सुनसरी । पछिल्लो समयमा वैदेशिक रोजगारमा जाने पुरुष तथा महिलाको सङ्ख्या बढ्दै जाने क्रममा महिला हिंसाका घटनामा पनि वृद्धि हुन थालेका छन् ।
एक अध्ययनले सुनसरी जिल्लाका कुल जनसङ्ख्या सात लाख ६३ हजार ४७७ जनामध्ये ५० हजार २८१ जना वैदेशिक रोजगारका कारण विभिन्न मुलुकमा रहेका देखाएको छ ।
वैदेशिक रोजगारका सिलसिलमा विदेशिएका कुल जिल्लाको जनसङ्ख्यामध्ये ४३ हजार ३८१ जना पुरुष र छ हजार ८९४ जना महिलाको सङ्ख्या रहेको अध्ययनले देखाएको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले तथ्याङ्क उपलब्ध गराएको छ ।
वैदेशिक रोजगारमा जाने पुरुषका कारण महिला हिंसाका घटना बढ्दै जाने गरेको घटना पनि सार्वजनिक हुन थालेको बताइएको छ । कतिपय महिला घर परिवारबाट र आफ्नो श्रीमान् घर आएपछि हिंसामा पर्ने तथा कतिपय महिलाहरु आफ्नै कारणले परपुरुषसँगको संसर्गका कारणले पनि हिंसामा पर्ने तथा पारिवारिक स्थितिमा कटुता आउने कारणले पनि महिला हिंसाका घटना बढ्न थालेको जनस्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको जनस्वास्थ्य प्रमुख डा महेशप्रसाद खनालले बताउनु भयो ।
जिल्लाको समग्र स्वास्थ्य तथा जन्मदर्ता, मृत्युदर्ता र लैङ्गिक हिंसामा न्यूनीकरण गर्नका लागि सक्रिय रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले हिंसामा परेका महिलालाई सुरक्षित रुपमा उपचार सेवासँगै उनीहरुलाई सीपमूलक तालिम प्रदान गरेर स्वरोजगार सिर्जना गर्ने कार्यमा पनि जोड दिन थालेको प्रमुख खनालले उल्लेख गर्नुभयो ।
जनस्वास्थ्य कार्यालयले जनसङ्ख्यासम्बन्धी सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा नेपालमा अहिले पनि सहरतिर बसाइँसराइको अधिक चापकै कारणले जनसङ्ख्या व्यवस्थापन हुन नसकेको र राज्यले पनि सहरतिरको जनसङ्ख्या व्यवस्थापनमा चुस्न नीति ल्याई कार्यान्वयन गर्न नसकिरहेकाले समस्या झन थपिँदो क्रममा रहेको बताइएको छ ।
सोही कार्यक्रममा जनसङ्ख्या सम्बन्धी पछिल्लो तथ्याङ्क सार्वजनिक गर्नुहुँदै प्राध्यापक बिमल नेपालले यस जिल्लाबाट जसरी वैदेशिक रोजगारका लागि विदेशिएका छन् त्यसैगरी अन्य मुलुकबाट सुनसरी जिल्लामा आउन विदेशीको सङ्ख्या पनि बढ्दो क्रममा रहेको तथ्याङ्क सार्वजनिक गर्नुभएको छ ।
उहाँका अनुसार सुनसरी जिल्लामा छिमेकी मुलुक भारतबाट पाँच हजार ७५२ जना, चीनबाट ४१ जना तथा अन्य मुलुकबाट ८७० जना मानिस यस जिल्लामा आएर बसोबास गरिरहेको पाइएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
विदेशिन र विदेशबाट यस जिल्लामा आएर बसोबास गर्ने जनसङ्ख्या बढी रहेको सन्दर्भमा महिला हिंसाका घटना पनि अस्वभाविक रुपमा बढेको र यो वर्षमात्र त्यस्ता हिंसामा परेका ४० जनाले जनस्वास्थ्य कार्यालयबाट सेवा प्राप्त गरेको बताइएको छ ।
साथै यसै वर्ष जनस्वास्थ्य कार्यालयले सञ्चालनका ल्याएको एक महिने स्थायी बन्ध्याकरण कार्यक्रममा सहभागी हुन आएका एक हजार १८४ जनाले बन्ध्याकरण गरेकामध्ये त्यसमा एक जनामात्र पुरुष रहेकाले पनि यस्तो कार्यमा समेत महिलामाथि विभेद हुने गरेको बताइएको छ ।
बन्ध्याकरण गर्ने कार्यमा समेत पुरुषले महिलालाई नै दबाब दिने र पुरुषले काम गर्नुपर्छ भन्ने बहानामा महिलाकै बन्ध्याकरण गराउने गरेको तथ्य बाहिर आएको पनि उल्लेख गरेको छ ।













प्रतिक्रिया