सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

नेताहरु जिम्मेवार नहुँदाको परिणाम…

दैनिक नेपाल २०७१ जेठ ३ गते २२:११

Ratindra-Khatri

नेपालको शान्तिप्रयासले गतिलिन सकिरहेको छैन । वर्तमान समस्या समयमानै समाधान हुनुपर्नेमा दिनप्रतिदिन जटिल बन्दै गई रहेको देखिन्छ । यो समस्या बुझ्न पर्ने व्यक्तिहरुले नबुझेको भने होइन । कसैले बुझेर पनिनबुझे जस्तो गरि आँखा चिम्लिएका छन् । कसैले आफ्नो नीहित स्वार्थको लागि बुझेर पनि बुझ पचाई रहेका छन् । कसै कसैले त अन्य स्वार्थका कारण समस्यालाई फरक नजरबाट हेरिरहेका छन् । बहुसंख्यक व्यक्तिहरु किंकर्तव्यमूढ बनेका छन् भने कतिपय व्यक्तिहरुमा नैरास्यता छाएको कारण वास्ता गर्न समेत छाडिसकेका छन् । तथापी, अझै पनि आशाको त्यान्द्रोको रुपमा शान्ति प्रयास अगाडि रहेको छ ।

यस परिस्थितिमा पनि कसै कसैले बर्तमान अन्यौल अनिश्चितताकोे भरपुर फाइदा उठाइरहेका छन् । उनीहरुका लागी समस्या बुझ्नु भन्दा नबुझेको जस्तो गर्नु जाती हुने नै भयो । कसै कसैले भबिष्यमा आफूप्रति आउन सक्ने अज्ञात भयको कारण यस समयलाई नै उपयुक्त समयको रुपमा अङ्गिकार गरिरहेका हुन सक्छन् । कसै कसैले समस्या बुझेर पनि केहीगर्न नसक्ने अवस्थमा भएकोले लाचार एवम् बिवश भएर बस्नु परेको महशुष गरिरहेका होलान् । तर, जे होस यस समस्याबाट बिल्कुलै अनभिज्ञ कोही छ भनेर कसैले भन्छ भने त्यो कुरा पत्याउन सकिने अवस्था छैन ।

सशस्त्र द्वन्दको अन्त्य भएको आठ बर्ष बितिसक्दा पनि शान्तिको मार्ग प्रशस्त गर्न नसक्नुले शान्तिप्रयासको क्रममा कहीँ न कहीँ कसै न कसैबाट गम्भीर त्रुटी भएको प्रमाणित भइसकेको छ । यस त्रुटीको सही पहिचान गरी सो गल्तीबाट पाठ सिकेर अवका दिनमा अगाडी बढन जरुरी छ, अन्यथा तार्किक निष्कर्षमा पुग्न असम्भव हुन्छ । फलस्वरुप दिगो शान्तिको परिकल्पना निरर्थक बन्दछ ।

