सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

बाबुराम बहिर्गमनको नाफा-घाटा

दैनिक नेपाल २०७१ वैशाख २९ गते २२:२२

pradeep bhattarai

एकीकृत माओवादीका सेकेन्डम्यान डा. बाबुराम भट्टराई अन्ततः पार्टीबाट बाहिरिने क्रममा यतिबेला जस्केलामै आइपुगेका छन् । हुन त अझै पनि उनीसँग पार्टीको राष्ट्यि प्रतिनिधिको औपचारिक हैसियत त बाँकी छ, तर पद नै सर्वोच्च हुने कम्युनिष्ट पार्टीमा वरिष्ठ उपाध्यक्ष भैसकेका डा. भट्टराई त्यो हैसियतमा पार्टीमै रहलान्, अनुमान लगाउन गाह्रो छ । राष्ट्रिय परिषद्को हलले केन्द्रीय सदस्यमा अनुमोदित भट्टराई त्यो अनुमोदनलाई समेत अनादर गर्दै बाहिरिनु र पार्टी सेकेन्डम्यानका लागि त्यो पद रिक्तसमेत नराखिनु संजोग या नियमित आकस्मिकता मात्र हैन । अझ, उनका पक्षधरसमेत उनको लोलीमा बोली मिलाउँदै बाहिरिनु र त्यसपछि दुबै पक्षबाट आएका भनाइहरुको रुप र सार पक्षलाई हेर्दा डा. भट्टराईको बहिगर्मनलाई हचुवाको भरमा हेर्न नसकिने परिस्थिति बन्दैछ ।

डा. भट्टराईको यो बहिगर्मनले नेपाली राजनीतिमा एक किसिमको तरंग ल्याएको छ । विराटनगरबाट बाहिरिए लगत्तै चीनतिर लागेकाले भट्टराई स्वयं यो तरंगको आवृति कम या बेसी गर्ने भूमिकामा संलग्न हुन भ्याएका छैनन् । या, त्यो तरंग छल्नकै लागि उनी त्यतातिर लागेका हुन् । त्यसको पनि कुनै पत्तो छैन । जे होस् यतिबेला मुलुकमा अनुमानको खेती र राजनीतिक पण्डितहरुको भविष्यवाणीको मौसम सुरु भएको छ । अनुसन्धानमा हाइपोथेसिस परीक्षण गरेपछि मात्र निष्कर्षमा पुग्न सकिन्छ । तर, त्यसका निम्ति आवश्यक लिटरेचर रिभ्युको आवश्यकता पर्छ । अहिले यो परिघटना त्यही नजिक भएर गुज्रनु प्राकृतिक प्रक्रिया हुन्छ । परिणामका लागि त समयभन्दा उत्तम टुल केही हुनै सक्दैन ।

डा. भट्टराईको यो कदम सामान्य कम्युनिष्ट चरित्रभन्दा निकै भिन्न छ । कम्युनिष्ट पार्टीमा या त पार्टीबाट गद्दारको बिल्ला लगाएर निस्कासन गरिन्छ या पार्टीमै चिरा पारेर विभाजनको शिकार बनाइन्छ । उनको यो पछिल्लो सन्दर्भमा अहिलेसम्म यी दुबै भएका छैनन् । उनले सहजरुपमा पार्टीको नेतृत्व त्यागेर अहिलेका लागि तल्लो तहमै रहेर विचार निर्माण गर्ने कुरा गरेका छन् । तर, पार्टी संस्थापनको पछिल्लो रणनीति र नारायणकाजीको दोहोरो चरित्र हेर्दा उनी एक्लिएका छन् र बाचुञ्जेल प्रचण्ड नै अध्यक्षमा बसिरहने पार्टीमा बसेर सेकेण्डम्यान हुन नामञ्जुर गरेका हुन् कि जस्तो देखिएको छ । तर, उनको अन्तर्मुर्खी स्वभाव, सत्तामा रहदा आफ्ना कार्यकर्ता र शुभचिन्तकको मन जित्नेभन्दा पनि मन दुखाउने प्रवृतिलगायतका खराब म्यानेजरमा हुने चरित्रका कारण उनी पार्टी बनाएर चलाउने र फस्टम्यान हुने स्वभावका टप म्यानेजर चाँहि हैनन् । त्यसैले उनले भनेजस्तो नयाँ शक्ति बन्ने र त्यसको नेता बनेर गरीखाने लक्षण देख्न गाह्रो छ । उनी निकट दीनानाथ शर्मा, राम कार्की, अनन्तजस्ता हस्ती किन एकपछि अर्को गरेर प्रचण्डपथमा तानिदैछन्, त्यो पनि अध्ययनको विषय छ । उनलाई सधैं काँधमा बोक्ने सहरिया मध्यम वर्गिय वुद्धिजीवी तप्का, नागरिक समाज, सञ्चारकर्मीलगायतको गैरदलीय जमात पनि उनको पछिल्लो ट्याक रेकर्डसँग सन्तुष्ट छैन । अझ, अनुमानको कुरा त हो, उनी आफैमा पनि केही गर्न नसकिने सम्भावनाको आँकलन भैरहेको हुनसक्छ । उनको मानसरोवर यात्राले लाक्षणिक रुपमा त्यो अर्थ नबोकेको होला पनि भन्न सकिन्न ।

