२८ आश्विन २०८३, बुधबार

‘श्रीमान् र सासुले आगो लगाएर दुई दिन घरमै थुने’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aaglagi-mahila-himsa

काठमाडौं। उसै त आगोले जलेर भतभती पोल्ने घाउ, त्यसमाथि मलमबिना दुई दिनसम्म घरमै थुनेर थप यातना दिँदाको पीडा ! चैत ३ गते दाइजोको निहुँमा पतिद्वारा जिउँदै जलाइएकी बाँकेकी रिहाना सेख ढफालीलाई यतिखेर जलेको घाउ बरु त्यति दुख्दैन, जति आफ्नै पतिबाट पाएको पीडा र यातना दुख्छ।

उनी घरि आगोले खर्लप्पै निलेको आधा शरीर नियाल्छिन्, घरि एकोहोरो टोलाउँछिन् विगततिर, जहाँ सँगै जिन्दगी बिताउँछु भनी निकाहा गरेका पतिबाट पाएको यातनाबाहेक उनीसँग केही छैन।त्यो फागुको दिन थियो। विगतमा पनि पटकपटक दाइजोको कुरा झिकेर यातना दिने पति फरिद सेख त्यस रात अलि बढ्तै उग्र भए। रिहानाको दुवै हात बाँधेर सुम्ला उठ्नेगरी जिउभरि बेल्ट बर्साए। गुप्तांगमा चुरोटले पोले।

पीडा सहन नसकेर उनी ओछ्यानमा घोप्टो परिन्।

एकछिन सबै शान्त भयो। तर, यो शान्ति क्रूरताको अन्त्य थिएन।

राति ११ बजेतिर सासूले पछाडिबाट आएर रिहानाको जिउमा मट्टीतेल खन्याइन्। उनी अत्तालिइन्। बेल्टको चुटाइले पहिल्यै हल न चल भइसकेकी थिइन्। आगो लगाउन खोजे भनेर जान्दाजान्दै भाग्न सकिनन्। उनी चल्मलाइरहेकी थिइन्, एक्कासि लोग्ने आएर झ्वार्र सलाइ कोरिहाल्यो। गुहारसम्म माग्न नभ्याउँदै उनको जिउमा ह्वार्र आगो सल्किहाल्यो।

उपचारका लागि मंगलबार वीर अस्पताल ल्याइएकी रिहानाले आफ्नो यो पीडा सुनाउँदा मिनेट–मिनेटमा उनको गला अवरुद्ध भइरह्यो। ‘गर्भवती भन्ने जान्दा जान्दै पनि श्रीमान् र सासुले आगो लगाएर दुई दिन थुने,’ उनले भनिन् ।

लक्ष्मणपुर–८ मियापुरवाकी रिहानालाई मोटरसाइकल र भैंसी दाइजो नल्याएको भन्दै उनकै पति र सासूले जलाएर मार्ने प्रयास गरेका हुन्। शरीरको तल्लो भाग पूरै जलेकी उनलाई दुई दिन घरमै राखेर उपचार बहानामा भारत बहराइच पुर्‍याएर घटना गुपचुप पारिएको थियो। चैत ३ को घटना डेढ महिनापछि आइतबार मात्र सार्वजनिक भएको हो। जिउँदै जलाइँदा सात महिनाकी गर्भवती रिहानाले आइतबार नेपालगन्जको भेरी अञ्चल अस्पतालमा शिशु जन्माइन्, तर बचेन।

उनी यतिखेर वीरको बर्न वार्डमा उपचार गराइरहेकी छन्। कम्मरमुनि जलेको भागमा सेतो ब्यान्डेज बाँधिएको छ। उनी आफूले ओडिरहेको रंगविरंगी पछ्यौराले सेतो ब्यान्डेज बाँधिएको घाउ घरिघरि ढाक्न खोज्छिन्। दाँतले ओठ टोकेर पीडा लुकाउन खोज्छिन्। एकातिर आगोको जलन, अर्कातिर परिवारबाट पाएको चरम यातना– मनभरिको पीडा थाहै नपाई उनको गह भरिएर ओर्लन्छ। घरिघरि।

