मुम्बई । भारतका पन्ध्रौं प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले सोमबार शपथ लिए। मोदीको सपथ ग्रहण समारोहमा विशिष्ट व्यक्तिका रूपमा उपस्थित थिए, अमित शाह। भारतीय जनता पार्टी (भाजपा) का महासचिव शाह मोदीका राजनीतिक सल्लाहकार मात्र होइनन्, गुजरात क्रिकेट संघका उपाध्यक्ष पनि हुन्।
स्वयं मोदी पनि गुजरात क्रिकेट संघका अध्यक्ष थिए। मोदी सरकार आउनेबित्तिकै शाह भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को उपाध्यक्ष बन्ने पक्का भएको छ। निर्वाचनमा भाजपालाई अगाडि ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका शाह उत्तरप्रदेशमा खटिएका थिए। आगामी सेप्टेम्बरमा हुने वार्षिक बैठकपछि बीसीसीआईमा शाहको प्रवेशले मूर्त रूप लिनेछ।
मोदी सरकार र शाहको बीसीसीआई प्रवेशसँगै भारतीय क्रिकेटमा व्यापक परिवर्तन आउने विश्वास गरिएको अन्नपूर्ण पोष्टमा खबर छ । भारतीय क्रिकेटका लागि यी दुईको तालमेल ‘एक्स फ्याक्टर’ बन्ने अड्कल गरिँदै छ। मोदीले आफ्नो सरकार बन्ने निश्चित भएलगत्तै भारतीय खेलकुद र खेलाडीलाई विशेष महत्त्व दिएर सम्बोधन पनि गरिसकेका छन्। उनले खेलाडीको सुविधा र सुरक्षामा विशेष ध्यान दिइने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
अन्य खेलको तुलनामा भारतमा क्रिकेट खेलको लोकप्रियता, क्रिकेटरको सुविधा र सुरक्षाले निकै चर्चा पाउने गरेको छ। मोदीको आगमनले बीसीसीआईको संागठनिक स्वरूपमा समेत परिवर्तन आउने सक्ने अनुमान गरिएको छ। सन् २०११ मा बीसीसीआईका अध्यक्ष एन. श्रीनिवासनलाई सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा बर्खास्त गरेपछि क्रिकेटको सर्वोच्च संस्था यतिबेला अलमलको अवस्थामा छ।
एजेन्सी












प्रतिक्रिया