२९ आश्विन २०८३, बिहिबार

दुई हजार रुपैंयामा पढाउँदै शिक्षक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisaबागलुङ । जिल्लाको दुर्गम बोवाङ गाविस–९ स्यालपाखेमा रहेको ढोरबराह प्राथमिक विद्यालयमा एउटा पनि शिक्षक दरबन्दी छैन ।

विद्यालयलाई आवश्यक पर्ने भौतिक पूर्वाधार, शैक्षिक सामग्री तथा आन्तरिक प्रशासन सञ्चालनका लागि बजेटको कमीले विद्यालय दयनीय अवस्थामा पुगेको छ ।

चौतर्फी अभाव झेलिरहनुपर्दा विद्यालयको शैक्षिक स्थिति पनि खस्कँदै गएको विद्यालयले जनाएको छ । हालसम्म एउटा पनि शिक्षक दरबन्दी प्राप्त गर्न नसकेको विद्यालय स्थानीयको एकल सक्रियतामै जेनतेन सञ्चालन भइरहेको प्रधानाध्यापक भीमबहादुर श्रेष्ठले बताउनुभयो । विसं २०६१ मा स्थापना भएको विद्यालय स्थानीय जनसहभागिता र भएको सानोतिनो स्रोत परिचालन गरेर सञ्चालन गरिएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।

“दरबन्दी स्वीकृतिका लागि धेरैपटक पहल ग¥यौँ तर अहिलेसम्म जिल्ला शिक्षा कार्यालयले दरबन्दी दिन सकेको छैन”–प्रअ श्रेष्ठले भन्नुभयो । कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले ६० जना बालबालिका अध्ययनरत छन् । स्थानीयको आर्थिक जोहो र श्रमदानबाट तीनकोठे भवन बल्लतल्ल निर्माण भएपनि अन्य पूर्वाधारको अभाव रहेको विद्यालयले जनाएको छ । कक्षाकोठामा फर्निचरको व्यवस्था नहुँदा विद्यार्थीहरू काठमाथि बसेर पढ्न बाध्य छन् ।

कक्षाकोठादेखि विद्यालय प्रशासनमा समेत आवश्यक फर्निचरलगायत अन्य पूर्वाधार र सामग्रीहरूको अभाव रहेको प्रअ श्रेष्ठले बताउनुभयो । गरिब र विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने विद्यालयको अवस्था अत्यन्तै नाजुक छ । विद्यार्थीहरूले विद्यालय पोसाकसमेत लगाउन सक्ने आर्थिक हैसियत नरहेको शिक्षकहरू बताउँछन् । तीनजना शिक्षक अहिले अध्यापनरत छन् ।

शिक्षकलाई नियमित तबल खुवाउनसमेत कठिन भइरहेको विद्यालय प्रशासनले जनाएको छ । “स्थानीय सामुदायिक वन र अन्य सार्वजनिक स्रोतबाट आउने धरैथोरै रकमबाट विद्यालय धानिएको छ”–प्रअ श्रेष्ठले भन्नुभयो–“जिल्ला शिक्षा कार्यालयबाट कहिलकाहीँ मसलन्द खर्चबापत भनेर केही रकम प्राप्त हुने गरेको छ, त्योबाहेक कुनै प्रकारको सहयोग हामीले पाएका छैनौँ ।”

उहाँले शिक्षकले दुई हजारदेखि पाँच हजारसम्म तबल खाएर काम गरिरहेको बताउनुभयो । उक्त तलब पनि नियमित हुन सकेको छैन । “स्रोत भएका बेला तलब खाने र नभएका बेला कम तलब लिएर पनि हामीले पढाइरहेको छौँ”–प्रअ श्रेष्ठले भन्नुभयो–“सहयोगको भावनाले पनि हामी काम गरिरहेका छौँ, अत्यन्तै दयनीय अवस्थाबाट विद्यालय गुज्रिरहेको छ ।” जिल्ला शिक्षा कार्यालयको रु तीन लाख आर्थिक सहयोगमा विद्यालय परिसरमा शौचालय भने निर्माण भएको छ । त्यस्तै  एक लाख अनुदान सहयोग पनि जिल्ला शिक्षा कार्यालयले प्रदान गरेको विद्यालयले जनाएको छ ।

बोवाङमा अहिले पनि जिल्लामै सबैभन्दा बढी बालबालिका विद्यालयबाहिर छन् । गरिबी, सचेतनाको अभाव, भौगोलिक विकटतालगायत सामाजिक तथा आर्थिक कारणले बालबालिका विद्यालयको पहुँचमा पुग्न सकेका छैनन् ।