नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री पदमा निर्वाचित व्यक्तित्व नरेन्द्र मोदी बोराबाट सम्पन्नतामा परिणत भएको सफलताको कथा हो र यसले लामोसमयसम्म प्रभावशाली बनेको नयाँ दिल्लीको शक्तिवृत्तको अंग्रेजी बोल्ने सम्भ्रान्त बर्गको शैलीमा परिवर्तन गरिदिने अनुमान गरिएको छ ।
मोदीको दक्षिणपन्थी भारतीय जनता पार्टी (भाजपा)को विजयलाई एक टिप्पणीकर्ताले प्रजातान्त्रिक उल्कापातको संज्ञा दिएका छन् । उहाँको नेतृत्वको शैली विदेशी सहयोगी मुलुकका लागि अपरिचित हुनसक्छ ।
मे १६ मा आएको नतिजाले राष्ट्रिय राजनीतिमा पहिले कुनै भूमिका नभएको एक प्रान्तीय राजनीतिज्ञको अकस्मात् प्रवेशलाई पुष्टि ग¥यो । यी व्यक्ति कुनै समय भुईं पुछ्थे । जसले लामो समयसम्म मुलुकको प्रथम परिवारको रूपमा स्थापित नेहरू–गान्धी वंशपरम्परालाई गाली गरे ।
पूर्व प्रधानमन्त्रीभन्दा भिन्न रूपमा उहाँले विदेशमा शिक्षा हासिल गर्नुभएको छैन । उहाँले १७ वर्षमा विद्यालयको शिक्षा छोड्नुभयो र दूरशिक्षामार्फत स्नातकोत्तरको स्तर हासिल गर्नुभयो ।
उहाँलाई अंग्रेजीमा भन्दा हिन्दी तथा आफ्नो स्थानीय भाषा गुजरातीमा बोल्न सजिलो हुन्छ । उहाँको विदेश भ्रमण पनि पश्चिमी मुलुकभन्दा पूर्वी एसियाली मुलुकमा सीमित भयो । पश्चिमी मुलुकले उहाँले सन् २००२ मा धार्मिक दंगा रोक्न नसकेको भनी बहिष्कार गरिदिए ।
एक इतिहासविद् रुद्रांसु मुखर्जीले मोदीलाई पश्चिमी जीवनशैली तथा व्यवहारसँग परिचित नभएको बताउनुभएको छ ।
‘‘उहाँलाई यी कुराले लाज पनि लाग्दैन’’, मुखर्जीले थप्नुभयो । सोमबार मोदीले पदको सपथग्रहण गर्दै हुनुहुन्छ ।
उहाँ खुल्ला रूपमा धर्मपरायण हुनुहुन्छ र उहाँले आफ्नो वयस्क जीवन भारतको हिन्दु चरित्रको प्रतिरक्षाका लागि बचनबद्ध संगठनका लागि बिताउनुभयो । भारतमा १५ करोड मुसलमान अल्पसंख्यक बसोबास गर्छन् ।
उहाँको राजनीतिक तथा धार्मिक अनुभवका आधारमा उहाँ भारतमा गएको शताब्दीको सबैभन्दा ख्यातिप्राप्त राजनीतिज्ञ तथा प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूभन्दा निकै फरक रूपमा उभिनुभएको छ ।
सन् १९६४ मे २७ मा नेहरूको देहावसान भएको करिब ५० वर्षपछि मोदीले प्रधानमन्त्री पदको सपथग्रहण गर्नुहुनेछ । उहाँको जन्म भारतका स्वतन्त्रतापछि भएको हो । स्वतन्त्रताको रातमा नेहरूले दिनुभएको र ख्याति कमाएको भाषणमा भाग्यसँग जम्काभेटको विषयमा उल्लेख गरिएको थियो ।
नेहरू समाजवादी तथा धर्मनिरपेक्ष हुनुहुन्थ्यो र उहाँले सन् १९४७ मा यस उपमहादेश विभाजित भएपछि भारतलाई व्यापकरूपमा प्रभाव पार्नुभएको थियो । उहाँका छोरी इन्दिरी गान्धी तथा नाती राजिव गान्धी पनि पछि प्रधानमन्त्री बन्नपुगे ।