अर्कोतर्फ समस्यालाई समाधान नै नगरी संक्रमणकाललाई निरन्तरता दिइरहने हो भने दुर्घटना अवश्यमभावी छ । बर्तमान शान्ति प्रयासको मार्ग लाई त्रुटीरहित बनाएर अघि बढ्न सकेमा नै शान्तिपूर्ण निकास पाउन सजिलो हुनेछ । यसमा धेरै जसो नेपालीहरुको इच्छा, आंकाक्षा र सपनाहरु गाँसिएको छ । अर्कोतर्फ त्रुटीरहित बनाउनका लागि देशको समस्तपक्षहरु समेटन जरुरी छ । मुलुकको महत्वपूर्ण निर्णयको घडीमा कुनै पनिपक्षले आफू बहिस्कृत भएको महसुस गर्दछ भने कुनै न कुनै ढंगले स्थान प्राप्तिका लागी प्रयास गरिरहने अवस्था रहन्छ । यस परिस्थितिमा फेरी पनि द्वन्दको पूनराबृत हुन नसक्ला भन्न सकिंदैन । सम्पूर्ण पक्षले उचित स्थान प्रजातान्त्रिक परिपाटी बमोजिम पाउने हो भने द्वन्दको मुलजरोलाई समेट्न गाह्रो हुन्न। यसो भएमा समस्यालाई समाधान गर्न धेरै हद सम्म मद्यत मिल्दछ । तर, यसको बिपरित बिधिको शासन बमेजिम सबैलाई यथोचित रुपमा एकताको सुत्रमा बाँध्न सकिएन भने क्षणिक रुपमा शान्ति प्राप्त गर्न त सकियला, दिर्घकालिन रुपमा लक्ष्य हासिल गर्न सम्भव हुँदैन । यस सन्दर्भमा सबैभन्दा महत्वपूर्ण कुरा के छ भने न त कुनै पनि पक्षले आफुलाई राष्ट्रिय मुलधार भन्दा बाहिर राखेर हेर्न मिल्छ न त हेर्ने छुट दिननै मिल्छ ।

कुनै पनि उद्देश्य लिएर अगाडि बढिन्छ भने सबै भन्दा पहिलो कुरा त सो उद्देश्यप्रति आफु स्पष्ट हुनप¥यो । जसका लागि दुरदर्शिताको आवश्यकता पर्दछ । अस्पष्टता एवम् द्वुबिधाले आफैंम ाअन्यौल र अकमकाउन पर्ने अवस्था सिर्जना गर्दछ । यदि यो कुरामा स्पष्ट छ भने सो प्रतिको प्रतिबद्धताले सफलताको मार्गमा डोराउने काम गर्दछ । अझै आफ्नै उद्देश्य प्रति इमान्दारी प्रस्तुत हुन नसक्ने हो भने त्यस्तो उद्देश्यको कुनै औचित्य रहँदैन । यहाँ जिम्मेवार नेतृत्वमा न कुनै भिजन देखिएको छ, न उद्देश्यमा स्पष्टता नै, न त प्रबिद्धता देखियो, न उद्देश्यप्रति इमान्दारिता देखाउने काम नै भयो । यस अवस्थामा लक्षित उद्देश्य कसरी प्राप्त हुन सक्दछ ? जबसम्म यी बिषयहरुमा सकरात्मक वातावरण बन्न सक्दैन तबसम्म जस्तोसुकै मार्ग अवलम्बन गरे पनि शान्ति प्रयास तार्किक निष्कर्समा पुग्न असम्भव हुन्छ ।

अहिले बर्तमान परिप्रेक्षमा भई रहेको द्वन्द कुनै बिचार वा सैद्धान्तिक द्वन्द होइन । यो एउटा शक्ति संघर्षको उपज मात्र हो । एकाथरी सरकारमा रहे पनि वा नरहे पनि राज्य शक्तिमा हावी भइरहेको अवस्था छ । त्यस्तै, अर्को पक्ष सो नपाएर बिमुख भएको कारण सो प्राप्तिका लागि संघर्षरत भई रहेको देखिन्छ । जस मध्यपनि एउटा समूह अझै पनि धम्की, हिंसा र बलजफ्ती शक्तिको बलमा आफ्नो अस्तित्वलाई मजबुत बनाउन चाँहि रहेकोले पनि शान्तिको मार्ग प्रशस्त हुन नसकेको धेरैको ठम्याई छ । हैसियत प्राप्त गर्ने र गुमाउन नचाहनेको यो द्वन्दको कारण अन्यौल र अनिश्चितता बढ्दै गइरहेको देखिन्छ ।