Dr.Bhattarai

बाबुरामसँग लेखक

डा. भट्टरार्ईको पछिल्लो निर्णयलाई लिएर हतारमा पानी विश्लेषण गर्नेभन्दा पनि उनको आवधिक मुल्यांकन गर्नुपर्ने हुन्छ । उनका अवगुणहरुको लामो फेहरिस्त उतार्न नसकिने हैन । उनकी श्रीमती हिसिला यमीको बच्कना गतिविधि र पैसामोहलाई लिएर उनको व्यक्तित्वलाई ताछ्न पनि मज्जाले नै सकिएला । तर,यो मरेको बाघको जुंगा उखाल्ने भनेझैं व्यवहार गर्ने बेला हैन । हो चाँहि के भने यी सबैका बाजुद पनि डा. भट्टराई नेपाली राजनीतिकै एक मिथक हुन् । एक मेधावी छात्रदेखि मुलुकको प्रधानमन्त्रीसम्मको उनको यात्रा अनेकौ उतारचढाव र विरोधाभाषले भरिएको छ । आज प्रचण्ड मुखिया बनेको पार्टीका लागि कुनै समय भिजिटिंग कार्ड उनै थिए ।साइनबोर्ड प्रचण्डपथको लगाइए पनि उनकै रोडम्यापमा नेपालको माओवादी जनयुद्धले विश्राम लिएको हो । यो यात्रामा उनी आफ्नै पार्टीको बन्धक बनेर व्यक्ति सफायाको नजिकबाट जोगिएका मान्छे पनि हुन् । संसद छोडेर जंगल पसेका बाबुरामले नै जंगलमा प्रचण्डलाई राजा बनाएर सिंहदरवारमा आसिन गराउने अभियानको बाहिरी नेतृत्व गरेका हुन् । खिलराज रेग्मीलाई अध्यक्ष बनाएर दोस्रो संविधानसभाको चुनाव सम्पन्न गराउने अप्रिय निर्णयका सूत्रधार पनि उनै हुन् । अनुमानकै कुरा सही, यदि त्यसो नगरेर कुनै नेताकै नेतृत्वमा सरकार बनाएर चुनाव गराउनेतिर लागेको भए अहिले पनि मुलुक संविधानसभाको चुनावसम्म नभएको घनचक्करमा फसिरहेको हुनसक्थ्यो । यस्तै अरु पनि थुप्रै सम्भावित हाइपोथेसिहरु प्रस्तुत गर्न सकिन्छ ।

डा. भट्टराईको बहिर्गमन कुनै आयाराम गयारामको बहिर्गमन हैन । त्यसैले उनको बहिर्गमनलाई धेरै कोणबाट त्यसमा पनि मुलुकको नाफाघाटासँग जोडेर हेर्नुपर्छ । सरसरती हेर्दा, उनको बहिर्गमनले उनी स्वयंलाई भने खासै फरक पर्ने देखिदैन । किनकि, आफ्नो चरित्र अनुसार उनले पाउनसम्म पाएकै हुन् । प्रधानमन्त्री भए, त्योभन्दा माथि जाने ठाउँ छैन, पार्टीको मुखिया त उनलाई न प्रचण्डले हुन दिन्छन् न उनको अन्तर्मुखी चरित्र नै त्यसका लागि सहयोगी हुन्छ । सेकेण्डम्यान त भैहाले, त्यही नै उनको लागि पर्याप्त छ । पार्टीका नाममा अर्को नांग्ले पसल खोल्नुको कुनै अर्थ छैन । शक्तिका लागि जे पनि गर्ने संस्कारमा हुर्केका सुविधाभोगी नवबु्रजुवा कम्युनिष्टहरु बनिबनाउ पार्टी छोडेर उनीजस्ता खराव म्यानेजरका लागि पछि लाग्लान् भनेर सोच्नु नै बेकार हो । बरु उनले राजनीति त्यागेर थिंक ट्यांकका रुपमा आफूलाई नयाँ भूमिकामा प्रस्तुत गरे भने त्यसले मलेसयाका लागि बनेको महाथिर मन्त्रझैं नेपालमा पनि बाबुराम डक्ट्निको आकार दिन सक्छ । शायद यही नै उनका लागि उत्तम उपाय हुनसक्छ । त्यसरुपमा नेपाली जनताले उनलाई आफ्नो मुलुकको पूर्व प्रधानमन्त्रीका रुपमा सम्मान गर्ने र समयले कोल्टे फेरे नयाँ भूमिकामा कुनै दिन उनको अवतार नहोला पनि भन्न सकिन्न ।

