सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

बाबुरामले ‘पद अस्विकार’को भित्री कुरा…

दैनिक नेपाल २०७१ वैशाख २७ गते २१:४२

Prakash-Timilsina

एकीकृत नेकपा माओवादी भित्र पुर्व उपाध्यक्ष बाबुराम भट्टराईले केन्द्रीय सदस्य पद अस्विकार ‘आकस्मिक’ वा ‘योजनावद्ध’ रुपमा नै गरेको हो ? भन्ने बारेमा बहस सुरु भएको छ ।

अध्यक्ष दाहाल निकटहरु भट्टराईले केन्द्रीय सदस्य अस्विकार आकस्मिक रुपमा नगरेको बताउँदै ‘योजनावद्ध’ रुपमा नै गरेको दावी गर्छन् । जसका कारण दाहालसहित उनी पक्षधर धेरै नेताहरु भट्टराईको पद अस्विकारमा कुनै ‘आश्चर्यजनक घटना’का रुपमा लिईरहेका छैनन् । तर, भट्टराई पक्षधर भने दाहालले ‘एकलौटी’ गर्न खोजे पछि पद अस्विकार गरेको बताउँछन् ।

अध्यक्ष दाहालले सहमति र निर्वाचनका दुवै विकल्प खुल्ला राख्दा राख्दै पनि भट्टराई र उनी पक्षधर नेताले केन्द्रीय समितिमा बस्न अस्विकार गरेको समापन समारोहमा उपस्थित सयौं प्रतिनिधि र पत्रकारका सामु खुलासा गरे । ‘प्रस्तावित नामवलीमा सहमतिको प्रयास धेरै पटक गरियो तर हुनै सकेन, त्यसपछि मैलै निर्वाचनमा जाऊँ भनेर प्रस्ताव गरे तर उहाँले निर्वाचनमा नजाऔं भन्नु भयो’ दाहालले भट्टराई अनुपस्थित रहेको समापन कार्यक्रममा भने ।

शिर्ष नेता बस्ने स्वागतम होटलमा सोमवार साँझ भएको सहमति अनुसार प्रस्ताबित केन्द्रीय सदस्यको नामावलीमा ‘असहमतिका बाबजुद’ पनि केन्द्रीय समितिमा भने बस्ने प्रतिवद्धता जनाएका भट्टराईले मंगलवार भने तोडेको आरोप दाहालको छ । ‘उहाँले ‘असहमतिका बाबजुद’ पनि केन्द्रीय समितिमा बस्ने साँझ (सोमवार) प्रतिवद्धता जनाउनु भएको थियो तर बिहान (मंगलवार) त्यसलाई तोडनु भयो’ दाहालको गुनासो छ, ‘यद्धपी, हेटौडा महाधिवेसनको निर्णय अनुसार नै १ सय ५१ सदस्सीय केन्द्रीय समिति बनाउने हामी बिच ‘जेन्टलमेन्ट सहमति’ भने भएको छ ।’ केन्द्रीय सदस्यमा बस्न अस्विकार गरे पनि १ सय ५१ सदस्सीय केन्द्रीय समिति बनाउन भने भट्टराई सहमत भएको दाहालले जानकारी गराए । भट्टराई केन्द्रीय सदस्यमा नबसे दाहालको प्रस्तावित नामावलीलाई सोमवार साँझ होटलमा भएको सहमति अनुसार ‘असहमतिका बाबजुद’ नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीले भने दाहालको प्रस्तावलाई सहमति जनाएर केन्द्रीय समितिमा बसेका छन् । जबकी, भट्टराईसहित तीनै नेताले आइतवार दाहालको नामावलीलाई अस्विकार गरेका थिए ।

सम्मेलनमा प्रस्ताबित बिद्यानले दुई अंक अर्थात बढीमा ९९ सदस्सीय केन्द्रीय समितिको मात्र परिकल्पना गरेको थियो तर ‘सहमति जुटाउने नाम’मा प्रस्ताबित बिद्यानलाई उल्टाएर एमाओवादीले १ सय ५१ सदस्सीय केन्द्रीय समिति बनाउने भएको छ । यद्धपी, बन्द सत्रमा बोल्ने अधिकांस समुह नेताले निर्वाचनको माग गर्दै ९९ सदस्सीय भन्दा बढी केन्द्रीय समिति बनाउन नहुनेमा जोड गरे ।

Baburam-Bhattarai

निर्वाचनमा जाने कि सहमति खोज्ने ? भन्ने बारेमा केन्द्रीय कार्यालयले आइतवार साँझ र सोमवार बिहान आयोजक समिति सदस्यसँग धारणा माग ग¥यो । दाहाल निकट केही नेता बाहेक अरुले सहमतिमा नै जोड गर्दै नामावली प्रस्ताव गर्न केन्द्रीय कार्यालयलाई निर्देशन दियो । सोही अनुसार केन्द्रीय कार्यालयमा छलफल भयो तर सहमति हुन सकेन । अन्ततः दाहालले आफनो अधिकार प्रयोग गर्दै नामावली प्रस्ताव गरे तर सुरुमा नै ‘यो प्रस्ताव अध्यक्षको मात्रै हो हाम्रो सहमति छैन्’ भन्दै भट्टराईले अस्विकार गरे । त्यसमा श्रेष्ठ र बोगटी पनि थपिए र भट्टराई निकट टोपबहादुर रायमाझी, देवेन्द्र पौडेलले केन्द्रीय समितिमा नबस्ने घोषणा नै गरे । पुनः केन्द्रिय कार्यालयको बैठक बस्यो, त्यहाँ कुनै सहमति हुन सकेन् । मुख्यतः भट्टराईले रौतहटका अशोक जयसवाल र रुपन्देहीका दयानन्द न्यौपानेलाई सुचीमा नराख्न आग्रह गरे तर दाहालले भने मान्दै मानेनन । अन्ततः केन्द्रीय कार्यालयको बैठक नै अबरुद्ध हुन पुग्यो र आयोजक समितिकौ बैठक रोकिन पुग्यो । ‘दुई जनालाई नहटाएसम्म सहमतिमा नआउने उहाँको अडान निकै रहयो तर पार्टीमा लामो लगानी गरेकाले हटाउन अध्यक्षले मान्नु भएन, बाबुरामजी भडकिनु भयो’ बैठकमा सहभागी एक नेताले भने । उनका अनुसार भट्टराईले भक्ति पाण्डे, बालकृष्ण ढुंगेल, लिलबहादुर थापा, कृष्ण केसीलगायतलाई केन्द्रीय समितिमा राख्न जोड गरेका थिए ।