उहाँका पनाती राहुलले यस आमनिर्वाचनमा मोदीको विरोधमा दुर्घटनापूर्ण प्रचारअभियान सञ्चालन गर्नुभएको थियो । यसले पार्टीलाई ५४३ स्थानको संसदमा ४४ स्थानमा सीमित गरायो र यो यस दलका लागि सबैभन्दा नराम्रो नतिजा थियो ।
नेहरूको दलले भारतलाई उसको स्वतन्त्रतापछिका कालमा १३ वर्ष बाहेक सबै समयमा शासन गरेको छ । कांग्रेस बाहेक भाजपालेले नै संसदमा बहुमत हासिल गरेको छ ।
यस वंशपरम्पराका विषयमा पुस्तक लेख्ने राजनीतिक टिप्पणीकर्ता तथा पत्रकार रशीद किडवाइले मोदी भाजपाका अन्तिम प्रधानमन्त्री अटल बिहारी वाजपेयीभन्दा पनि निकै भिन्न हुनुभएको बताउनुभएको छ ।
उहाँले वाजपेयी भाजपाको प्रधानमन्त्री भएपनि उहाँको सोचाइ नेहरूवादी भएको बताउनुभयो । उहाँले वाजपेयीले दक्षिणपन्थी हिन्दु कट्टरपन्थीलाई राजनीतिबाट परै राखेको बताउनुभयो ।
उहाँले मोदीको विचार नेहरूवादविरोधी रहेको बताउनुभयो ।
नेहरूले एक अमेरिकी कूटनीतिज्ञलाई आफू भारतको शासन गर्ने अन्तिम ‘इङलिसम्यान’ भएको बताउनुभएको थियो । गत साता गार्जियन समाचारपत्रले आफ्नो सम्पादकीयमा मोदीको विजयले बेलायतले अन्तिम रूपमा भारत छोडेको दिनको प्रतिनिधित्व गर्ने उल्लेख गरेको थियो ।
निर्वाचनको नतिजा घोषणा हुनुअगाडि उहाँले भारतीय समाचार साप्ताहिक ओपनलाई आफूले दिल्लीमा यथास्थिति चाहने सीमित अभिरुचिका समूहको शक्तिलाई तोडिदिने बताउनुभएको थियो ।
उहाँ अझै पनि मितव्ययी जीवनशैली अपनाउनुहुन्छ र उहाँको आफ्नै परिवारका सदस्यसँग निकै कम सम्पर्क छ । उहाँकी प्रौढ आमा मतदानका दिनमा मतदान केन्द्रसम्म उहाँको कार्यालयको गाडी चड्नु सट्टा सार्वजनिक गाडीमा जानुभएको थियो ।
‘मोदीले उक्त साप्ताहिकलाई आफूसँग दरवारियाहरू नभएको बताउनुभयो । उहाँको संकेत कंग्रेस पार्टी तथा गान्धी नेतृत्वको वरपर रहेको राजनीतिक संस्कारप्रति थियो ।
अर्को एक अन्तर्वार्तामा उहाँले भारतीय दैनिक द टाइम्स अफ इन्डियालाई आफूले आफैँलाई दिल्लीको राजनीतिबाट मात्र नभएर राजनीतिबाटै पृथक व्यक्ति ठानेको बताउनुभयो ।
मोदीले गुजरातलाई १३ वर्षसम्म प्रभावकारी शासन दिनुभएको ख्याति कमाउनुभएको छ । उहाँले यो कम्पनी शैलीको व्यापारिक विधि प्रधानमन्त्रीको कार्यालयमा पनि प्रयोग गर्ने तयारी गर्नुभएको छ ।
गत साता उहाँले प्रमुख मन्त्रालयका कर्मचारीहरूलाई आफूले पदभार समहलेको २४ घण्टाभित्र मन्त्रालयको बारेमा पावरप्याइन्टमा जानकारी दिन आदेश दिनुभएको छ ।
आफ्नो सरकार सञ्चालन गर्न मोदीले छनौट गर्ने व्यक्ति साना नगरबाट भारतीय शिक्षा प्राप्त गरेको अंग्रेजी भन्दा हिन्दी बोल्ने व्यक्ति हुने किडवाईले बताउनुभयो ।
उहाँले अक्सब्रिज (अक्सफोर्ड र क्याम्ब्रिज) मा शिक्षा प्राप्त गरेकाको तह घट्ने उल्लेख गर्नुभयो । रासस / एएफपी
















प्रतिक्रिया