उनी फेरि आँसु पुछ्दै, गला अवरुद्ध पार्दै आफ्नो व्यथा पोख्न थाल्छिन्।

लोग्नेले सलाई झोसेपछि उनको शरीरको तल्लो भागमा आगो सल्कियो। उनी चिलको पन्जामा परेको चल्लाजस्तो फड्फडाइन्। छट्पटाइन्। चिच्याइन्। हातले ढ्यापढ्याप गर्दै आगो निभाउन खोजिन्। उल्टो हात जल्यो। उफ्रिन्। आगो झन् कम्मरभन्दा माथि उक्लिन थाल्यो। उनी झन् आत्तिइन्। व्यथा असह्य भयो। भाग्न खोजिन्। यताउति दौडिन खोजिन्। हातले वरिपरिका चिजबिज लुछ्न चाहिन्। सकिनन्। भुइँमा बङ्लङ्ग पछारिइन्। आगोको रापले पति र सासूको मनमा तै करुणा जाग्यो कि भन्ने आस मनमा पलायो। उनले आगो झोस्नेहरूसँगै सहयोगको याचना पनि गरिन्।

क्रूर मन के पग्लिन्थ्यो!

उनी बेहोस भइन्। भन्छिन्, ‘मरेँ कि बाँचेँ, मैलाई थाहा भएन।’

बिस्तारै आगो निभ्दै गयो। कोठाभरि मट्टीतेलको ह्वास्स गन्ध, बुङ्बुङती धुवाँ र भित्रैसम्म भत्भती पोल्ने घाउ मात्रै बाँकी रह्यो।

अनि बाँकी रह्यो, आँसुको सागर। गहिरो पीडा। र, सम्पत्तिका लागि परिवारबाटै पाएको धोका।

अलिअलि होस आउँदा उनी डल्लो परिसकेकी थिइन्। राग्गिएर पाकेको पिलो एक्कासि प्याच्च फुटेजस्तो भएको थियो उनको आधा शरीर। भुइँमा मरेजस्तै ढलेकी थिइन् उनी। ज्यानमा चल्मलाउने तागतधरि थिएन। गुहार माग्न खोज्दा स्वर फुट्थेन।

तै सास बाँकी थियो। धुकधुकी अडेको थियो।

तब पनि उनले ठानेकी थिइन्, भर्खरै घरक्क ढोका खुल्ला, अनि कोही आइहाल्ला बचाउन। परिवारकै कोही।

सोच्दासोच्दै दुई दिन बित्यो।

न त गाउँले आए, न उनले परिवार ठानेकाहरूको मनमै दया जाग्यो। दुई दिनसम्म भ्यात्याक्क घाउ बोकेर, एकधरो मल्हमसम्म नलगाई भुइँमा ढलिरहँदा कति अघोर पीडा भयो होला?

‘मलाई घरैमा बन्दी बनाएर राखे। कति दुख्यो कति। आगोको घाउले भन्दा दुखेरै मर्छु कि जस्तो लागेको थियो,’ रिहानाले यातना सम्भि्कँदै भनिन्।

दुई दिनसम्म त्यत्तिकै बेसहारा छाड्दा पनि सास नगएपछि बाध्य भएर चैत ६ गते उनलाई गोप्य रूपमा भारतको बहराइच पुर्‍याइयो। दुई साताको उपचारपछि त्यहीँ बस्ने आफन्तकहाँ छाडेर उनीहरू ढुक्कै फर्के। घटना बाहिर ल्याए आफू र पितालाई मार्ने धम्की दिइएकाले रिहाना पनि चुप्पै रहिन्।

