सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

कस्ले ढाकिदेला लालबाबुको लाज ?

दैनिक नेपाल २०७१ वैशाख २७ गते १२:२०

Shibaji-shrestha‘राष्ट्र’ भनेको भूगोल मात्र होइन, त्यस राष्ट्रका जनताहरु हुन् । ‘राष्ट्रियता’ को यही विशाल व्याख्याता बीपी कोइरालाको आदर्शबाट मार्गनिर्देशित नेपाली काँग्रेस नेतृत्वको सरकार छ, अहिले । जहाँ अन्तर्राष्ट्रियतावादको आदर्शबाट अभिप्रेरित माक्र्सवादको आधारशिलामा अडिएको भनिएको नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै सामान्य प्रशासन मन्त्री बनेका छन्, लालबाबु पण्डित ।

डीभी र पीआर बोकेका सरकारी कर्मचारीप्रति लक्षित गरी मन्त्री पण्डितले हानेको ढुंगाले प्रवासी नेपाली रुपी शान्त तलाउमा पनि एउटा तरंग ल्याइदिएको छ । यतिसम्म कि ‘नारायणीमा नै बगाइदिने’ सत्तोसरापपूर्ण अभिव्यक्तिले झनै क्रोध र लज्जा उत्पन्न गराइदिएको छ, नेपाली समुदायमा ।

संयोग नै मान्नुपर्छ, मन्त्रीजीले यो अभिव्यक्ति दिइरहँदा नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडीसँग म न्यूयोर्क सिटीको हडसन नदी किनारमा टहलिँदै थिएँ । सरकारी कर्मचारीसँग जोड्दै देश छाडेर पीआर र डीभीमा परदेशिएकाहरुप्रतिको मन्त्रीको आक्रोशका प्रसंगमा एकताका देशकै प्रतिनिधित्व गर्दै देशकै लागि खेलेका फुटबल खेलाडी पुष्प प्रधानको मन अमिलो थियो । देशकै राष्ट्रिय सम्पत्ति भनिएका खेलाडीहरुप्रति सरकारी उपेक्षापूर्ण व्यवहारबाट विरिक्तएर अमेरिका भासिएका हुन्, पुष्प । उनले जसरी नै देशको प्रतिनिधित्व गर्दै डेढ दशक खेलेका मानबहादुर मल्ल, बसन्त थापा, राजन रायमाझीदेखि मन्त्रीकै निर्वाचन क्षेत्रमा घर भएर करिब डेढ दशक नै राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरेका देवनारायण चौधरी अनि थानेश्वर राईदेखि एसियाली खेलकुदमा पहिलो पदक दिलाउने विधान लामा, सविता राजभण्डारीसम्म अहिले परदेशमै छन् ।

एउटा पीडा त अझ त्यतिखेर अनुभत भयो, जब पुष्पजीका आमाका दर्दपूर्ण अभिव्यक्तिहरु सुन्नुपर्‍यो । आमा भन्दै हुनुहुन्थ्यो, ‘पुष्पको मन आज बल्ल खुसी भयो होला । धेरैपछि आज उसको फुटबलको कथा सुनिदिने कोही साथी पाएको छ ।’ साँच्चै विवशताले प्रवासमा रहे पनि पुष्पमा अझै पनि नेपाल र नेपाली फुटबलप्रति उत्तिकै माया र क्रेज छ ।

Lalbabu-Panditनेपालका राजनीतिक प्राणीहरुमा प्रवासी नेपालीहरुप्रति एक किसिमको भ्रम छ, जुन भ्रम उनीहरु सर्वसाधारणमा छरिरहन मन पराउँछन् । उनीहरु यस्तो द्धिविधाबाट ग्रसित छन् कि, मानौं प्रवासी हुनु अपराध नै हो ।

उनीहरु अँग्रेज–नेपालबीचको सुगौली सन्धिबाट विरक्तिएर पंजाबका रणजित सिंहका सेनामा भर्ति हुन गएर युद्धमा लड्दालड्दै मारिएका प्रवासी बलभद कुँबरलाई वीर ठान्छन् । अनि १९५३ मा सगरमाथा आरोहण लगत्तै भारतको नागरिकता लिएर दार्जिलिङमा जीवन बिताएका प्रवासी तेन्जिङ नोर्गे शेर्पालाई ‘हाम्रै’ हो भन्न पनि हिच्किचाउँदैनन् । अमेरिकामा बसोबास गरेर एक्काइसौंपटक सगरमाथा आरोहण गरेका विश्व कीर्तिमानी आप्पा शेर्पाप्रति पनि गर्व गर्न छाड्दैनन । तर, रगतका हरेक कणकणमा नेपालको माया बोकेर बसेका प्रवासी नेपालीलाई भने विभिन्न आक्षेप लगाउँदै घृणा गर्छन् ।

विज्ञानको विकासँगै ग्लोबलाइजेशनबाट साँघुरिएर विश्व सानो गाउँझै बन्न थालेको छ । यस भूगोलमा बढ्दै गएको वैकल्पिक मार्गहरुमा उपलब्ध विकल्पहरुको मार्गबाट गुज्रिएका मात्र हुन्, नेपाली । तर, उनीहरुलाई सत्तोसराप गरिहाल्नु वर्तमान परिवेशलाई आत्मसात गर्न नसकेको बुझिन्छ । बढ्दो भूमण्डलीकरणसँगै विकल्पहरुको खुल्ला बजारमा हिजोकै जस्तो बन्द संसारभित्रै अट्नुपर्छ भन्नु समयलाई उल्टो गतिमा फर्काउने प्रयास मात्र हुनसक्छ ।