डा. भट्टराईको बहिर्गमनले सबैभन्दा ठूलो घाटा एमाओवादी र त्यसका मुखिया प्रचण्डलाई नै हुन्छ । डा. भट्टराईजस्तो बौद्धिक र योजनाविद् छवि बनाएको नेताको पनि नेता बन्दा प्रचण्डलाई जुन उचाई प्राप्त हुन्छ, आफ्ना सुन्ड मुसुन्डहरुलाई वरिपरि राखेर त्यसको मुखिया बन्दा उनलाई त्यो उचाई किमार्थ प्राप्त हुँदैन । एकीकृत माओवादीलाई तर्क, वितर्क, कुतर्क जे जे गरेर भए पनि एउटा जिउँदो जाग्दो पार्टी बनाइ राख्न डा. भट्टराईको ठूलो योगदान थियो, अब त्यो पक्ष पनि माओवादीले गुमाउने छ जसले गर्दा एमाओवादी प्रचण्डका जोजोम्यानहरुको एउटा रिमोट नियन्त्रित क्लव मात्र हुने छ । त्यस्तो क्लवले भोलिका दिनमा नेपालको नेतृत्व गर्न सक्दैन । त्यसमा वैद्य बाका अर्थोडक्स क्याडर जोडेर मुक्के अभिवादन पनि थप्न सकिएला तर त्यसले पनि केही लछारपाटो लगाउने देखिदैन । त्यसैले यो प्रचण्ड र उनको पार्र्टीका लागि पनि एक किसिमको बज्रमुक्का नै हुने छ ।

डा. भट्टराईको बहिर्गमनलाई लिएर नेपालका अन्य ठूला पार्टीहरु खुशी मनाइरहेका हुनसक्छन् । किनकि, नेपालमा एउटा पार्टी फु्टदा अर्कोलाई खुदो पर्ने ठानिन्छ । तर, त्यसबाट मुलुकको शिशु लोकतन्त्र र गणतन्त्रको स्वास्थ्यमा के असर पर्छ भनेर हेक्का राखिदैन । इतिहास साक्षी छ, विगतमा कांग्रेस, एमाले र माओवादीमा भएको बिभाजनबाट केही समयका लागि अर्को पार्टीलाई फाइदा त भयो होला, तर त्यसले नेपाललाई समृद्धिको बाटोबाट कोसौं टाढा धकेल्यो । अहिले पनि नेपालले त्यसको चर्को मूल्य तिरिरहेको छ । डा. भट्टराईको बहिगर्मनबाट त्योभन्दा धेरै ठूलो घाटा मुलुकलाई हुने छ किनकि यसले सबैभन्दा पहिला त एमाओवादीको संसदीय धारलाई कमजोर पार्छ । चतुर प्रचण्ड वैद्य वाको क्याम्पमा गएर थप उग्र कुरा गर्नेछन् । अहिले नै गोलमेच भन्न थालिसकेका प्रचण्डको बदलाको भावनाले सीमा नाघ्छ र संविधान निर्माणमा ठूलो गतिरोध आउँन सक्छ । यसले फेरि एक पटक मुलुक अर्को घनचक्कर ध्रुवीकरणमा फस्न सक्छ र त्यसको मूल्य मुलुकलाई तिर्न साँच्चै नै हम्मे पर्छ ।
आग्रह पूर्वाग्रहमा रमाउनेहरुका लागि त यो विश्लेषण अलि बढी पनि लाग्न सक्छ, तर यथार्थ योभन्दा धेरै टाढा छैन । व्यक्तिगत रुपमा भन्ने हो भने केही मान्छेबाट हिसिला मेडमले चन्दा असुलेर विना औचित्य मेरो घरमा बुल्डोजर लगाउने अभियानका अभियन्ता हुन् डा. भट्टराई । अझ, पत्रकार मित्र रेवती सापकोटाले बुल्डोजर र आत्महत्याको कुरा उप्काउँदा सञ्चारकर्मीहरुकै अगि प्रधानमन्त्री निवास बालुवाटारमा अट्टाहास हाँस्ने निर्दयी मुटु भएका व्यक्ति पनि हुन् डा. भट्टराई । ठीक छ, सकिएछ भने त्यसको हिसाव किताव कुनै बेला गरौला पनि । तर, मुलुकको प्रसंगमा त्यो सानो बहिखाताको अर्थ हुँदैन र हुनु पनि हुदैन । नेपाली राजनीतिमा डा. भट्टराईको योगदानलाई कम आँक्न मिल्दैन । त्यसैले, अझै पनि मुलुकलाई यो या त्यो भूमिकामा उनले गर्न सक्ने योगदानको सम्भावनामा बिर्को लगाउनु हुदैन । सबै कोण र जोडको बस्तुपरक मिमांशा गर्ने बेला हो यो । आगे, उनीहरु नै जानुन् ।

(डा. भट्टराई काठमाडौं विश्वविद्यालय, नेपाल र इन्टरनेशनल अमेरिकन युनिभर्सिटी लसएन्जलस, क्यालिफोर्नियाको सम्बन्धनमा किंग्स कलेजमा आमसञ्चार विषय प्राध्यापन गर्छन् ।)

प्रतिक्रिया
सम्बन्धित