२९ आश्विन २०८३, बिहिबार

दुई लाख नगदसहित सरकारबाट वरिष्ठ पत्रकारहरु पुरस्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhadurbar

काठमाडौ । सरकारले २०७० सालको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकारहरुलाई सम्मान गरेको छ ।

पत्रकारहरु कवीर राणा तथा वरिष्ठ पत्रकार सम्मानबाट हरिहर विरही, अर्जुन ज्ञवाली र शम्भु श्रेष्ठलाई सम्मान गरिएको हो ।

स्वतन्त्र, निष्पक्ष र जनमुखी पत्रकारिताका माध्यमबाट देश, जनता, लोकतन्त्र र राष्ट्रको सर्वाङ्गिण विकासमा लामो समयदेखि योगदान पुर्‍याएबापत उहाँहरुलाई दुई–दुई लाख नगदसहितको यो पुरस्कार प्रदान गरिएको हो । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले बुधबार मन्त्रालयमा आयोजित एक समारोहमा सम्मानपत्रसहित पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा मन्त्री डा रिजालले स्वतन्त्र, निष्पक्ष र जिम्मेवारपुर्ण पत्रकारिताका माध्यमबाट पत्रकारले समाज र राष्ट्रको सर्वाङ्गिण विकासका लागि योगदान पु¥याउन सक्ने बताउनुभयो । उहाँले पुरस्कृत व्यक्तित्वहरु लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील रहनुभएको र उहाँहरुको योगदान एवम् क्रियाशीलता सबैका लागि अनुकरणीय रहेको धारणा व्यक्त गर्नुभयो ।

सञ्चार सचिव सुमन शर्माले पत्रकारले सामाजिक परिवर्तनको बाहक र विचार निर्माताको रुपमा राष्ट्रलाई योगदान दिन सक्ने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले वरिष्ठ एवम् अग्रज पत्रकारका साथसाथै युवा पुस्ताका पत्रकारलाई पनि सम्मान गर्नुपर्ने बताउनुभयो ।

पुरस्कृत व्यक्तित्व वरिष्ठ पत्रकार हरिहर विरहीले अधिनायकवादी व्यवस्थामा मात्र प्रेस र सरकारबीच शत्रुता रहने बताउँदै लोकतन्त्रमा भने दुवै पक्षबीच सहयोग, सहकार्यको वातावरण रहने गर्दछ भन्नुभयो ।

अर्का पुरस्कृत पत्रकार शम्भु श्रेष्ठले सामाजिक रुपान्तरण र लोकतन्त्रको लागि सञ्चारमाध्यमले योगदान पुर्‍याउन सक्ने बताउँदै अहिलेको मुलुकको समस्या समाधानका लागि पनि सञ्चार माध्यमले आफ्नो ध्यान केन्द्रित गर्नुपर्दछ, भन्नुभयो ।

पुरस्कृत पत्रकारहरु कविर राणाले साप्ताहिक पत्रिकाले खासगरी लोकतन्त्रको स्थापना र विकासका लागि महत्वपूर्ण देन दिँदै आएको धारणा राख्नुभयो । पुरस्कृत पत्रकार अर्जुन ज्ञवालीले अझै जिम्मेवार र सर्तकतासाथ काम गर्ने प्रेरणा सो पुरस्कारबाट प्राप्त भएको बताउनुभयो ।

पुरस्कार छनोट समितिका सदस्यहरु शिव गाउँले र यशोदा तिमिल्सिनाले पनि विचार अभिव्यक्ति तथा पत्रकारिताको क्षेत्रमा पुरस्कृत व्यक्तित्वले दिनुभएको योगदानको स्मरण गर्दै पुरस्कारको दायरालाई फराकिलो बनाउँदै लानुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा मन्त्री रिजालले सूचना विभागद्वारा प्रकाशन गरिएको नेपाल परिचयको अंग्रेजी संस्करणको विमोचन गर्नुभयो । पुस्तकको आवश्यकताका बारेमा विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले प्रकाश पार्नुभएको थियो ।