‘खाना पकाउँदा आगोले जलेको भन् भनेर सिकाएका थिए,’ उनले भनिन्।

चैत तेस्रो साता छोरी बिरामी भएको खबर पाएपछि रिहानाका पिता मोहम्मद समिम सेख बहराइच पुगे। इन्तु न चिन्तुकी छोरीलाई दुई साताअघि नेपालगन्ज ल्याएर भेरी अञ्चल अस्पताल भर्ना गरे। स्थिति संवेदनशील भएकाले काठमाडौं लगेर विशेषज्ञबाट उपचार गराउनुपर्ने सल्लाह त्यहाँका डाक्टरले दिए। यसको निम्ति समिमसँग पैसा थिएन।

पैसा जोर्जाम गर्दागर्दै घाउ झन्झन् बल्झँदै गयो। ‘डाक्टरहरू छिटो लैजाऊ भन्थे, मसँग पैसा थिएन,’ समिमले आफ्नो दुखेसो सुनाए।

उपचारमा आर्थिक अभाव भएपछि उनले आइतबार इन्सेक क्षेत्रीय कार्यालय, नेपालगन्जमा सहयोगको याचना गर्दै निवेदन दिए। त्यसपछि मात्र घटना सार्वजनिक भयो। स्थानीय गैरसरकारी संस्थाहरूले एम्बुलेन्स खर्च जुटाइदिएपछि छोरीलाई मंगलबार वीर अस्पताल ल्याइपुर्‍याए। साथी र बिभिएस काठमाडौंले उपचार खर्च बेहोर्ने आश्वासन दिएका छन्। तर, रिहानालाई लिएर आएका पिता र बहिनीसँग आफ्नो खानपिनको खर्चसमेत छैन। डाक्टरहरूले बिरामीलाई पोषणयुक्त खानेकुरा खुवाउन भनेका छन्, तर त्यो किन्ने पैसा छैन समिमसँग।

रिहानाका अनुसार होलीभन्दा तीन दिनअघि नै घरपरिवारले उनलाई मार्ने योजना बनाएका थिए। माइती आएकी नन्द सहिना, सासू, जेठाजु अजिद र पति मिलेर हत्याको योजना बनाएको उनले आफ्नै कानले सुनेकी थिइन्। बच्चा नमर्ने गरी आगो लगाउने उनीहरूको योजना थियो। त्यही भएर कम्मरमुनि मात्र जल्ने गरी आगो लगाएको उनी बताउँछन्। योजना सुनेर उनको मनमा हुन्डरी नचलेको होइन, तर विद्रोह गर्ने हिम्मत भएन। माइतीकहाँ खबर पुर्‍याउन पनि खोजिन्, तर कुनै उपाय निस्केन। उनको माइती हिरमिनिया–८, अहिरपुरवा झन्डै ४० किलोमिटर टाढा पर्छ।

‘घरबाट कतै जान दिँदैनथे, कसलाई गएर सुनाउनु?’ उनले भनिन्, ‘मसँग फोन पनि थिएन।’

पिता समिमका अनुसार एक वर्षअघि वैशाख २२ गते १८ वर्षीया रिहाना र २६ वर्षीय फरिदको बिहे भएको थियो। फरिदको गाउँबाट आएका एक व्यक्तिले चिनजान गराएपछि समिमले छोरीको निकाहा गराएका थिए। निकाहअघि फरिदले दाइजो मागेका थिएनन्। उल्टो दाइजो चाहिँदैन भन्दै आदर्शवादी कुरा छाँटेका थिए। तैपनि उनले क्षमताअनुसार १७ हजार रुपैयाँ नगद, छोरीलाई नाक, कान र हातमा सुनका गहना दिएर विदा गरेका थिए। निकाहालगत्तै दाइजोकै निहुँमा छोरीलाई यातना दिन सुरु भएको उनले बताए।

‘रिहाना भए पुग्छ, अरू केही चाहिँदैन भन्थ्यो, पछि मोटरसाइकल र भैंसी माग्न थालेको रहेछ,’ पिता समिमले भने।

