बाँके । प्रहरीले मुस्कान सहितको सेवा सुरु गरेकै दिन पत्रकारले प्रहरीको मुक्का खाएका छन् ।
मुस्कानसहितको प्रहरी सेवासम्बन्धी अनुशिक्षण कार्यक्रम सुरु भएकै दिन साझ चेकिङमा रहेका प्रहरीले नेपालगंजमा पत्रकार कुटेका हुन् ।
पुनरावेदन अदालत नेपालगन्जका मुख्य न्यायाधिश प्रकाश कुमार ढुंगानाले गत बुधबार कार्यक्रममको नेपालगंजमा उद्घाटन गरेका थिए । नम्र भएर सर्वसाधरणसग व्यवहार गर्नका लागि कार्यालय सहयोगिदेखि उच्च अधिकारीलाई एउटै थलोमा राखेर दुईदिनसम्म अनुशिक्षण सुरु गरिएको थियो । प्रहरीले मुस्कानसहित सेवा दिने भन्दै नेपालगन्जका पत्रकारहरूले आ–आफ्नो मिडियाबाट प्राथमिकता साथ समाचार प्रसारण/प्रकासन गरे । त्यसरी समाचार सम्प्रेषण गर्ने पत्रकार नै त्यही दिन साझ कुटिनुपरेपछि प्रहरीको मुस्कानसहितको सेवा कार्यक्रमकै धज्जी उडेको छ ।
चेकिङको क्रममा प्रहरीको एक टोली नेपालगन्जको शहीद सेतुविक चोकमा वर्दीको शान देखाउदै एक जना पत्रकारको कलर समातेर कुटेका हुन् । पत्रकारले कुटाई खानुको कारण थियो प्रहरीको भाषिक आचारणको विरोध गर्नु । सवारी चेकजाँचका लागि खटिएको प्रहरी टोलीका एक जवानलाई पत्रकार शुनील रेग्मीले सवारी चालक अनुमति पत्र र सवारीदर्ता प्रमाण पत्र देखाउंदा प्रहरी जवानले प्रयोग गरेको भाषाको विरोध गर्दा चोकमा हंगामानै मच्चियो । मुस्कान सहितको प्रहरी सेवा शुरु गरेको पहिलो दिन बिहिवार राती बाँकेमा पत्रकारहरूलाई कुटपिट तथा दुव्र्यवहार त गरेनै हतकडी लगाउन पनि पछि परेनन प्रहरी ।
नेपालगन्जको शहिद सेतु विक चौक नजिकै चेकिङमा खटिएको प्रहरी टोलीले लोकप्रिय सन्देश दैनिकमा कार्यरत पत्रकार क्षेत्रनाथ देवकोटा र रेडियो हिमाल एफएममा कार्यरत पत्रकार रेग्मीलाई दुव्र्यवहार गर्दै हत्कडी लगाएर करिब तीन घण्टा सम्म नियन्त्रणमा लिएको थियो ।
मदिरा सेवा गरेका प्रहरीहरूले पत्रकारहरू कृष्ण खनाल, तिलक गाउँले, भगतराम चौधरी, अर्जुन वली लगायतलाई समेत अपशव्द प्रयोग गरी दुव्र्यवहार गरे ।
पार्किङमा रहेको मोटरसाइकलको ब्लुबुक र सवारी चालक प्रमाणपत्र देखाउदा देखाउदै चेकिङमा खटिएका प्रहरीले बिना कारण कुटपिट र दुव्र्यवहार गरेको पत्रकार रेग्मीले बताए । रेग्मीसँग प्रहरीले अनावयश्क बिवाद गर्न थालेपछि सम्झाउन पुगेका पत्रकार देवकोटा र रेग्मीलाई प्रहरीले एक्कासी हत्कडी लगाएर नियन्त्रणमा लिएको हो । सो घटनापछि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य झलक गैरे, जिल्ला अध्यक्ष रुद्र सुवेदी, निवर्तमान अध्यक्ष शुक्रऋषि चौलागाई लगायतका पत्रकारहरू घटनास्थलमै पुगी बिरोध गरेका थिए । प्रहरीले पत्रकारहरूलाई बिना कारण दुव्र्यवहार र कुटपिट गरेपछि जम्मा भएका स्थानीय बासिन्दाले समेत प्रहरीको बिरोध गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी शेखर कोइराला स्वयम घटनास्थलमा पुगी प्रहरीबाट गल्ति भएका स्वीकार गर्दै नियन्त्रणमा रहेका पत्रकारलाई छोडिएको थियो ।
शुक्रवार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलपछि एकहप्ताभित्र घटनाको सत्यतथ्य पत्ता लगाई दोषी प्रहरीमाथि कारवाहीका लागि पाँच सदस्यीय छानविन समिति गठन भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सशी कुमार ठाकुरको संयोजकत्वमा प्रहरी नायब निरिक्षक नेत्रबहादुर बुढा, प्रहरी सहायक निरिक्षक पूर्णबहादुर वली, प्रहरी हवल्दार अमर चौधरी र प्रहरी जवान रामचन्द्र पौडेल सदस्य रहेको छानविन समिति गठन गरिएको एसपी कोइरालाले जानकारी दिए ।
छानविन समितिले दिएको प्रतिवेदनका आधारमा दोषी देखिने प्रहरी कर्मचारीलाई हदैसम्मको कारवाही गरिनेछ, एसपी कोइरालाले भने,— प्रतिवेदन प्राप्त भएपछि दोषी प्रहरीलाई गरिने कारवाही समेत सार्वजनिक गरिनेछ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहिवार राती शहिद सेतु विक चौकमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा १२ जना परिचालित थिए । जिल्ला प्रहरीले सबैलाई छानविनको दायरामा राखेको जनाएको छ । सबै प्रहरीको बिहिवार राती नै मापसे चेकजाँच गरिएकोमा केहीले मापसे गरेको पाइएको एसपी कोइरालाले जानकारी दिए । मदिरा सेवन गरेर आफुहरूलाई पत्रकारले दुव्र्यवहार गरेको प्रहरीको दाबी छ । घटनापछि नियन्त्रणमा लिएको एउटा क्यामेरा र मोटरसाइकल फिर्ता गरिएको छ भने एउट क्यामरा हराएको छ । घटनाको नेपाल पत्रकार महासंघ लगायतका पत्रकार आवद्ध सङ्घ संगठनले विरोध गरेका छन् । छानविन समिति गठन भईसकेका कारण महासघले समितिको प्रतिवेदनपछि हुने कारवाहीका आधारमा आगामी कदम चालिने जनाएको छ ।
















प्रतिक्रिया