यता, सम्मेलनमा जानु अघि नै भट्टराईलाई आफु र आफनो पक्षधर संगठनात्मक रुपमा कमजोर परिन्छ भन्ने पुर्व ज्ञान प्राप्त भइसकेको थियो । जिल्ला सम्मेलनवाट चुनिएका जिल्ला प्रतिनिधि र जिल्ला समितिमा भट्टराई पक्ष कमजोर भइरहेका थिए । ‘धेरै जिल्लाहरुमा भट्टराई पक्षधर कमजोर भइसकेको थियो, त्यति मात्रै होइन कि गृह जिल्लामा उनको पक्षमा रहेका ४ जना मात्रै प्रतिनिधि चयन हुन सके,’ भट्टराई छाडेका एक केन्द्रीय सदस्यले भने, ‘संगठन बनाउन जोड गर्ने भन्दा सँधै फन्डा मात्रै गरिरहने बाबुराम (भट्टराई)जीको पछि कत्ति दिन लाग्ने ?’ उनका अनुसार भट्टराईले आफनो समुहलाई बलियो बनाउनका लागि सम्मेलन अघि गरिएका जिल्ला सम्मेलनमा कुनै पहलकदमी गरेनन् । बरु, उनले राष्ट्रिय सम्मेलन रोकेर सिधै महाधिवेसनमा जान जोड गरिरहे । तर, दाहालले भने घोषणा भइसकेको सम्मेलन रोक्ने अवस्था नभएको भन्दै त्यसलाई ठाडै अस्विकार गर्दै आए ।

त्यसो त ‘नयाँ शक्ति’का बारेमा बैचारिक र राजनीतिक बहस गराईरहेका भट्टराईले भने जस्तो पुजिवाँद र नवउदारवादलाई ‘फ्युजन’ गर्ने प्रस्तावलाई दाहालले राजनीतिक प्रतिवेदनमार्फत अस्विकार गरे । त्यसमाथी ‘नयाँ शक्ति भनेको के हो ?’ भन्दै दाहाल निकट नेता शालिकराम जम्मरकट्टेले उदघाटन सत्रलाई सम्वोधन गर्दैै भट्टराईलाई थप उत्तेजनामा ल्याउने काम गरिदिए । र, दाहाल पनि हेटौडा महाधिवेसनले तय गरेको कार्यदिशाबाहेक अन्य बिषयमा छलफल गर्न बिराटनगर सम्मेलन आयोजना नगरिएको उदघाटनस्थलवाट उदघोष गरे । जबकी, भट्टराई आफनो ‘नयाँ शक्ति’को बहसलाई पार्टी भित्र प्रवेश गराउन चाहान्थे । तर, दाहाल लगायतले ठाडै अस्विकार गरे पनि ‘निराश’ भट्टराईले झिल्को प्रकाशनले छापेको ‘नयाँ शक्ति’ नामक पुस्तक सम्मेलनस्थलमा बिक्री र बितरण गराउने कार्य चाँही छुटाएनन ।

सांगठानिक रुपमा क्रमशः पार्टी भित्र कमजोर हुदै गएको र आफनो ‘नयाँ शक्ति’को बहसलाई पार्टी भित्र छलफलमा नै प्रवेश नगराइएको सन्दर्भमा बिराटनगरमा जानु अघि नै भट्टराईले निराशा ब्यक्त गरि सकेका थिए । ‘आजदेखी ४/५ दिन उद्युम गर्मी खान बिराटनगरतिर जाने भइयो’ सम्मेलनप्रति कुनै भरोसा नगरेका भट्टराईले सम्मेलन सुरु हुनु अघिल्लो दिन नै टिवट गरेका थिए, ‘गर्मीमा पञ्चाङनी तापेर रुपान्तरण हुने भए त राम्रै हुन्थ्यो ।’ यो टिवटले नै भट्टराई सम्मेलन प्रति आशावादी भन्दा पनि निराशावादी बढी भएको देखाएको थियो । त्यसैले पनि होला सम्मेलन समापन हुने टुंगो नहुदा नहुदै पनि भट्टराईले आफना सुरक्षाकर्मीलाई सोमवार नै काठमाडौं फिर्ता गरिसकेका थिए । र, केन्द्रीय समितिमा नबसेका भट्टराई र उनी पक्षधर नेता समापन समारोहमा नबसी अर्थात सम्मेलन नै समापन नै नभई सम्मेलन स्थल छाडेर हिडेका थिए ।

(prakashujyalo.blogspot.com)

प्रतिक्रिया
सम्बन्धित