरम्भ भएको नेपाली साहित्य र सिर्जना आज विश्वभर फैलिएको तथा संसारका विभिन्न भागमा पुगेका नेपाली स्रष्टाहरुले विदेशी भूमिमा पनि सिर्जनशीलतालाई कायम राखी नेपाली साहित्यलाई ठूलो गुन लगाएको चर्चा गर्नुभयो ।

उहाँले संविधान बन्छ बन्दैन भन्ने चिन्ता अहिले देखिएको भए पनि तोकिएको समयमै सङ्घीय लोकतान्त्रिक संविधान तयार हुने धारणा दोहो¥याउनुभयो ।

“लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकमा शान्ति, स्थिरता र विकास गर्नुपर्छ, त्यसको लागि लोकतान्त्रिक संविधान तोकिएकै समयमा बनाउन हामी सफल हुन्छौँ,” प्रधानमन्त्री कोइरालाले भन्नुभयो ।

उहाँले शान्ति र राजनीतिक स्थिरता कामय गर्नसके आठ दश वर्षमै मुलुकले विकासको नयाँ फड्को मार्ने बताउँदै विचार र प्राकृतिक स्रोत साधनमा धनी रहेको नेपालको विकासको लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री वामदेव गौतमले भाषा, साहित्यको समृद्धिले राष्ट्रको पहिचानलाई पनि समृद्ध बनाउँछ भन्दै साहित्यकारहरुको सम्मानले मात्र भाषा साहित्यको विकासमा योगदान पु¥याउने धारणा राख्नुभयो ।

उहाँले नारी साहित्यकारहरुको सङ्ख्यात्मकका साथै गुणात्मक वृद्धिले नेपाली साहित्यलाई विश्वभर फैलाउन योगदान दिएको धारणा राख्नुभयो ।

कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले साहित्यलाई सामान्यतया अनुत्पादक भनिए पनि यो मानिसको दिमागलाई क्रियाशील र ताजा तुल्याउने माध्यम भएको बताउँदै विश्वभर छरिएका नेपालीले नेपाली साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा उल्लेखनीय मद्दत गरेको धारणा राख्नुभयो ।

सो कार्यक्रममा प्रधानमन्त्री कोइरालाले डा वानिरा गिरीलाई ‘नेपाली साहित्यका विश्व नारी रत्नको’ सम्मान प्रदान गर्नुभयो । सो सम्मानमा नगद रु पाँच लाख र सम्मानपत्र रहेको छ । यसैगरी  कार्यक्रमस्थलबाट डा गिरीको सम्मानार्थ उहाँलाई रथारोहण गरी नगरको विभिन्न भागमा परिक्रमा गराइएको थियो । प्रधानमन्त्री कोइारालाले सो अवसरमा नारी स्रष्टा विषयका १४ कृतिको पनि लोकार्पण गर्नुभयो ।

बिहीबारदेखि सुरु भएको सो सम्मेलनमा पाँच महादेश, २० राष्ट्र र नेपालका चौध अञ्चलका नेपाली साहित्यका नारी स्रष्टाहरु गरी ३०० सङ्ख्यामा सहभागी रहेको त्रिमूर्ति निकेतनका संस्थापक नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो ।

सम्मेलनमा साहित्यकार एवम् भाषाविद्ले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने त्यसमा प्राज्ञिक समीक्षा गरिने जनाइएको छ । घोषणापत्र जारी गर्दै तीनदिने सम्मेलन शनिबार सकिनेछ ।