घरमा दिइने चरम यातनाकै कारण रिहाना माइती आएपछि फर्कन चाहन्नथिन्। फरिद पटक–पटक विभिन्न बहाना गर्दै उनले लिन आइपुग्थे। ‘अब दुःख दिन्न भन्दै लैजान्थे, सुध्रेका रहेनछन्,’ उनले भने। रिहानालाई राम्रो व्यवहार नगरे पनि घरको काममा जोताउन मात्र लैजाने गरेको उनले बताए। गोठको कामदेखि गहुँ काट्ने, घाँस काट्ने सबै काम रिहानाकै भर थियो।

‘गरिबीको कारण दाइजो दिन नसक्दा मेरी छोरीले यत्रो कष्ट उठाउनुपर्‍यो,’ पिता समिमले आँखाभरि आँसु पार्दै भने।

समिमका चार छोरा र चार छोरीसहित १० जनाको परिवार छ। मजदुरी गरेर जीविका चलाउने उनी चार वर्षअघि रुखबाट लडेपछि शारीरिक रूपमा अपांग भएका छन्। काम गर्न सक्दैनन्। श्रीमती र हुर्केका छोराछोरीले गर्ने मजदुरीको भरमा चलेको छ उनको परिवार। १२ वर्षे कान्छा छोरा काठमाडौंकै इट्टाभट्टामा काम गर्दै आएका छन्। छोरीको उपचार खर्च जुटाउन चारवटा बाख्रा र श्रीमतीको कानका झुम्का बेचेको समिमले सुनाए।

रिहानाले पनि माइतीको आर्थिक समस्या बुझेरै आफूमाथि भइरहेको यातना लुकाउने गरेकी थिइन्। ‘बाबा गरिब हुनुहुन्छ, चारजना छोरीलाई दाइजो कसरी दिने? म मोटरसाइकल र भैंसी माग्दै माइती आएँ भने उहाँले कसरी पूरा गर्नुहोला?’ उनले भनिन्, ‘यही सोचेर चुप लागेँ, मैले दाइजोकै कारण यातना पाइरहेको छु भन्ने बाबाले थाहा पाउनुभएको भए उहाँको के हालत हुन्थ्यो?’

‘अहिले यही घाउको उपचार गर्न त यति सकस भइरहेको छ बाबालाई, झन् मेरो दाइजो खर्च जुटाउनुपरेको भए कति गाह्रो हुन्थ्यो,’ रिहानाले यसो भन्दा छेउमा बसेका समिमले आफूलाई थाम्नै सकेनन्।

उपचारमा संलग्न डा. पियुष दाहालका अनुसार रिहानाको कम्मरमुनिको २५ प्रतिशत भाग जलेको छ। समयमै पर्याप्त उपचार र हेरचाह नपुगेकाले घाउमा संक्रमण भएको छ। घाउले मासु जोडिएर घुँडा खुम्चिएकाले शल्यक्रिया गर्नुपर्ने र उपचार पूरा गर्न धेरै समय लाग्ने उनले बताए।

‘आगोले छाला खुइलिएको भागमा अर्को भागबाट मासु काटेर प्रत्यारोपण गर्नुपर्छ,’ डा. दाहालले भने।

पोषणयुक्त खाना नपुगेकाले पनि रिहानाको स्वास्थ्य कमजोर भएको उनको भनाइ छ। उनका अनुसार जलेका बिरामीलाई अरू बेलाभन्दा बढी पोषण चाहिन्छ।

घटना थाहा पाउनासाथ प्रहरी चौकीमा उजुरी दिए पनि प्रहरीले दर्ता गर्न नमानेको समिमले गुनासो गरे। प्रहरीले परिवारको मिलेमतोमा घटना आफैं भएको कागज बनाइसकेकाले उजुरी लिन नमानेको उनको आरोप छ। पति फरिद भने फरार रहेकाले कारबाही अघि बढ्न सकेको छैन।

रिहाना फरिदको नामसम्म सुन्न चाहन्नन्। उनको नाम लिँदा नै उनका आँखा भरिएर आउँछन्। भन्छिन्, ‘मलाई उसले जति यातना दियो, त्यसको तुलनामा अहिलेको यो दुखाइ केही होइन।’

‘उसलाई सजाय हुनुपर्छ,’ रिहानाले भनिन्, ‘उसलाई पनि मलाई जस्तै दर्द होस्।’

