२८ आश्विन २०८३, बुधबार

विश्व नम्बर ९९ नेपाली चेली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amrita-acharya

अमृता आचार्यको नाम नेपालमा धेरैले सुनेका छैनन्, तर यही नाम पश्चिमी दुनियाँमा प्रख्यात भइसकेको छ। अझ नयाँ पुस्ताको त प्रिय सेलिब्रेटी। नहुनु पनि किन जबकी विश्व प्रसिद्ध अनलाइन म्यागाजिन आस्कमेनले गरेको एक सर्वेक्षणमा उनी सन् २०१३ मा विश्वको ९९ जना सबैभन्दा बढी रुचाइएकी महिलाको सुचीमा परेकी छिन्। प्रख्यात अमेरिकी टेलिभिजन एचबिओको शृंखला ‘गेम अफ थ्रोन’ र नर्वेली फिल्म ‘आई एम योर्स’ले अमृतालाई यो सफलता दिलाएको हो। ‘आई एम योर्स’ गत बर्ष ओस्कारको लागि मनोनयनमा परेको थियो। यसरी चर्चाको शिखरमा रहेकी अमृता युक्रेनी मुलकी वरिष्ठ आकिर्टेक्चर आमा लारिसा आचार्यको कोखबाट २६ बर्ष अघि काठमाडौंमा जन्मिएकी थिइन्। उनका बाबु डा.गणेश आचार्य युरोपका चर्चित स्त्री तथा प्रसुती रोग विशेषज्ञमा गनिन्छन्।

अमृताले लन्डनस्थित एकाडेमी अफ लाइव एण्ड रेकर्डेड आट्र्सबाट नाटक अभिनय कलामा स्नातक गरेकी छिन्। नाटकमा सफल भइसकेपछि उनले टेलिफिल्म र फिल्ममा पाइला बढाएकी हुन्। हाल उनी ४–५ वटा फिल्म अभिनयबाट हलिउडमा स्थापित हुन संघर्ष गरिरहेकी छिन्। ‘गेम अफ थ्रोन’मा उनको अभिनय निकै मन पराइएको छ। उक्त श्रृंखलामा महारानीकी सुसारे इर्रिको भूमिका निर्वाह गरेकी छिन्। विविसको क्रिसमस शो ‘ल्यापल्याण्ड’मा पनि उनको अभिनय देख्न सकिन्छ। यसका साथै बायोग्राफिकल फिल्म ‘द डेभिल्स डबल’मा सहायक र सर्ट फिल्म ‘वीरड लभ’मा लिड रोलमा अभिनय गर्ने मौका पाएकी छिन्।

अमृता काठमाडौमा आफन्त र परिवारको साथ बिताएको बाल्यकाल सम्झदा निकै रोमाञ्चित हुन्छिन्। उनले भनेकी छिन्, ‘बाल्यकालमा नेपाली गीत, संगीत र फिल्महरु मेरा दिनचर्या थिए।’ अहिले भने विभिन्न अन्तर्राष्ट्रय फिल्म फेस्टिभलमा उपलब्ध हुने नेपाली फिल्महरु रुचिपूर्वक हेर्ने गरेको उनको भनाई छ। कामचलाउ नेपाली बोल्न सक्ने अमृता राम्रो प्रोजेक्टबाट अफर आए नेपालीसँगै हिन्दी फिल्ममा पनि काम गर्ने योजनामा छिन्।