संक्रमणकालमा मौका परस्त व्यक्ति वा समूहले जहिले पनि फाइदा उठाउन खोजी रहेको हुन्छ । यसो गराउनाले जिम्मेवार पक्षको मुल बिषयतर्फको ध्यानलाई अन्यत्र मोड्न अभिप्रेरित गर्दछ । धेरैजसो सरकारहरु असफल हुनमा यस्तै समूहको ठूलो हात रहेको देखिएको छ । त्यसैले बर्तमान सरकार झिनामसिना कुराहरु छाडेर मुल मुद्दा तर्फ नै केन्द्रितहुन जरुरी छ । देशको आवस्यकतापहिचाननगरी आफ्नै स्वार्थमा रुमल्लिने राजनीतिकवातावरणले मुलुकको भविष्यमाथी खेलवाड गरिरहेको छ । वर्तमान सरकार निश्चित उद्देश्य बोकेर मुलुक हाँक्न कम्मर कसे पनि अनिर्णय तथा मुल बिषय भन्दा अन्य बिषयतर्फ बढी केन्द्रीत भएकोे मानिसिकताबाट माथी उठ्न नसकेको सर्वत्र महशुस भइरहेको छ । यसको मुख्यकारण प्राथमिकताको सहि पहिचान गर्न नसक्नु नै हुन सक्दछ ।

बर्तमान अवस्थामा नेपालमा धेरै बिसंगतिहरुले जरो गाडेको छ । यस अवस्थामा जुनै कुनै पनि शक्तिलाई सफल हुन सजिलो छैन । यसको साथ साथै आफू ठोस कुनै निर्णय गर्न नसक्ने र जहिले पनि बाह्य शक्तिकै मुख ताक्ने प्रबृत्तिले राजनीतिक परिवेशलाई ज्यादै धमिल्याएको छ । आफ्नो हितमा निर्णय हुने भएमा जस्तोसुकै राष्ट्रघाती सम्झौता गर्न पछि नपर्ने, अन्यथा कुटनीतिक मर्यादा समेत नाघेर अस्वभाविक तवरले बिषवमन गर्न पछि नपर्ने द्वैध चरित्रले नेपाली जनताहरुलाई धोका दिने काम समेत भएको देखिन्छ । राष्ट्रिय महत्वका बिषयहरुमा समेत दृढ बन्न नसकेर द्वैध चरित्र देखाउने मानसिकताले बिदेशी शक्तीहरुलाई समेत अनावस्यक हस्तक्षेप गर्न उत्प्रेरित गरेको देखिन्छ ।

हालै आएर सत्य तथ्य निरुपण आयोग गठन सम्बन्धि बहानामा समस्या अल्झिरहेको छ । हुन त यस्को पछाडि केही न केही आशय वा स्वार्थ अवश्य पनि लुकेको होला । तर, हरेक पटक एउटा न एउटा बिषयमा बल्झि रहने असहमतिले समस्यालाई पेचिलो बनाइरहेको पृष्ठभूमिमा यो पनि एउटा हलो अड्काउने वहानामात्रा जस्तो देखिन आएको छ । हैनभने यस बिषयलाई बिवादको बिषय बनाई राख्न जरुरी छैन । कारण अहिलेको आधुनिक परिवेशमा मानवअधिकार जस्तो संबेदशील बिषयलाई न कुनै व्यक्ति, समुदाय वा राष्ट्रले नै नजरअन्दाज गर्न सक्दछ ।

राष्ट्रियस्तरको सहमति बनाएर राष्ट्रिय आवश्यकताको पहिचान गरी त्यसैमा प्रतिबद्ध हुनु भन्दा अरु कुनै उत्तम विकल्प हुन सक्दैन । यो कुरा सबैले नबुझेको पनि हैन, तर के गर्नु बुझ पचाउने, अनि केही गर्न नसक्नेहरु र लाचार बनेर तमासा हेरि रहनेहरुको अकर्मण्डयताले देशको समस्या जहिले पनि जहाँको त्यहीँ अड्किइ रहको छ । समस्या ज्युूकात्यूँ रहिरहेको छ ।

(लेखक नेपाली सेनाका अवकाशप्राप्त महासेनानी हुन् ।)

प्रतिक्रिया
सम्बन्धित