न्यूयोर्कमा हडसन नदीको किनार भएर टहलिँदै मन्त्री पण्डितको नारायणी नदीमा बगाउनुपर्ने विकल्पविहीन सत्तोसरापका बीच पुष्प प्रधान भन्दै थिए, ‘विकल्पहरुको खोजीमा हिँड्नु समयको आवश्यकता हो । कि त सरकारले विकल्प दिनसक्नुपर्‍यो, हैनभने व्यक्तिले खोजेको विकल्पलाई स्वीकार्न सक्नुपर्‍यो ।’

ती पूर्व राष्ट्रिय खेलाडीले विकल्पका कुराहरु गरिरहँदा मलाई करिब डेढ दशक अगाडिका ती प्रसंग ताजा भएर आउन थाल्यो, जब म मन्त्री पण्डितकै निर्वाचन क्षेत्र मोरङको बेलबारीमा थानेदार भएर गएको थिएँ ।

बेलबारी प्रहरी कार्यालय अगाडिको गेटसँगै रहेको पूर्व–पश्चिम राजमार्ग बस स्पटमा खुल्लमखुल्ला रक्सीका ग्यालेन (जर्किन)हरु लाइन लगाएर बसभित्र हाल्दै बेच्नका लागि विराटनगरतिर लगिँदै थियो । त्यो विरक्तलाग्दो दृश्य देख्न नसकेपछि मैले त्यसविरुद्ध अभियान चलाउन खोज्दा मेरा सहकर्मी सईले पूर्व घटनाका दृष्टान्त दिँदै धैर्यताका लागि अनुरोध गरेका थिए । भएको के रहेछ भने, म भन्दा अगाडिका थानेदार (इन्स्पेक्टर) ले पनि यस्तो दृश्य देख्न नसकेर आफै अगाडि बढेर रोक्न खोजेछन् । र, रक्सीका जर्किनहरु उठाउँदै प्रहरी कार्यालयमा ल्याउँदै गर्दा एउटा रक्सी व्यापारी महिलाले इन्स्पेक्टरको युनिफर्मको सर्ट तान्दै भनिछन्, ‘एइ इन्स्पेक्टर, मेरो परिवारको पेट पाल्ने साधन त लगिस, अब मलाई पनि लैजा ।’

सायद, विकल्पका पनि आफ्नै परिवेश हुन्छ, जसको सामाजिक, आर्थिक, राजनीतिक पक्षहरु हुन्छन, जसलाई समय र परिवेशसँगै तात्कालिन बनाउन सक्नु राजनीतिक नेतृत्वको बुद्धिमानी हुन्छ ।

कुनै कुरा बोलिसकेपछि विकल्प सोच्नुभन्दा विकल्प पहिले सोचेर कारबाही गर्नु उपयुक्त हुन्छ । सरकारी कर्मचारीको हकमा ऐन नियम बनाएर त्यसलाई परिधिभित्र ल्यानुपर्नेमा सस्ता र उत्तेजित कुराहरु बोलेर घृणा र भ्रम सिर्जना गर्ने अनि त्यस भ्रम र घृणा भित्र ‘सरकारी नुन’ नखाएका सर्वसाधारणलाई पनि पार्न खोज्नाले प्रवासी नेपालीहरुलाई एक किसिमको पीडा दिएको छ ।

यसै प्रसंगमा हामीसँगै रहेका अर्का साथी दृृष्टान्त दिँदै थिए, अमेरिकी राष्ट्रपति बाराक ओबामाको सन्दर्भमा । ओबामाले भावनामा आएर एउटा सामान्य प्रहरी कारबाहीको बारेमा टिप्पणी गरेको कुरालाई लिएर हंगामा मच्चिएपछि ती तल्लो दर्जाका प्रहरी कर्मचारीलाई ह्वाइट हाउसको बगैंचामा बेलाएर उने वियर पार्टी गर्दै गल्ती महसुस गरेका थिए ।

ओमाको दृष्टान्त दिँदै ती साथीको प्रश्न थियो– ‘नेपालका मन्त्रीले नारायणी नदीमा बगाइदिने भनी बोलेको अभिव्यक्ति यदि कुनै कानुनी शासन र राजनीतिक नैतिकता प्रधान भएको देशका मन्त्रीले व्यक्त गरेको भए के हुन्थ्यो होला ? ती मन्त्री त जान्थे–जान्थे, तिनका पार्टी अनि सरकारकै हविगत के हुन्थ्यो होला ?’

तसर्थ राष्ट्रियताको संकिर्ण परिभाषा गर्दै सीमित भूगोल भित्र अट्न सकेकाहरुलाई मात्रै संकुचित गर्नुभन्दा जहाँ जसरी रहेपनि उसको राष्ट्रप्रतिको भावनात्मक पक्षलाई आत्मसात गर्नु वा उसको त्यो राष्ट्रप्रतिको भावनात्मक सम्बन्धलाई बाँधिरहने कसीको विकास गर्नु उपयुक्त विकल्प हुनसक्छ । न कि द्वेष, घृणा, भ्रम र आक्रोश फैलाउने वातावरणको । जसले गर्दा भूगोल भन्दा बाहिर रहेकाहरु पनि राष्ट्रियताको प्रसंगमा लघुताभास हैन कि कर्तव्यबोध र गैरान्वानुभूति गरिरहन सकोस ।

प्रतिक्रिया
सम्बन्धित