पत्नी जलाउनेलाई ज्यानमुद्दा

कोहलपुर– बिहेमा मोटरसाइकल र भैंसी दाइजो नल्याएको भन्दै गर्भवती पत्नीलाई जिउँदै आगो लगाउने फरिद शेखविरुद्ध बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ।

लक्ष्मणपुर–८ मियापुरवाका फरिदले श्रीमती रिहाना सेख ढफालीलाई दाइजो नल्याएकै निहँुमा मट्टीतेल छर्केर आगो लगाएका थिए। बाँके प्रहरी प्रवक्ता तथा डिएसपी प्रेम बस्नेतका अनुसार आरोपित फरिदविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

‘मुद्दा दर्ता गरी फरार आरोपितको खोजी जारी राखेका छौं,’ उनले नागरिकसँग भने, ‘घटनामा संग्लन भनिएका सासू–ससुरा र श्रीमानसमेत भारततिर भागेकाले पक्राउ गर्न सकेका छैनौं।’
आगोले शरीरको तल्लो भाग पूरै जलेर गम्भीर घाइते रिहानाले अस्पतालमा आइतबार मृत बच्चा जन्माएकी थिइन्।

‘हामीले बच्चाको पोस्टमार्टमको रिपोर्टसमेत राखेका छौं,’ डिएसपी बस्नेतले नागरिकसँग भने, ‘शरीर जलाइएका कारण बच्चाको मृत्यु भएकाले यो मुद्दा जटिल छ।’

फरिदले दाइजोको निहुँ झिक्दै २०७० चैत ३ गते पत्नी रिहानालाई मट्टीतेल खन्याई आगो लगाएका थिए। गम्भीर घाइते पत्नी मर्ने आशमा दुई दिनसम्म उपचार नगरी घरमै राखेका उनले त्यसपछि भारत बहराइच पुर्‍याएर घटना गुपचुप पारेका थिए। रिहानाका पिताले छोरीमाथिको बारदात थाहा पाएपछि बहराइच पुगेर रिहानालाई वैशाख ८ गते नेपालगन्ज ल्याएका थिए। उनले जिल्ला प्रहरीमा वैशाख १० गते नै मुद्दा दर्ता गरे पनि प्रहरीले घटना लुकाउँदै आएको थियो।

भेरी अञ्चल अस्पतालमा उपचार क्रममा रकम अभाव भएपछि रिहानाका पिताले इन्सेकमा सहयोग माग्ने क्रममा मात्र घटनाबारे बताएका थिए। यसरी उक्त घटना डेढ महिनापछि मात्र गत आइतबार सार्वजनिक भएको थियो।

रिहानालाई सोमबारै काठमाडौं लगेर थप उपचार थालिएको छ। घटनामा संलग्न उनका पति राजनीतिक कार्यकर्ता रहेकाले प्रहरीले दबाबमा घटना लुकाएको माइती पक्षको आरोप छ।

राष्ट्रिय महिला आयोग अध्यक्ष मोहना अन्सारीले दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई दबाब दिएको र आयोगले निःशुल्क उपचारमा सहयोग गर्ने बताइन्। प्रहरीले लामो समय घटना लुकाउनु शंकास्पद रहेको भन्दै आरोपितलाई कारबाही गराइछाड्ने बताइन्। दाइजोविरुद्ध कानुन ल्याउन उनले सरकारसमक्ष माग पनि गरिन्।

बिहेमा मोटरसाइकल र भैंसी दाइजो नल्याएको भन्दै रिहानालाई उनका पतिले कुटपिट गर्ने, जलेको चुरोटले संवेदनशील अंगमा डाम्ने गर्दै आएका थिए। इन्सेक क्षेत्रीय संयोजक शिव खकुरेलले राजनीतिक दलको आडमा प्रहरीले घटना लुकाउने प्रयास गरेको र सूचना दिनसमेत आलटाल गरिरहेको नागरिक दैनिकमा खबर छ ।